काठमाडौंको पर्यटकीय र व्यवसायिक क्षेत्र ठमेल र दरबारमार्ग अब कहिल्यै बन्द हुनेछैनन् । नयाँ वर्ष २०८१ को सुरुवातसँगै यी दुई स्थान कहिल्यै ननिदाउने भएका हुन् । ठमेल खुला हुदाँ पर्यटन व्यवसायमा कति सहज बनाउछ । पर्यटन गतिविधि धेरै हुने ठमेल दिन रात खुल्दा व्यापार व्यवसायले कसरी फाइदा लिन सक्छन् ? प्रस्तुत छ, यिनै समसामयिक सन्दर्भमा ठमेल विकास परिषद्का अध्यक्ष भविश्वर शर्मासँग मध्यान्हका छबि सापकोटाले गरेको संक्षिप्त कुराकानी ।
ठमेल क्षेत्र चौविसै घण्टा खुलेको छ । यसले व्यवसायीलाई कस्तो फाइदा पुर्याउँछ ?
ठमेलमा व्यवसाय गर्ने र घरधनीले लामो समयदेखि नै ठमेल खोल्नका लागि धेरै मेहनत गर्दै आएका थिए । करिब १० वर्ष अघिदेखिको चाहना अहिले पूरा भएको छ । विदेशबाट नेपाल घुम्न आउने पर्यटकहरु दिनभरी घुमेर आएपछि रातीमा किनमेल गर्नेदेखि खानेकुरा पाउन समेत समस्या हुँदै आएको थियो । होटलमा बसेकाहरु समेत रातीमा किचन बन्द हुने र पसल बन्द हुँदा समस्या परेको भन्दै पर्यटकहरुबाट गुनासो धेरै आउने गरेको थियो । ठमेलका व्यवसायीहरुले समेत १० बजे नै पसल बन्द गर्ने गरेका थिए । नेपालकै धेरै पर्यटकीय गतिविधि हुने स्थान बन्द हुँदा पर्यटकले पैसा खर्च गर्न सक्ने स्थान नै थिएन । अब बजार खुला हुँदा व्यवसायीलाई त फाइदा हुन्छ नै, छोटो छुट्टीमा नेपाल आउने पर्यटकहरुका लागि समेत यसले फाइदा गर्छ ।
तपाईँले भनेजस्तो ठमेल खुल्ला हुँदा पर्यटकहरु किनमेलको लागि आउलान् त ?
नेपालको चर्चित स्थान ठमेल २४ सै घण्टा खुलेको छ भन्ने सन्देश अब विश्वभरी नै जान्छ । यसभन्दा अघि नेपाल आएका पर्यटकहरुको लागि समेत यो चासोको विषय बन्न सक्छ । हामीले अहिले शुरु नगर्ने हो भने ठमेलका व्यवसायी विस्तारै पलायन हुने अवस्था समेत आउन सक्थ्यो । कोरोनापछि कति व्यवसायी त पलायन पनि भएका छन् । देशकै महत्वपूर्ण स्थानमै व्यापार नहुने हो भने अरु स्थानमा झनै कस्तो असर पर्ला ? ठमेलमा रात्रिकालीन व्यवसाय खुल्ला हुँदा नेपाल आउने पर्यटकको पहिलो रोजाई ठमेल बाहेक अरु हुन सक्दैन । ठमेल केन्द्रबिन्दु हुँदा आजको भोलि व्यापार ह्वात्तै नबढेपनि बिस्तारै रात्रिकालीन किनमेलको हब अवश्य बन्नेछ ।
पर्यटकको लागि सुरक्षा पहिलो प्रथामिकता हो । रात्रिकालीन व्यवसायी र पर्यटकलाई समेत कसरी सुरक्षित महसुस गराउन सकिन्छ ?
यतिबेला ठमेलको हरेक स्थानमा सीसीटिभीको व्यवस्था छ । सडकहरु पनि राम्रा भएका छन् । तारको व्यवस्थापन गरेका छौं । बिगत २ वर्ष यता ठमेलको मुहार परिवर्तन हुँदै गएको छ । सुरक्षाको लागि गृहमन्त्री रवि लामिछानेले हामीलाई दिनुभएको आश्वासनले हामी विश्वस्त छौं । जिल्ला प्रशासन कार्यालयको समेत धेरै सहयोग छ । रातीमा दिउँसो भन्दा केही सुरक्षा चुनौती अवश्य छ तर, सुरक्षा निकायको साथ र सहयोगले हामी उत्साहित भएको छौं । सुरक्षाको लागि हामी गम्भीर समेत छौं । तीनै तहका सरकारसँग समन्वय भएको छ । कुनै घटना हुँदा बित्तिकै प्रहरीले पुग्नेगरी सुरक्षा निकाय परिचालन गर्नसक्छ । ठमेल २४ सै घण्टा खुल्दा रात र दिनमा केही फरक नपर्नेगरी सडक बत्ति पनि लगाइएको छ । दिनमा भन्दा रातमा सुरक्षाकर्मीको संख्या समेत झण्डै दोब्बर हुने हुँदा ठमेल आउने पर्यटकले असुरक्षित महसुस गर्नै पर्र्दैन् । हामीले व्यवसायी आचारसंहिता र सुरक्षा मापदण्ड समेत बनाएका छौं, जसले सुरक्षित ठमेल बनाउने छ ।
तर, ठमेलकै महत्वपूर्ण स्थान भगवान बहाल क्षेत्रका घरधनीको असन्तुष्टि छ नी ?
भगवानबहाल क्षेत्रमा लामो समयदेखि बसोबास गर्नु भएको स्थानीय हुनुहुन्छ । उहाँहरुले ठमेल २४ सै घण्टा खुल्ला हुनुहुँदैन भन्नु भएको छैन । तर, ४० वर्षयता ठमेल व्यवसायको केन्द्र भएको छ । ठमेलमा सानो स्थानको समेत महँगो भाडा लिन सक्ने अवस्था छ । कति घरधनीहरु ठमेलको घर पूरै भाडामा दिएर ठमेल बाहिर सिफ्ट हुनुभएको छ । यसले उहाँहरुलाई समेत धेरै नै फाइदा भएको छ । अहिले ठमेलका अधिकांश क्षेत्रका घरधनीहरु समेत सबै खुल्ला गर्ने विषयमा सहमत हुनुभएको छ । भगवानबहाल क्षेत्रका स्थानीय बासिन्दाको अहिलेको मुख्य सरोकारको विषय भनेको शान्तिसुरक्षा र ध्वनी प्रदुषणको कुरा हो । तर, ठमेल खुल्ला हुँदा खुशी नै हुुनुहुन्छ । उहाँहरुको साथ र सहयोगले नै ठमेल खुल्ला गर्न सकिएको हो ।
अन्त्यमा, पयर्टकहरु आउने र व्यापार बढ्नेमा व्यवसायीहरु कत्तिको ढुक्क छन् ?
ठमेलमा अन्य स्थानमा भन्दा व्यापार बढी नै हुन्छ । ठमेल सानो भएपनि यस क्षेत्रमा नपाइने वस्तु भन्ने केही छैन । २४ सै घण्टा खुल्दा अझै नयाँ व्यवसाय गर्नेको रोजाई ठमेल बन्न सक्छ । पर्यटकहरुले समेत सकेसम्म ठमेल नै बस्ने र रात्रिकालीन मनोरञ्जन गर्ने मनस्थिति बनाउने छन् । ठमेलमा अझै धेरै गर्न बाँकी छ, यो सुरुवात मात्र हो । पर्यटन गतिविधि बढाउने पहिलो पाइला हो हाम्रो । ठमेल र दरबारमार्गले पहिलो पाइला चालेको छ । यसको सफलताले देशका अन्य पर्यटकीय र व्यावसायिक केन्द्रलाई समेत सन्देश दिन सक्नेछ । नेपाल सानो मुलुक, प्राकृतिक सम्पदाले भरिपूर्ण हुँदाहुँदैपनि हामीले लाभ दिन सकेका छैनौं । हामी दुई छिमेकी मुलुक चीन र भारतको बिचमा छांै । दुवै देशमा अर्बौंको जनसंख्या छ । चीन र भारतबाट घुम्न निस्कने करोडौंलाई नेपाल भित्र्याउने रणनीति नेपालले बनाउनु पर्छ । ठमेल दिन रात खुल्ला हुँदा पक्कैपनि पर्यटकीय गतिविधि र व्यवसायमा वृद्धि हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies