काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले रैथाने ज्ञान उत्सव शृंखला शुरु गरेको छ । प्रतिष्ठानको संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास विभागको आयोजनामा शुक्रबार र शनिबार चितवनको भरतपुरमा विभिन्न दुई कार्यक्रम सम्पन्न भएका छन् ।
कुमाल सेवा समाज चितवनको स्थानीय संयोजनमा आयोजित ‘कुमाल जातिको सांस्कृतिक सम्वाद्’ तथा थारू कल्याणकारिणीसभा जिल्ला कार्यसमिति चितवनको स्थानीय संयोजनमा आयोजित ‘थारू जातिको सांस्कृतिक संवाद’को उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति भूपाल राईले शृंखलाको शुभारम्भ गरेका हुन् । विभिन्न जाति र परम्परामा भएको रैथाने ज्ञानलाई प्रवृद्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम शुरु गरिएको उनले बताए ।
लिखित इतिहास नभएका सीमान्तकृत जातिभित्रको ज्ञानलाई मौखिक माध्यमबाट अभिव्यक्त हुने गरी प्रज्ञा प्रतिष्ठानले सहजीकरण गर्ने उनको भनाइ थियो । प्रज्ञा प्रतिष्ठानका गतिविधिलाई विभिन्न भाषाभाषी, जाति र संस्कृतिसम्म पुर्याउने योजनाअन्तर्गत चितवनबाट कार्यक्रम शुरु गरिएको र आगामी दिनमा पनि निरन्तरता दिँदै जाने प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले बताए ।
कुमाल सेवा समाजका केन्द्रीय अध्यक्ष विशाल कुमालको अध्यक्षतामा भएको कार्यक्रममा तिलकबहादुर कुमालले उक्त जातिको भाषा तथा संस्कृतिका विषयमा प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल गरिएको थियो । साथै सो अवसरमा कुमाल जातिको भाषा र संस्कृतिको सम्वर्द्धनका लागि आगामी दिनमा गर्न सकिने विषयमा समूह छलफलसमेत गरिएको थियो ।
प्राज्ञ सभा सदस्य डा बालाकृष्ण अधिकारीले सहजीकरण गरेको उक्त समूह छलफलमा बहस गर्दै कुमाल सेवा समाजका केन्द्रीय अध्यक्ष विशाल लामा, भरतपुर महानगरपालिका–२८ का वडा सदस्य शेरबहादुर कुमाल तथा साहित्यकार भूपिन खड्काले जनप्रतिनिधि, जातीय समुदायका अगुवा र बौद्धिक वर्गले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरे ।
त्यस्तै थारू कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवनका अध्यक्ष ललितकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अनुसन्धाता डी आर पोखरेलले प्रस्तुत गरेको ‘चितवनका थारू जातिको सांस्कृतिक सम्पदा : संरक्षण र परिष्कारको आवश्यकता’ विषयक कार्यपत्रमाथि छलफल गरिएको थियो ।
आयोजित समूह छलफलमा राजनीतिशास्त्री डा सञ्जय चौधरी, अनुसन्धाता सत्यनारायण चौधरी, अधिवक्ता सञ्जय चौधरी र कवि तथा समालोचक रमेश प्रभातले बहस गरेका थिए ।
उक्त कार्यक्रमको सहजीकरण पत्रकार शान्तकुमार चौधरीले गरेका थिए । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य रामहरि श्रेष्ठ, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीलगायत थारू समुदायका अगुवा र स्रष्टाहरूले पनि मन्तव्य व्यक्त गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies