सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिकामा प्रारिम्भक बालविकास केन्द्रका शिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ ।
प्रारम्भिक बालविकास केन्द्रका बालबालिकाको विकास तथा सिकाइमा प्रयोग योग्य विविध शैक्षणिक सामग्री निर्माण गर्ने तत्परता तथा सीप अभिवृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्रकी परियोजना अधिकृत सीमा वलीले बताइन् ।
उनले भनिन्,‘तालिममा प्रारम्भिक बालविकास पाठ्यक्रमले निर्धारण गरेका विषयवस्तुलाई समावेश गर्दै बालबालिकाका ज्ञान, सीप र व्यवहारलाई बालबालिकाहरूको विकासात्मक अवस्था, क्षमता र अभिरुचि अनुसार प्रभावकारी शिक्षणका लागि विषयवस्तुगत ज्ञान तथा शिक्षण सीप विकासमा जोड दिइनेछ ।’
बालबालिकाको विकास तथा सिकाइ उपलब्धी मूल्यांकन, प्रगति, विश्लेषण तथा उपचारात्मक शिक्षण सञ्चालनका बहुआयामिक तौरतरिकाको सहभागीहरुबीच छलफल गराइने परियोजना अधिकृत वलीले बताइन् ।
बालबालिकाको विकास तथा सिकाइका लागि बालमैत्री वातावरणको व्यवस्थापन गर्नका लागि बालविकास केन्द्रमा आएका बालबालिकाको विविधता व्यवस्थापन गर्ने र अपाङ्गता पहिचान गरी सिकाइ सहजीकरणको सीप विकास गर्ने र आपतकालिन अवस्थाको व्यवस्थापन सम्बन्धी बुझाइ प्रष्ट पार्न सक्ने गरी प्रशिक्षित गर्ने कार्यक्रम समेत रहेको वलीले बताइन् ।
प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत बारबर्दिया नगरपालिका वडा नम्बर ७ मा रहेको रम्मापुर सामुदायिक होमस्टेमा सञ्चालित तालिम १० दिनसम्म सञ्चालन हुनेछ ।
तालिममा बर्दिया जिल्लाका बारबर्दिया, ठाकुरबाबा, राजापुर नगरपालिका र गेरुवा गाउँपालिका गरी ४ वटा पालिकाका २० जना बाल विकास शिक्षकहरु सहभागी छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies