सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : मालारानी गाउँपालिकासँग विभिन्न माग राख्दै नेपाली कांग्रेसले ध्यानाकर्षण गराएको छ । कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानको नेतृत्वमा गएको टोलीले गाउँपालिकाको ध्यानाकर्षण गराएको हो ।
गाउँपालिकाबाट गर्ने शिक्षक दरबन्दी मिलान, पालिकाभित्र वितरण हुने टिन वितरण, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा छनोटमा लगायतका विषयमा पालिकाबाट प्रवाह हुने विकास निर्माणका काममा एकलौटी रुपमा एमालेकरण गरिएको भन्दै कांग्रेस मालारानीले ध्यानाकर्षण गराएको पालिका सभापति शोभाखर खनालले मध्यान्हलाई जानकारी दिए ।
त्यस्तै पालिकाबाट सञ्चालन हुने आयआर्जन, क्षमता विकास तालिम, योजनाहरुको उपभोक्ता समिति गठन, विद्यालय समायोजन, अनुदानका सामग्री वितरण लगायतका कार्यक्रममा वडा अध्यक्षहरुले खोजी–खोजी आफ्नै कार्यकर्ताहरुलाई मात्र प्रदान गरिएकोमा तत्काल त्यस्तो प्रवृत्ति नसच्याए कांग्रेस मालारानीले गाउँपालिका थप संघर्षका कार्यक्रम ल्याउन पनि पछि नपर्ने सहमहामन्त्री खनालको भनाइ छ ।
यता गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराईले कांग्रेसले लगाएका आरोप सबै सत्यता नभएको बताए । उनले विगतका दिनमा भएका केही कमिकमजोरीहरुलाई आगामी दिनमा सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले हरेक विकास निर्माणका काममा सुशासन र पारदर्शिता ल्याउनका लागि आफुले पहल गरिरहेको बताए ।
यस्तै गाउँपालिका उपाध्यक्ष दिपा पोख्रेलले हरेक योजनाको भुक्तानी गर्दा योजना सम्पन्न भए÷नभएको आफैँले अनुगमन गरेर मात्र हुने गरेको जानकारी गराइन् । ध्यानाकर्षण गराउन महिला नेतृ शान्ता खनाल, वडा नम्वर १ देखि ८ सम्मका वडा सभापति लगायत नेता कार्यकर्ताहरु गाउँपालिकाको कार्यालयमा पुगेका थिए । साथै उनीहरुले आ–आफ्ना वडामा भएका विकास निर्माणका बारेमा समस्या प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कँडेल, शिक्षा शाखा प्रमुख रमेश पन्थी र प्राविधिक शाखाका प्रमुख हरि पाण्डेले गुनासा, सुझावलाई समेटेर अघि बढ्ने बताएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies