–नारायण गाउँले
यतिबेला ‘घुमौँ भरतपुर’ भन्ने अभियान चल्दै रहेछ । पोखराले त आफैले आफैलाई पर्यटनको राजधानी घोषणा गरेको रहेछ । बुटवलबाट जम्मा १२० किमीको बाटो पार गरेर भरतपुर आउन झण्डै छ घण्टा लाग्छ । धुलोले मान्छेको अनुहार चिनिन्न ।
काठमाडौंबाट बसमा पोखरा पुग्न एक दिन लाग्ने रहेछ । कुइरीमण्डल धुलो र खाल्डाखुल्डीले शरीर र फोक्सो कस्तो होला, हिँड्नेहरूले मात्रै बताउलान् । एकपटक यो बाटोबाट आउने पर्यटक शायदै जीवनमा अर्को पल्ट फर्केर आउला ! सडक छेउका लाखौं नागरिकले अति खतरनाक र चिन्ताजनक स्तरको स्वास्थ्य समस्या भोगिरहेका छन् । त्यसबारे सोच्न त हामीलाई फुर्सद नै छैन ।
विकल्प भनेको हवाइ मार्ग हो । नेपालको बस यात्रा विश्वकै सस्तो र हवाइ यात्रा महँगो मध्येको एक रहेछ । २५ मिनेटको काठमाडौं–भरतपुर एकतर्फी यात्राको टिकटदर ४७ सय रुपियाँ छ, जुन झन्डै ३५ डलर जति हो । बुद्ध एअरको एकछत्र व्यापार रहेको यो रुटमा लाग्ने भाडाले युरोपमा अन्तर्देशीय उडान गर्न सकिन्छ ।
अझ रोचक र राष्ट्रिय लज्जाको विषय के छ भने पर्यटनमैत्री देश भनेर चिनाउन चाहने राष्ट्रियता हेरेर टिकट मूल्य तोक्छ । भारतीय पर्यटकले पाँच हजार तिर्ने टिकट चिनियाँ यात्रीले काट्ने बित्तिकै डबल मूल्यको हुन्छ । यस्तो विभेद सायदै अन्यत्र भेटिएला ।
अति विकट क्षेत्रमा, कमर्सियल फ्लाइट नहुने ग्रामीण क्षेत्रमा राज्यले अनुदान दिएर आफ्ना नागरिक (त्यो पनि स्थानीय)लाई सस्तो टिकट उपलब्ध गराएको भए विदेशी पर्यटकले अनुदान रहित महँगो टिकट काट्नु जायज नै हुँदो हो । तर, नेपालमा काठमाडौं–पोखरा जस्तो सबैभन्दा व्यस्त कमर्सियल रूटसहित देशभरि यस्तो विभेद कायम छ । नेपाली या इण्डियन नागरिकले तिर्ने मूल्य आफैमा अति चर्को छ । त्यसमा राज्यको कुनै सब्सिडी या छुट त पर जाओस्, चर्को कर र मुनाफा जोडिएको छ । त्यसमाथि चाइनिज या युरोपियन नागरिकले त्यसको डबल तिर्छ । नागरिकताको आधारमा विभेद भोगेपछि कसको मन सकारात्मक बन्ला ? कस्तो सन्देश बोकेर ऊ फर्केला ?
सानो विमान भएकाले भाडा महँगो भएको रेडिमेड तर्क हुने रहेछ । सानो विमानको खरीद मूल्य नै सानो हुन्छ । त्यसको ह्याण्डलिङ्, ह्याङ्गर, इन्टरेस्ट पेमेन्ट, सर्भिसिङ्गदेखि फ्यूल कस्ट पनि सानै हुन्छ । विमानभित्र सेवा र सेवा दिने मान्छे पनि कम हुन्छन् । एउटा चकलेट दिएर काम चलाइन्छ । कहिल्यै टाइममा उड्न पर्दैन । उताबाट ढिलो उडेकाले यता ढिलो भयो भनेर ओठे जबाफ दिए पनि पुग्छ । मौसमलाई देखाए पनि पुग्छ । कति सजिलो छ । त्यसैले सानो विमान भन्ने तर्क आफैमा सानो तर्क हो ।
फेरि पोखरा त अन्तर्राष्ट्रिय विमानस्थल हो । कत्ति चलेको छैन । सुख्खा राखेर थोत्रो हुन दिनुभन्दा कर घटाएर आन्तरिक उडानलाई बढाउन पनि सकिन्छ । ठूला विमान उडाउन पनि त सकिन्छ । कसरी सस्तो र सुलभ यातायातको सुविधा नागरिक या पर्यटकलाई दिन सकिन्छ भनेर कसैले चिन्ता र गृहकार्य गरेको होला या नहोला ? प्लेन उड्नु विकास होइन, त्यसको उपभोग आमनागरिकले सुलभ र सहज रूपमा गर्न पाउनु बल्ल विकास हो ।
यदि देशमा पर्यटनप्रति साँच्चिकै चिन्ता र माया हो भने सबैभन्दा पहिले दिल्ली–काठमाडौं या दोहा, दुबई–काठमाडौंको हवाइ भाडा कसरी घटाउन सकिन्छ भन्ने सोच्न जरूरी छ । सहज कनेक्टिविटी पर्यटनको आत्मा हो । नेपालको सोझो उडान धेरै देशसँग छैन । धेरै पर्यटक भारत र गल्फ हुँदै आउँछन् । अहिले युरोपबाट नेपाल आउने टिकटले सिङ्गो युरोप घुम्न पुग्छ । भारत भनेको छिमेकी बिहार या उत्तरप्रदेश मात्रै होइन । विश्वभर भारतीय पर्यटकको माग छ ।
दोस्रो, छिमेकी देश चीनका पर्यटक आज विश्वभर पुग्छन् । तिनको घुम्ने चाह र खर्च गर्न सक्ने क्षमता बढ्दो छ । कम्तिमा समुद्र पारीको बेलायत पुग्नभन्दा छिमेकको नेपाल आउन महँगो बनाउन त भएन नि ! अझ यति हुँदासमेत माया गरेर आउने चिनियाँ या युरोपियन पर्यटकलाई विभेद गर्दै दोब्बर भाडा लिने हो भने त हाम्रो पर्यटनको लक्ष्य २० लाखभन्दा माथि उठ्न मुश्किल छ ।
भ्रमण वर्ष, पर्यटनको राजधानी, भू–स्वर्ग, देवभूमि जस्ता दुई चार दर्जन नेता मञ्चमा राखेर गरिने घोषणाभन्दा आधारभूत तहमा काम गरेर नीति र पूर्वाधार निर्मांण गर्ने हो भने भ्रमण गर्नेहरू आफै बढ्थे होला । मञ्चमै कार्य्रकम गर्ने भए पनि पुङ् न पुच्छरको भाषण गर्नुभन्दा यो–यो अन्तर्शहर बाटो निर्माण सम्पन्न भएर सहज बनेको छ, यति हवाई सिट थपिएको छ, भाडादरलाई यसरी प्रतिस्पर्धी बनाइएको छ, हस्पिटालिटी क्षेत्रमा यति क्षमता वृद्धि भएको छ, खाद्य गुणस्तर र अनुगमन यसरी प्रभावकारी बनेको छ, हिजोको पूर्वाधारले यति थेग्थ्यो, आज यति पुगेको छ, वातावरण–पर्यटनमा यति काम भएको छ, धार्मिक पर्यटनका लागि यस्ता योजना बनेका छन्, ग्रामीण पर्यटनका यस्ता सम्भाव्यता अध्ययन भएर कार्यान्वयनमा गएका छन् भनेर पाँच–पाँच मिनेटको प्रस्तुति दिने गरी कार्यक्रम गर्न पनि सकिन्छ होला । हामी साह्रै सतही र लिपापोती वाला विकासमा विश्वास गर्ने खालको किन भयौं होला ?
(गाउँलेको सामाजिक सञ्जालबाट साभार ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies