दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : सत्ता सहकार्यमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तत्काल पार्टी एकता नहुने प्रष्ट पारेका छन् । सोमबार एउटै मञ्चबाट नेताद्वय केपी शर्मा ओली र प्रचण्डले एउटै शैलीमा हतारिएर पार्टी एकता नगर्ने उद्घोष गरे ।
पछिल्लो समय निरन्तर वाम ध्रुविकरण र एकताको आवश्यकतामा जोड दिँदै आएका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै हौसिएर हतारमा कम्युनिस्ट एकता गर्ने पक्षमा आफू नभएको बताए ।
‘हौसिएर हतारमा कम्युनिस्ट एकताको पक्षमा छैनौँ । नेकपा बनाउँदा त्यतिबेला हामी अलि हतारिएर हौसिएछौँ जस्तो भएको छ । अहिले फेरि सहकार्य भएको छ । विगतको तितो यथार्थबाट पाठ सिकेर अगाडि बढ्न आवश्यक छ’ सोमबार नेकपा स्थापनाको ७५औं वर्ष पुगेको उपलक्ष्यमा एमालेले ललितपुरमा आयोजना गरेको हिरक जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने ।
यसअघि एमाले र माओवादी मिलेर नेकपा बनेको थियो । तर उक्त एकता लामो समय टिक्न सकेन । सर्वोच्च अदालतको आदेशबाट फेरि एमाले र माओवादी ब्युतिएका थिए । एमाले फुटेर एकीकृत समाजवादी बनेको छ । विगतमा एउटै पार्टीमा यी तीन वटै दल हाल सरकारमा छन् । कतिपयले उनीहरुको सत्ता सहकार्यलाई वाम एकता वा वाम ध्रुबीकरणको प्रयासको रुपमा लिइरहेका बेला शीर्ष नेतृत्वले तत्काल एकताको सम्भावना नरहेको बताएका हुन् ।
एउटै मञ्चबाट एमाले अध्यक्ष ओलीले नेकपा पार्टी विभाजन अत्यन्त हानिकारक भएको बताए । अब नेपालका कम्युनिस्टहरूबीच तत्काल एकता नहुने, बरु सहकार्यको माध्यमबाट निकट हुँदै जाँदामात्र भविष्यमा एक हुन सक्ने उनले बताए ।
उनले भने, ‘अहिले हामी सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौँ र क्रमशः एकताको बाटोमा पुग्न सक्छौँ । तर अहिले नै देशभरिका मिलौँ भन्यो भने किन फुटेका थियौ के भएर फुटेका थियौ ? यस्ता प्रश्न उठ्न सक्छन् ।’
माओवादी केन्द्र, एकीकृत समाजवादी भने हाल समाजवादी मोर्चामा छन् । यो मोर्चामा जनता समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी छ । उक्त मोर्चाको संयोजकमा हाल विप्लव छन् । विप्लवले समाजवादी मोर्चामा समाहित हुन नेकपा एमालेलाई यसअघि पत्र नै लेखेका थिए । एमालेले त्यसलाई अस्वीकार गर्दै आएको छ ।
पार्टी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै एमाले अध्यक्ष ओलीले आफूहरु तत्काल वाम ध्रुविकरण वा एकता भनेर अगाडि बढ्ने नीतिमा नरहेको प्रष्ट पारेका थिए । सोमबार ओलीकै शैलीमा माओवादी अध्यक्ष प्रचण्डले समेत हतारिएर कम्युनिस्ट नगर्ने बताएका हुन् । नेताहरु प्रचण्ड र ओलीले एकै शैलीमा एकता तत्काल नहुने बताउनुको पछाडि लामो राजनीतिक सहकार्यको सम्भावना हुन सक्ने संकेत गरेको बताउँछन् ।
वाम एकता वा धु्रबीकरण भनिए रास्वपा लगायत साना दल असन्तुष्ट हुन सक्छन् । यसकारण प्रचण्ड र ओलीले तत्काल सत्ता सहकार्य गर्ने भविष्यमा एमाले र माओवादीलाई एकतासम्म लैजाने उचित बाटो पहिल्याउने रणनीति अख्तियार गरेको एमाले र माओवादीका नेताहरुकको बुझाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies