–रूप नारायण तिम्सिना
रिना आमाको स्वास्थ्य दिनदिनै बिग्रँदै थियो त,र उनले छोरा बुहारीलाई सुनाएर चिन्ता बढाउन चाहिनन् । छोरा रमेश र बुहारी रश्मि दुवै सरकारी जागीरे थिए ।
प्रायः सधैँ आमाले नै खाना तैयार गर्नुहुन्थ्यो दुवै छोरा बुहारी खाइपिइ आ–आफ्नो कार्यालयतिर जान्थे । समय व्यतीत हुँदै गयो । घर गाउँ बस्तीमा भएकोले गाउँलेहरूको आवागमन सदैव हुनेगथ्र्याे । एकदिन छिमेकी रविन काकाले रीना आमालाई आँगनमा बसेर आँसु पुछ्दै गरेको देखेर नजीकै गएर सोधे, “हैन ए रीना के भो तिमीलाई किन रोएकी ?”
रीना आमाले आँसु पुछ्दै भनिन्, “केही होइन काका ! आफ्नो भाग्य सम्झेर रून मन लाग्छ के गर्नु र ?” गुनासोपूर्ण शैलीमा काकालाई बस्न मुडा दिइन् । मुडामा बसेर रवीन काकाले फेरि प्रश्न तेस्र्याए, “हन किन रुनुपर्यो र ? छोरा बुहारी दुवै जागीरे छन् । धन सम्पत्ति टन्न घरमा आउँछ । खान लाउन दुःख छैन घरवार राम्रै चलेको छ होइन र ?”
“सम्पत्तिले सुख हुँदो रहेनछ काका ! यो मनले त माया खोज्दो रहेछ, त्यो माया मबाट टाढा भागिसकेको छ । पतिको मृत्युपछि छोराको मुख हेरेर बाँचे । सुख होला भनेर छोराको विवाह पनि गरियो । तर, खै छोराले बुहारी पाएपछि त झन् मतलब नै राख्न छोडेको छ काका ! त्यस्तै के–के सोचाइ आउँदो रछ अनि मन थाम्न नसकेपछि आँसु झर्दो रहेछ नि काका ! अनि कतासम्म हिँड्नु भएको हो ? चिया पानी केही लिनुहुन्थ्यो कि ?”
रीना आमाका दुःख लाग्दा कुराले रवीन काकाको हृदय छोयो । उनले केही जवाफ दिन सकेनन् र भने, “होइन आमा मलाई केही खाऊँ छैन, म एकछिन पल्लो गाउँतिर लागेको, आफ्नो ख्याल राख्नु है, म गएँ”, भन्दै जुरुक्क उठेर हिँडे ।
रीनाले बेलुकाको खाना तैयार पारेर छोरा बुहारी पर्खेर बसिन् । साँझ पनि टर्यो । सधैँ उज्यालैमा आउने छोरा बुहारी आज साँझ टर्दासम्म पनि न आएपछि आमाले दैलो लगाएर ओछ्यानमै गएर ढल्किन् । रात धेरै बितेपछि उनीहरू आए । आमाले दैलो खोलिन् र भनिन्, “नानी हो ! लु हात गोडा धोएर आओ म खाना पस्किन्छु ल ।”
आमाका कुरा सुनेर छोरा रमेशले भन्यो, “आमा ! तपाईं खाएर सुत्नोस्, हामीले त बाहिरै खाएर आयौं ।”
आमाको मन चिसो भयो र अनुरोध गरिन्, “होइन छोरा आज तँलाई मन पर्ने खाना बनाएकी छु, अलिकति भए पनि खा न छोरा !” रमेश रिसाए झैं गर्दै, “भन्यो आमा हामीले खाना खाएर आयौं अब फेरि कसरी खानु ? तपाईं खाएर सुत्नोस् न भनेको !”
रीना आमाको मन चस्स पोल्यो केही बोलिनन् । छोरा बुहारी आफ्नो कक्षतिर लागे र दैलो बन्द गरे । आमाले विस्तारै भोजनालयमा गएर आफूले मेहनत गरेर बनाएका भोजनका परिकारहरू हेरिन् । केही खान मन परेन र त्यत्तिकै गएर आफ्नो ओछ्यानमा पल्टेर धेरै बेर के के सोचिरहिन् ।
भोलिपल्ट बिहान सधैँ छिट्टै उठ्ने आमा आज किन उठ्दिनन् भनेर रमेश आमाको कक्षमा प्रवेश गर्छ यसो हेर्छ आमालाई सुतिरहेको देख्छ । सम्झिन्छ सायद गल्नु थाक्नु भएकोले होला भनेर उठाउन चाहेन । ऊ आमाको कक्षबाट फर्किन खोज्यो । अचानक उस्का आँखा नजिकैको टेबलमा रहेको कागजमा पुगे । हतार–हतार कागज उठाएर पढ्न थाल्यो । त्यस कागजको पन्नामा लेखिएको थियो, “छोरा रमेश ! आज तेरो जन्मदिन थियो, मैले बिहान त केही गर्न भन्न भ्याइन किनकी तिमीहरूलाई हतार थियो र बेलुकाको भोजनमा तँलाई मन पर्ने खाना बनाएकी थिएँ र तिमेरु आएपछि सँगै खाउँला भनेर मैले पनि नखाई पर्खेर बसेकी थिएँ । तर, तैँले खान मानिनस् र मलाई पनि खाउँ लागेन सायद हामी आमा छोराको बोलचाल पनि यतिनै होला । नानी ! मैले तँलाई एक साताअघि एउटा पर्ची दिएर भनेकी थिएँ, कुनै पसलमा पाइस् भने यो औषधि ल्याइदे ल भनेर त्यो पनि ल्याइनस् । अब त औषधिको पनि आवश्यकता पर्दैन होला । तँ खुशी रहनु आफ्नो स्वाथ्यको ख्याल राख्नु, समयमा खानु, समयमा घर आउनु ल छोरा !”
उसले पर्ची सम्झ्यो गोजी छाम्यो र पर्ची गोजिमै रहेछ । निकालेर हे¥यो । पर्चीमा लेखिएको थियो, “बाबू छोरा ! कतै तेरो याद न आउने औषधि पाइस भने लिएर आइज ल !” यो पर्ची पढेर उसले आमालाई उठाउन खोज्यो तर, आमा अब कहिल्यै नउठ्ने गरी सुतिसक्नु भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies