तेज बन/मध्यान्ह
इटहरी : प्राय: जसो मिथिला क्षेत्रमा मनाइने चैती छठ पर्व आइतबार इटहरीमा पनि धुमधामका साथ मनाइएको छ । सुनसरी र मोरङको संगमस्थल बुढीगंगा जमुना मुक्ति घाटमा नेपाली मधेशी समाज इटहरीले चैती छठ पर्व मनाएको हो । ५ सय भन्दा बढी भक्तजनहरूले आइतबार बुढी घाटमा नुहाएर शुद्ध खाना खाएर खोलामै बास बसेर सूर्यलाई अर्घ दिएर पर्व मनाएका हुन् ।
श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (चैती छठ) पर्वको विधि शनिबारबाट शुरु भएको र पहिलो दिन निराहार व्रत बसेर पर्वलाई स्वागत गरी दोस्रो दिन आइतबार ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर पर्वलाई बिदा गरिएको नेपाली मधेसी समाज इटहरीका सचिव चन्दन झाले बताए । निराहार व्रत बसी मनबाट गरिएको विभिन्न भाकलहरू छैठी माताले पूरा गरिदिने जनविश्वासका साथ यो पर्व मनाइने सूर्यनारायण मन्दिरका पुजारी दिनेस झाले बताए ।
चैती छठ पर्वलाई नै मध्यनजर गर्दै बुढीघाट आसपास ५ सय भन्दा बढी स्टलहरू निर्माण गरिएको नेपाली मधेशी समाज इटहरीका अध्यक्ष राजकुमार साहले बताए । निष्ठापूर्वक यो पर्व मनाए मनोकांक्षा पूरा हुने विश्वास छ । पर्वमा हुने विभिन्न प्रकारको घटनाहरुलाई मध्यनजर गर्दै समाजको पहलमा सो क्षेत्र आसपास सुरक्षाको पनि व्यवस्था मिलाइएको समाजका प्रकाश महतोले बताए ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गर्ने गरिन्छ ।
छठपर्वमा ठकुवा, भुसुवा (कसार)सहितका मिष्ठान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री बर्तालुले अर्घका बेला सूर्यतर्फ देखाउने गर्छन् । मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्टरोग निवारणका लागि गरेको र त्यसैबेलादेखि प्रारम्भ भएको मानिन्छ । व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies