दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : शनिबार (आज) इलाम–२ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदैछ । बझाङ–१ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको समय पनि शनिबार नै छ । तर राजनीतिक दलहरुको ध्यान इलाम २ मा ज्यादा छ ।
पहिचान पक्षधर समूहरु कोशी प्रदेशको नामाकरणको विषयलाई इलाम–२ को उपचुनावसँग जोडिरहेका छन् । पहिचान पक्षधरबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार चयन भइसकेका छन् ।
नेपाली कांग्रेसले वामपन्थी किल्ला भत्काउन चाहेको छ भने एमाले जोगाउन प्रयासरत छ । यसका लागि कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसका उम्मेदवार खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । उनी कांग्रेस इलामका सभापति पनि हुन् ।
एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ बाट प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको थियो । त्यसक्षेत्रमा एमालेले उम्मेदवार नेम्वाङकै कान्छा छोरा सुहाङलाई बनाएको छ ।
एमालेले अन्य नेताहरुलाई छाडेर सुहाङलाई नै उम्मेदवार बनाउनुको कारण वामपन्थी किल्ला जोगाउन पर्यास हो । किनभने यो क्षेत्रमा २०४८ साल देखि नै एमालेका स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङ निरन्तर निर्वाचित हुँदै आएका थिए ।
यहीबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शीर्ष टीम नै चुनावी मैदानमा उत्रिएको देखिन्छ । रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हालै मात्र काठमाडौं फर्किएका छन् ।
निर्वाचन आयोगले उपचुनावको मिति तय गरेसँगै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम २ मा खटाएको थियो भने मत सर्वेक्षण गर्न ६ जना सांसद खटिएका थिए । मत सर्वेक्षण समेतका आधारमा रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । इलाम २ मा जनसंख्याको दृष्टिमा राइ पछि लिम्बुको बाहुल्यता छ ।
निर्वाचन कार्यतालिका अन्तर्गत शनिवार उम्मेदवारको मनोनयन दर्ता हुनेछ । २५ चैतमा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ चैतमा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २७ चैतमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन, उम्मेदवारी फिर्ता, र निर्वाचन चिह्न वितरण गरिनेछ । २८ चैतदेखि १२ वैशाखसम्म प्रचारप्रसारको समय छ भने १५ वैशाखमा मतदान हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies