शिव विक/मध्यान्ह
काठमाडौं : राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । राप्रपाले विभिन्न ४० बुँदे माग राखेर प्रदर्शन गरेका हुन्। राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।
प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरे । प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै लिङ्देनले मुलुकले थप विद्रोह थेग्न नसक्ने बताए । त्यसका लागि नयाँ सम्झौताका लागि दलहरु तयार हुनुपर्ने बताए ।
नयाँ सम्झौताका लागि दलहरू तयार नभए भाग्नुपर्ने दिन आउने उनको चेतावनी छ । जनता यथास्थितिमा बस्न नसक्ने भन्दै लिङ्देनले नयाँ सम्झौताका लागि तयार नहुने भए भाग्नका लागि तयार हुन चेतावनी दिएका हुन् ।
साथै, राप्रपा अध्यक्ष लिङ्देनले गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना गरे । आफूहरुको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेर तागत देखाएको भन्दै उनले यो दिन यादमा राखिराख्ने चेतावनी दिए ।
४० बुँदे माग राखेर राप्रपाले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले रोक्दा झडप भएको थियो । प्रहरीले पानीको फोहोरा, अश्रुग्यासका साथै लाठीचार्ज गरेको थियो ।
थापाथली चोकमा आयोजित सभामा राप्रपा नेताहरूले गृहमन्त्रीको आलोचना गरेका हुन् ।
अध्यक्ष लिङ्देनले आफू मात्र जान्ने, आफू मात्र लोकप्रिय र आफू मात्र इमान्दार भन्ने भ्रम नपाल्ने गृहमन्त्रीलाई आग्रह गरे । बरु उनले गृहमन्त्रीलाई चुनौती दिँदै भनेका छन्, ‘यति लामो राजनीतिक यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु । तपाईंले त्यो तागत राख्नुहुन्छ ?’
उनले निषेधित क्षेत्र हटाउन पनि आग्रह गरे । सत्ताको दम्भ नदेखाउन गृहमन्त्री लाई आग्रह गरे । उनले प्रश्न गरे, ‘रवि लामिछानेलाई छानबिन हुनु नपर्ने कुन व्यवस्था हो ?’ गृहमन्त्रीमाथि राप्रपा अध्यक्ष लिङ्देनले सहकारी प्रकरणलाई जोडेर प्रश्न गरेका हुन् ।
सहकारीबारे देशभरबाट प्रश्न आएको भन्दै उनले भने, ‘सुशासनको कुरा अरुलाई मात्र लागू हुने, तपाईंलाई लागू नहुने भने हुन्न गृहमन्त्रीज्यू । देशले प्रश्न उठाइरहेको छ सहकारीको विषयमा, तपाईंले सफाइ दिनु पर्दैन ? छानबिनका लागि बोटो खोल्नु पर्दैन ?’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies