ललितपुर : मेड इन नेपाल नारा सहित बिहीबारदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो शुरु भएको छ । ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा ललितपुर स्थित जावलाखेल फुटबल ग्राउण्डमा एक्स्पो चलिरहेको छ । एक्स्पो उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्र« मन्त्री नारायणकाजी श्रेष्ठले हस्तकलाको केन्द्र र कला नगरीका रुपमा ललितपुरले कायम राख्दै आएको पहिचान तथा देशकै आर्थिक विकासमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
आगामी सोमबारसम्म चल्ने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहेको छ । ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्यान्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी सामग्रीहरु इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिएको छ । एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिएको ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।
एक्स्पोले सार्क राष्ट्रबीचको कला संस्कृति र रितिरिवाज आदान प्रदान गर्न उत्कृष्ट भूमिका खेल्न र आर्थिक गतिविधिमा सहयोग पुर्याउने अपेक्षा रहेको इन्ट्रोडक्सन ट्रेड शोका म्यानेजिङ डाइरेक्टर सुमन महर्जनले बताए । एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुको अतिरिक्त दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको छ । मेलाको आकर्षणको रुपमा खानाको विभिन्न देशका विभिन्न स्वादका फुड स्टल, साना बालबालिकाहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, थाइल्याण्ड, टर्की, मलेसिया, बंगलादेश र नेपालका उत्कृष्ट उत्पादनको करिब सय भन्दा बढी स्टलहरु रहेको एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies