काठमाडौं : आधुनिकताको विकाससँगै नोटको कारबार घट्ने र डिजिटल कारोबारमा वृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष (आव)को आठ महिनामा मोबाइल बैंकिङ कारोबार ७८ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत् कुल दुई खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।
पछिल्लो समय अनलाइन प्रयोगकर्ताको संख्या बढ्दै गएपछि डिजिटल कारोबार पनि उच्च हुन थालेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङमा जोड दिएपछि सो नतिजा आएको देखिन्छ । पछिल्लो समय नगदसहित विद्युतीय भुक्तानीको कारोबारमा एटिएम, विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्युआर कोडलगायतको प्रयोग र प्रयोगकर्ता बढेको राष्ट्र बैंककोे तथ्यांकले देखाएको छ ।
२०७९ असार मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत् एक खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । समीक्षा अवधिमा एक खर्ब २८ अर्ब ६९ करोड रुपैयाँले कारोबार बढेको छ । समीक्षा अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या पनि दुई करोड ३७ लाख ८३ हजार पुगेको छ । अघिल्लो वर्षको असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या एक करोड ८३ लाख सात हजार मात्रै थियो ।
यस्तै, कनेक्ट आइपीएसमार्फत् चार खर्ब ८३ अर्ब बढीको कारोबार भएको छ । सो अवधिमा कनेक्ट आईपीएसमार्फत् ५९ लाख ७१ हजार एक सय १५ पटक कारोबार भएको छ । कनेक्ट आइपीएस प्रयोगकर्ताको संख्या भने १२ लाख २८ हजार एक सय ४० रहेको तथ्यांकले देखाएको छ ।
समीक्षा अवधिमा एक करोड ८७ लाख ४९ हजार बराबरका इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुमार्फत् १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत असार मसान्तसम्म यस्ता प्रयोगकर्ता एक करोड ६८ लाख ४३ हजार मात्रै थिए भने कारोबार १५ अर्ब ६३ करोड ८० लाख रुपैयाँ बराबर भएको थियो । तुलनात्मक रुपमा यो वर्ष इन्टरनेट बैंकिङ प्रयोगकर्ता र कारोबार दुवै घट्न पुगेको तथ्यांकले देखाएको छ ।
डिजिटल कारोबारमार्फत् आफूलाई आवश्यक टेलिफोन, विद्युत, खानेपानीलगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने, एक बैंकबाट अर्को बैंकको खातामा रकम पठाउने, वस्तुहरुको किनमेल लगायतका काम गर्न सकिन्छ । त्यसैले पनि पछिल्लो समयमा मानिसहरुको डिजिटल कारोबारतर्फ आकर्षण बढ्दै गएको देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies