सरु भुसाल/मध्यान्ह
गुल्मी : गुल्मीका विभिन्न स्थानमा दुई दिनदेखि आगलागी हुँदा सरकारी सम्पत्तिसहित करोडौंको क्षति भएको स्थानीयले बताएका छन् । शुक्रबारदेखि गुल्मी जिल्लाका विभिन्न स्थानमा आगलागीका घटना हुँदा दर्जनौं घर गोठ जलेर नष्ट हुनुका साथै सरकारी सम्पत्तिसहित करोडौंको क्षति भएको छ ।
शुक्रबार दिउँसो गुल्मीदरबार गाउँपालिका ३ र ४ को बीचमा पर्ने जंगलमा आगलागी हुँदा नेपाल विद्युत प्राधिकरणको वीरबास सवस्टेशनको स्टोर जलेर दुई करोडभन्दा बढीको इलेक्ट्रोनिक्स सामग्री नष्ट भएको विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिएका छन् । शनिबार हावाहुरीसँगै गुल्मी जिल्लाका विभिन्न पालिकाका विभिन्न स्थानमा आगलागीका घटना हुँदा दर्जनौं घर जलेर नष्ट भएका छन् । आगलागीमा परेर केही मानिसहरु घाइते भएको र पशुचौपायाहरु मरेको पत्रकार रमेश बिकले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका– २ को रानीवन सामुदायिक वनमा लागेको आगो सिदुङ्खा र हाँडिखोला समेत गरी १५ वटा घर गोठ जलेर नष्ट भएका छन् । आगलागीमा लु ४ त ६५३५ नम्बरको ट्याक्टर पूर्णरुपमा जलेको छ भने त्यसका चालक उजुङ्घ निवासी हिमाल राना घाइते भएका छन् । त्यस्तै जेसिभी चालक मुसिकोट नगरपालिका– ७ पल्टारका प्रेम राना पनि गम्भीर घाइते भएका छन् । इस्मा गाउँपालिका– ४ हुल मुड्कीनामा चार गोठ जलेर नष्ट भएका छन् । आगलागीमा परेर एउटा लैनो भैंसी, एउटा गाई र १० वटा बाख्रा जलेका छन् । यहाँ शनिबार अपरान्हसम्म सात वटा घर जलेर नष्ट भएको र थप करिब १० वटा घर जोखिममा रहेको त्यहाँका वडाध्यक्ष मानबहादुर बस्नेतले जानकारी दिए ।
धुर्कोट गाउँपालिका– ६ धुर जंगलमा भिषण आगलागी भएको स्थानीयवासी तथा पत्रकार भरत पाण्डले जानकारी दिए । त्यस्तै, मुसिकोट नगरपालिकाको– ९ अर्लाङ्कोटको जंगलमा पनि भिषण आगलागी भएको छ । वडाध्यक्ष भोमा गुरुङका अनुसार अपरान्हसम्म तीन वटा घर र एउटा गोठ जलेर नष्ट भएका छन् भने तीन वटा भैंसी मरेका छन् । आगो नियन्त्रणभन्दा बाहिर रहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।
रुरुक्षेत्र गाउँपालिका– १ भड्कुवा गाउँको चारैतिर आगलागी हुँदा पाँच वटा घर गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । सात वटा पशुचौपाया मरेको र झण्डै दुई दर्जन घर गोठ उच्च जोखिममा परेको स्थानीयवासी विकास ज्ञवालीले बताए । प्रहरीका अनुसार रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका छत्रकोट गाउँपालिका, मदाने गाउँपालिका, मालिका गाउँपालिकाका विभिन्न स्थानमा आगलागी भएको छ । जिल्लाका विभिन्न स्थानमा आगलागी भएको हुँदा नियन्त्रणका लागि तीन वटै सुरक्षा निकाय परिचालन गरिएको भन्दै आम नागरिकसमेतलाई होसियारपूर्वक आगलागी नियन्त्रणमा जुट्न प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आह्वान गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies