मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : कतारका राष्ट्र प्रमुख राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । थानी सन् २०१३ देखि कतारको शासनसत्ता सम्हाल्दै आएका राजा हुन् ।
परराष्ट्र मन्त्रालय सहसचिव एवं प्रवक्ता अमृतबहादुर राईका अनुसार कतारका राष्ट्र प्रमुख राजा थानी मंगलबार अपराह्न नेपाल आइपुग्नेछन् । राजा थानीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल आफैँ उपस्थित हुनेछन् । उनको सम्मानमा सरकारले मंगलबार सार्वजनिक विदा समेत दिएको छ । मंगलबार राति राष्ट्रपति पौडेलले रात्रिभोज दिनेछन् ।
‘कतारी राजा थानीलाई राष्ट्रपतिले राजकीय भोज दिनुहुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्ने लगायत कार्यक्रम छन्’, परराष्ट्र मन्त्रालयका प्रवक्ता राई भन्छन्, ‘श्रम सम्झौता, युवा तथा खेलकुद र थप केही विषयमा छलफल हुनेछ ।’
कतारी राजा थानीको नेपाल भ्रमण दुई दिनको हुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार नेपाली पक्षबाट भ्रमणको सबै तयारी पूरा भइसकेको छ ।
नेपाल भ्रमणमा रहँदा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम छ । भ्रमणको दोस्रो दिन राजा थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्नेछन् । भेटवार्तामा श्रम सम्झौता, युवा तथा खेलकुद र थप केही विषयमा छलफल हुनेछ । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
कतार नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुक हो । यसकारण पनि कतारी राजाको नेपाल भ्रमणलाई नेपालीहरुले चासोका साथ हेरेका छन् । तर श्रम सम्झौताको विषयमा ठोस् सहमति भन्दा छलफल हुने वातावरण मात्रै बनेको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
नेपालको कृषिमा, भौत्तिक पूर्वाधार र मानव विकासमा कतारको लगानी भित्र्याउन कुराकानी हुन सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशका जनताबीच सम्बन्ध स्थापित गर्ने र यसमार्फत अगाडि बढ्ने दुवै देशको चाहना छ ।
कतारी राजाको शेख तमिमका उच्चस्तरीय भ्रमणले नेपाल र कतार सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास लिइएको छ । भ्रमणका क्रममा ब्यापार, लगानी र संस्कृति आदनप्रदान गर्ने लगायतका विषयहरुमा समेत छलफल हुनेछ ।
प्रधानमन्त्रीको वार्तापछि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा थानीले समेत सम्बोधन गर्नेछन् । कतारी राजा थानी राष्ट्र प्रमुख भएकाले उनको अभिव्यक्ति समेत श्रम सम्झौताको विषयमा अर्थपूर्ण हुनेछ ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार यो कतारबाट नेपालमा भएको अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो । यसअघि गत वर्ष कात्तिकमा हुने भनिएको कतारी राजाको नेपाल भ्रमण इजरायल–हमास युद्धका कारण स्थगित भएको थियो ।
हमासको नियन्त्रणमा नेपालका युवा विपिन जोशी रहेका छन् । नेपालले उनको रिहाइका लागि कतारको सहयोग माग गर्दै आएको छ । कतारी राजाको थानीको नेपाल भ्रमणका क्रममा यो विषय उठाइदिन पनि विपिन जोशीको परिवारले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्दै आएको छ ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार प्रधानमन्त्री तहमा हुने वार्तामा यो विषय उठ्न सक्नेछ । कतारी राजा थानी बुधबार नै स्वदेश फर्किनेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies