सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : चैते दशैंको द्वादशीको दिन भूमिकास्थान नगरपालिका वडा नम्बर १०, धनचौरको पर्यटकीय स्थल सेङलेङमा भव्य सराय नाच तथ दशैं मेला सम्पन्न भएको छ । असत्यमाथि सत्य र विजयको खुसीयाली स्वरुप हर्षोल्लासका साथ नाचिने सराय नाचले चतैदशैंको महत्वलाई थप बलियो बनाएको सेङलेङमा अवस्थित सत्यदेवी-बराह मन्दिरका पुजारी खुविराम खनालको भनाइ छ ।
यस वर्षको सरांय नाच तथा चैतेदशैंको मेला अवलोकन गर्न शितगंगाको जुकेना, ठाडा, भूमिकास्थानका सबै वडा र सन्धिखर्कसहित अर्घाखाँचीका विभिन्न क्षेत्रबाट दर्शक एवम् भक्तजनहरु सेङलेङमा पुगेको स्थानीय सत्यदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद बन्जाडेले जानकारी दिए । विगतका वर्षमा भन्दा यस वर्ष दर्शनार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको प्रधानाध्यापक बन्जाडेले बताए ।
चिसो मौसममा जुलेपी, मोःमो, चाउमिनसहित विभिन्न खानाका परिकार बनाएर बेच्न बसेकाहरुको ब्यापार पनि राम्रो भएको मन्दिर सञ्चालक समितिका सदस्य हिमनाथ खनालले बताए । खानाका साथै खोरखोरे, गिलासफोरजस्ता खेलका स्टलहरुले समेत मेलाको आकर्षण बढाएको उनले बताए ।
मेला हेर्न मात्रै नभएर गर्मी छल्न र सेङलेङको चिसो एवम् स्वच्छ र रमणीय बातावरणमा रमाउन पनि नागरिकहरु त्यहाँ पुग्ने गरेको स्थानीय शुभ समालले बताए । अर्घाखाँचीमा पर्यटकीय सम्भावना भएका धेरै क्षेत्र भएर पनि ओझेलमा परेको, तर अहिले जिल्लामा पत्रकार महासंघ अर्घाखाँचीले पर्यटन विकासको
उद्देश्य राखेर सञ्चालन गरेको पर्यटन प्रवर्द्धन अभियानपश्चात सेङलेङ मेला अवलोकन गर्नेको संख्यामा वृद्धि भएको समालको भनाइ छ ।
भूमिकास्थान नगरपालिकाले पर्यटकीय हबको रुपमा चित्रित गरेको सेङलेङमा सत्यदेवी र बराह मन्दिरका साथसाथै माता पाथिभराको मन्दिरसमेत स्थापना
गरी नियमित पूजाआजा गर्न थालिएको छ । होमस्टेमा बास बसेर अर्गानिक खाना खान पाइने, पाथिभरा माता र सत्यदेवीको दर्शन गरि सेङलेङ दह, मसिनाको लेक र आसपासका क्षेत्रबाट सुन्दर हिम श्रृंखला अवलोकन गर्न सकिने भएपछि अहिले सेङलेङमा आन्तरिक मात्र नभएर बाह्य पर्यटकहरु समेत बढ्न थालेका छन् ।
चैतेदशैं पर्वसँग जोडिएको सराय नाचको आफ्नै मौलिकता र धार्मिक एवम् सांस्कृतिक महत्व पनि रहेको सत्यदेवी-बराह मन्दिर सञ्चालक समिति सदस्य खनालले बताए । सराय नाच इतिहास भएको हुँदा यसको संरक्षण र प्रवर्द्धनमा युवापुस्ताले चासो दिनुपर्ने भूमिकास्थान–१० का अगुवाहरुको जोड छ ।
पुजारी खुविरामका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्त प्रायः छन् । तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू रहेको किंवदन्ती रहँदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies