काठमाडौं : प्रतिनिधि सभाको बैठक वैशाख २ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठकमा स्थगित भएको हो ।
बैठकमा विशेष समयपछि कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदहरूले उठेर विरोध जनाएका थिए । प्रतिपक्षी दलहरु आ-आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
मंगलबारको बैठक पनि कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै बैठक अवरुद्ध गरेका थिए भने बुधबारको बैठकमा पनि कांग्रेसको अडान कायमै रहेको छ ।
कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको भने सरकार समिति बनाउने पक्षमा छैन । सदनको अवरोध हटाउन सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग पटक-पटक वार्ता गरेपनि सहमति जुट्न सकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies