भरत प्रधान/मध्यान्ह
लिस्बन : पोचुगलमा सञ्चालित राहदानी सेवा शिविरबाट ६ सय बढी नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक तथ्यांक संकलन गरिएको छ ।
फ्रान्सस्थित नेपाली दूतावासको टोलीले लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा लिस्बनबाट ६ सय ६९ नेपालीको विद्युतीय राहदानीका लागि जैविक तथ्यांक संकलन गरेको हो । टोलीले राजधानी लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन संकलन गरेको टोली प्रमुख एवं नेपाली दूतावास, फ्रान्सका नियोग उपप्रमुख सीता बस्नेतले जानकारी दिइन् ।
टोली प्रमुख बस्नेतका अनुसार दुई सय ८० जनाको राहदानी हराएको, ४७ जनाको क्षति भएको, दुई सय ९१ जनाको नवीकरण, १६ बालबालिकाको नयाँ राहदानी र ३५ बालबालिकाको नवीकरणका लागि आवेदन संकलन गरिएको हो । राजधानी लिस्बनमा एक सातासम्म सञ्चालित राहदानी सेवा शिविरबाट एक लाख १६ हजार पाँच सय २० युरो अर्थात् झण्डै एक करोड ६६ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको टोली प्रमुख बस्नेतले बताइन् ।
शिविरमा अतिरिक्त शुल्क लिएर आवेदन संकलन गरेको भन्ने सेवाग्राहीको गुनासोका सन्दर्भमा दूतावासकी नियोग उपप्रमुख बस्नेतले टोलीले राहदानी बनाउन लाग्ने सरकारले तोकेको न्यूनतम राजस्व शुल्क र कुरिएर खर्चबापतको १० युरोबाहेक अन्य रकम नलिएको स्पष्ट पारिन् । अतिरिक्त शुल्क लिएको भन्दै अफवाह फैलाइएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै बस्नेतले सो विषयमा लिस्बनस्थित महावाणिज्य दूतावास, एनआएनए पोर्चुगललगायत शिविर अवधिभर खटिएका नेपाली संघ–संस्थाका प्रतिनिधिसँग सोधखोज गर्न र सत्यतथ्य बुझ्न सबैलाई आग्रह गरिन् । दूतावासबाट टोली आएको भएपनि शिविर अवधिभरको सबै खर्च लिस्बनस्थित महावाणिज्यदूतावासले व्यवस्थापन गरेको उनले बताइन् ।
टोलीले शिविर अवधिभर राहदानीविहीन बनेका, राहदानी हराएका, क्षति भएका र राहदानीकै कारण समस्यामा परेका नेपालीका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गरेको उनले बताइन् । “पोर्चुगलमा रहेका नेपालीको समस्यालाई ध्यानमा राखेर विशेष गरी यहाँको कागजी प्रक्रियामा रहेका नेपालीलाई सेवा प्रदान गर्ने उद्देश्यअनुरूप दूतावासले शिविरको व्यवस्था गरेको हो”, बस्नेतले भनिन्, “यहाँ अझै धेरै नेपालीको राहदानी बनाउनुपर्ने देखिन्छ । राहदानी बनाउन नपाएको भन्दै धेरै नेपालीले गुनासो गर्नुभएको छ । उहाँहरुको गुनासो स्वभाविक छ । दूतावाससँग कर्मचारीको अभाव भएका कारण लामो समयसम्म शिविर सञ्चालन गर्न सम्भव भएन । यहाँ देखिएको राहदानीसम्बन्धी समस्याको समाधानका लागि विभागबाटै टोलीको व्यवस्थापन गर्नुपर्ने देखिन्छ”, उनले भनिन् ।
शिविर गत मार्च २४ तारिखदेखि शुरु भएको हो । मंगलबार बिहानसम्म थप आवेदन संकलन गरिएको थियो । टोलीले राहदानी हराएका, क्षति भएका, सन् २०२४ फ्रेब्रुअरी २९ सम्म म्याद सकिएका, पोर्चुगलको अध्यागमन निकाय (आइमा) मा २०२४ अप्रिल ३० सम्म बायोमेट्रिकका लागि समय लिइसकेका तथा पोर्चुगलमा जन्मेका बालबालिकाको प्राथमिकताका आधारमा विद्युतीय राहदानीका लागि जैविक तथ्यांक संकलन गरेको थियो ।
घुम्ती शिविरले तत्कालका लागि राहत भए पनि अझै धेरै नेपाली राहदानीसम्बन्धी समस्यामा रहेकाले फेरि छिट्टै टोली ल्याउन पहल गर्ने गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले बताए । शिविरमा अतिरिक्त शुल्क लिएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् नि भन्ने जिज्ञासामा खड्काले महावाणिज्यदूतावास सहित पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्थाको सर्वपक्षीय छलफल र निर्णयबाटै १५ युरो अतिरक्ति शुल्क लिइएको प्रष्ट पारे । “जसमा १० युरो शिविर ब्यबस्थापन खर्च र ५ युरो विपद् व्यवस्थापन कोषका लागि लिइएको हो । यो कसैको ब्यक्तिगत खर्च र लाभका लागि लिईएको रकम होइन । यो शव ब्यबस्थापन लगायत आपद्–विपद् पर्दाका लागि निर्माण गरिएको कोषका लागि लिईएको हो,” खड्काले स्पष्ट पार्दै भने ।
शिविरबाट राहदानीविहीन बनेका र राहदानीकै कारण समस्यामा परेका नेपालीलाई राहत मिलेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले बताए । शिविरले विशेषतः यहाँको कागजी प्रक्रियामा रहेका तर राहदानी नै नभएका र हराएका नेपालीलाई राहत मिलेको उनले बताए । शिविर अवधि छोटो भएका कारण धेरै नेपालीको समस्या सम्बोधन गर्न नसकिएको उल्लेख गर्दै महावाणिज्यदूत हमालले फेरि छिट्टै टोली ल्याउन पहल गर्ने बताए । अतिरिक्त शुल्कका सम्बन्धमा प्रष्ट्याउँदै हमालले सबै संघ–संस्थाको उपस्थितीमा भएको निर्णय बमोजिम १० युरो शिविर ब्यबस्थापन खर्च र ५ युरो विपद् कोषका लागि लिइएको बताए । शिविर ब्यबस्थापनका लागि लिईएको रकम मध्ये खर्च कटाएर बाँकी रहेको रकम विपद् कोषमा जम्मा गरिने उनले स्पष्ट पारे ।
पोर्चुगलमा नेपाली दूतावास नहुँदा राहदानीसम्बन्धी समस्या झेल्दै आएका नेपालीले शिविरमार्फत सेवा पाउँदा राहतको अनुभूति गरेका छन् । एक सातासम्म सञ्चालन भएको शिविरमा गैरआवासीय नेपाली संघ पोर्चुगलका प्रतिनिधि र यहाँ क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधिले समेत समन्वय र सहजीकरण गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies