काठमाडौ : चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पूरा भएको छ । एक्स्पो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोको सबै तयारी पूरा भएको जानकारी दिएको हो । एक्स्पो आगामी बैशाख १२, १३ र १४ गते भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुने जनाइएको छ ।
बैशाख १२ गते बिहान ६ः३० बजे विद्युतीय सवारी (इभी) र्याली गर्दै एक्स्पोको सुरुवात हुनेछ । विद्युतको आन्तरिक खपत वृद्धि गर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगवारे जनचेतना अभिवृद्धि गर्ने उदेश्यसहित आयोजना गरिएको इभी र्याली स्काई वाक टावर कमलादीबाट शुरु भई विद्युत प्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शितल निवास, बालुवाटर लगायतका मुख्य–मुख्य स्थानहरु हुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो आयोजना स्थल भृकुटीमण्डपमा समापन हुने आयोजकले जनाएको छ । र्यालीमा विद्युतबाट चल्ने दुई पाँग्रे, तीन पाँग्रे, चार पाँग्रे र छ पाँग्रे इभीहरुलाई निःशुल्करुपमा सहभागी गराइने छ ।
‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको सो एक्स्पोको पहिलो दिन इभी र्यालीका अलवा प्रदर्शनीस्थल भृकुटीमण्डपमा उच्चस्तरीय बिजनेस मिटिङहरु पनि आयोजना हुनेछन् । जुन भारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसी, लगायतका कम्पनीका प्रतिनिधिहरुसँग हुनेछन् । एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका एक सय भन्दा धेरै स्टलहरुको बुकिङ सम्पन्न भइसकेको छ ।
ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रुप दिने गरी निजी क्षेत्रबाट यो भव्य एक्स्पो आयोजना गरिएको हो । नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका वारेमा ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानका महासचिव बलराम खतिवडाले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies