दिलमाया शाही/मध्यान्ह
जुम्ला : जुम्लामा नौ सय ९८ किलोवाटको चुकेनी जलविद्युत आयोजना निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । बिजुलीको अभाव खेप्दै आएको जुम्लालाई उज्यालो बनाउन पातारासी गाउँपालिकामा निर्माण हुँदै गरेको चुकेनी जलविद्युत सहकारी संस्थाबाट सञ्चालित आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको हो ।
त्यस्तै, चुकेनी जलविद्युत सहकारी संस्थाका अध्यक्ष गोरबहादुर रावतकाअनुसार निर्माणकार्य करिब अन्तिम चरणमा पुगेर पावर हाउसमा बिजुली बलेको छ । ‘जलविद्युतको काम अब अन्तिम चरणमा पुगेको छ, पातारासी गाउँपालिकासहित जुम्ला सदरमुकामसम्म बिजुली पुर्याउने यसको लक्ष्य हो’, उनले भने । उनकाअनुसार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ६० प्रतिशत, पातारासी गाउँपालिकाका स्थानीय नागरिक तथा पातारासी गाउँपालिकाको शेयर लगानीमा उत्पादन भएको करिब एक मेगावाटको बिजुली जुम्लाको अहिलेसम्मको ठूलो आयोजना हो ।
अध्यक्ष रावतकाअनुसार आयोजनामा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अनुदान २८ करोड ४४ लाख ३० हजार र स्थानीयको शेयर लगानी ११ करोड गरी ३९ करोड ४४ लाख ३० हजार लगानी रहेको छ । साथै मूल्य अभिवृद्धि करसहित भने ४४ करोड ४४ लाख ३३ हजार पुगेको छ । अध्यक्ष रावतकाअनुसार आयोजनामा छ करोड बैंकको कर्जा लगानी, स्थानीय नागरिकको शेयर दुई करोड ५० लाख, गाउँपालिकाको एक करोड र कर्णाली प्रदेश सरकारको एक करोड लगानी रहेको छ ।
आयोजना निर्माणको जिम्मेवारी फेवा कन्सल्टेन्ट बुटवलको रहेको नवीकरणीय उर्जाका लागि जीविकोपार्जन परियोजनाका फिल्ड संयोजक पृथ्वी शाहीले जानकारी दिए । साथै उनले बिजुली बाल्नका लागि निर्माण कम्पनी मेघा हाईड्रो ईन्जिनियरिङ कम्पनी बुटवलले काम गरिरहेको उनले बताए ।
निर्माणकार्य भइरहेको विद्युत गृहभित्रको म्यानुअल सिस्टमको कार्य सम्पन्न भई पावर हाउसमा बिजुली बलेको उनले बताए । अब केही दिनमा अटोमेटिक सिष्टम शुरु हुने र त्यसपछि बजार क्षेत्रमा बिजुली वितरणको काम गर्ने तयारी भएको उनको भनाइ छ ।
विद्युत आयोजना निर्माणकार्य अन्तिम चरण पुगेकोले जुम्लाबासी बिजुली बाल्ने सपना छिट्टै पूरा हुने प्रतिक्षामा छन् । विद्युत आयोजनाको विषयमा पहल गर्ने पूर्व कानुनमन्त्री नरेश भण्डारीले चुकेनीले जुम्ला उज्यालो बनाउने ठुलो सपना भएको बताए । ‘प्रतिक्षाको घडी सकिन लागेको छ, केही प्राविधिक काम सकिएपछि यो आयोजना पूर्णरुपमा संचालनमा आउँछ’, उनले भने, ‘बिजुलीको लाईन जुम्ला सदरमुकामसम्म पुर्याउनका लागि सबै संरचना बनेको छ, यसको लागि भारतको पिएलसी कम्पनीबाट प्राविधिक बोलाइएको छ’, उनले भने ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies