काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि स्वीजरल्याण्डका राजदूत डा. डेनियल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार मन्त्रालयमा नै भएको शिष्टाचार भेटमा विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद जवीस र फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसिडिओ)का प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।
भेटमा नेपालका लागि स्वीस राजदूत डा. डेनियलले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत सञ्चालित रोजगार सेवा केन्द्र सुदृढीकरण कार्यक्रमको बारेमा चर्चा गरे । स्वीस सरकार, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), एफसिडिओ तथा विश्व बैंकको सहकार्यमा सञ्चालित यो कार्यक्रम रोजगार सेवा केन्द्रका कर्मचारीहरुको क्षमता विकासमा केन्द्रित छ ।
त्यस्तै विश्व बैंकका नेपाल निर्देशक जवीसले विश्व बैंकको सहयोगमा सञ्चालित ‘युवा रोजगारीका लागि रुपान्तरण पहल अयोजना’ (यति)को अवधि थप गर्न विश्व बैंक इच्छुक रहेको जानकारी दिए । आयोजनामार्फत नेपालको आन्तरिक रोजगारी प्रवद्र्धन, सीप विकासका कार्यक्रमहरु सञ्चालन, राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको निर्माण, स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता विकास गरी एकीकृत श्रम रोजागर सेवालाई थप प्रभावकारी बनाउन विश्व बैंक प्रतिबद्ध रहेको उनको भनाइ थियोे । त्यस्तै नतिजामुखी कार्यका लागि वातावरण निर्माण गर्दै नेपालमा सुरक्षित, मर्यादित श्रम तथा उत्पादनशील र दिगो रोजगारीमार्फत नेपालको आन्तरिक रोजगारी प्रवद्र्धनमा सहयोग गर्ने बताएको मन्त्रालयले जनाएको छ ।
भेटमा श्रममन्त्री अर्यालले आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न विकास साझेदारहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै आगामी दिनमा नेपाल सरकारले न्यूनतम ज्यालामा आधारित रोजगारी सिर्जनामा मात्र सीमित नभइ श्रम बजारको मागका आधारमा सीप विकासमा लगानी गर्ने उल्लेख गरे । मन्त्री अर्यालले सीपयुक्त जनशक्तिको निर्माण गरी सक्रिय श्रम बजारको स्थापना, स्वरोजगारी र उद्यमशीलतामा प्रवद्र्धन गर्दे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगारीका अवसरहरु सिर्जना गर्ने वातावरण निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे ।
२०२० जुन ३० देखि विश्व बैंकको सहयोगमा मन्त्रालयले यति परियोजना सञ्चालन गर्दै आएको छ । यस परियोजनामार्फत विश्व बैंकले नेपालमा आन्तरिक रोजगारीको सिर्जना गर्ने, श्रमिकको सीप विकास गर्ने, श्रम बजारको नतिजामा सुधार तथा राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणाली (नेमिस) निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी जुन महिनामा यस परियोजनाको अवधि सकिँदैछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies