-एकराज पाठक
कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल्रहमान बिन जसिम थानीको निमन्त्रणमा सन् २०१७ मा नेपालका तत्कालीन परराष्ट्र मन्त्री डा प्रकाशशरण महत कतार भ्रमणमा गएका बेला कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग पनि भेटवार्ता भएको थियो । त्यस भ्रमण दलमा म आफैँ पनि सहभागी हुने अवसर पाएको थिएँ । अमिरसँगको सो भेटका क्रममा उहाँले नेपालका जनशक्तिले कतारको विकासका क्षेत्रका पुर्याएको योगदानको निकै प्रशंसा गर्नुभएको थियो । त्यस भेटमा कतारका विदेशमन्त्री अब्दुल्रहमान बिन जसिम थानी पनि हुनुहुन्थ्यो । अमिरले आफ्ना विदेशमन्त्री समेतको ध्यानाकर्षण गराउँदै कतारमा रहेका नेपाली नागरिकलाई कामका सिलसिलामा कुनै समस्या भएमा त्यसबारे आवश्यक परामर्श र छलफल गरेर समस्या समाधानमा काम गर्नु भन्नुभएको थियो ।
कतारका अमिरले स्पष्ट रुपमा कतारको बहुआयामिक विकासमा नेपाली जनशक्तिको ठूलो सहयोग रहेकाले उनीहरुमा पर्ने कुनै पनि अप्ठेरोको अध्ययन गरेर तिनको समाधानका लागि काम गर्न निर्देशन नै दिनुभएको थियो । त्यस समय उहाँले नेपालसँगको सम्बन्धका विविध आयामहरुका साथै हाम्रा नेपाली जनशक्तिले कतारका विविध क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा पनि गर्नुभएको थियो ।
परराष्ट्रमन्त्री डा महतले नेपाली श्रमिकहरुले कतारका विभिन्न क्षेत्रमा काम गरिरहेका समयमा आउनसक्ने कानुनी पक्षको समाधान सम्बन्धित कम्पनीले नै गरिदियोस् भनेर आग्रह गर्नुका साथै यदि त्यसो हुन नसकेमा नेपाली दूताबास, सम्बन्धित कम्पनी र कतारको श्रम विभाग या कुनै सरकारी निकायको प्रतिनिधिसमेतको त्रिपक्षीय संयन्त्र निर्माणको प्रस्ताव गर्नुभएको थियो ।
यसो हुँदा सानातिना कानुनी समस्यामा परेका नेपाली श्रमिकहरुले समयमै आवश्यक सहयोग प्राप्त गर्न सक्ने र लामो समयसम्म झमेलामा परेर अलपत्र पर्ने अवस्थाको अन्त्य हुने भनी नेपालका तर्फबाट त्यहाँका विदेशमन्त्रीसँगको द्धिपक्षीय भेटका क्रममा राख्नुभएको कुरा पनि अमिरसँगको भेटका क्रममा जानकारी गराउनुभएको थियो । पछि त्यस बारेमा के कसो भयो भन्ने विषय यो आलेखमा समेट्न सकिएन । प्रसंगबस सो भेटमा नेपालप्रति कतारका अमिरले देखाएको सदासयता र नेपाली श्रमिकले कतारमा गरिरहेको कामबारे उहाँले गर्नुभएको प्रशंसाको कुरालाई यहाँ स्मरण मात्र गर्न खोजिएको हो ।
यहाँनेर अहिलेको प्रसंग कतारका अमिरको नेपाल भ्रमणको हो । सो भ्रमणका लागि नेपालले तयारी सुरु गरेको छ । भ्रमणका क्रममा हुने विभिन्न द्धिपक्षीय सम्झौताका बारेमा पनि विभिन्न मन्त्रालय र विभाग स्तरमा आन्तरिक रुपमा छलफल जारी रहेको छ । यस भ्रमणलाई नेपाल र कतारको कूटनीतिक ‘इङ्गेज्मेन्ट’का रुपमा यहाँ उल्लेख गर्न खोजिएको हो ।
नेपाल र कतारबीच सन् १९७७ को जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् २००० मा कतारमा नेपालको राजदूतावास खोलेको थियो भने कतारले नेपालमा सन् २०११ मा दूतावास राखेको हो । पछिल्ला वर्षहरुमा कतार नेपाली जनशक्तिको एक आकर्षक र प्रमुख मध्येको एक गन्तव्य स्थल बन्न पुगेको छ । तर पनि कतार यतिमा मात्र द्विपक्षीय सम्बन्धलाई सीमित गर्ने भन्दा पनि आपसी लगानी, आर्थिक कुटनीतिका साथै दुई देशका नयाँ लगानी र आर्थिक पक्षका विविध एजेण्डामा पनि अघि बढ्ने पक्षमा छ ।
सानो जनसंख्या र भुगोल रहेको यस देशले जसरी विश्वमा आफ्नो कुटनीतिक प्रभाव र प्रयासलाई अघि बढाइरहेको छ, त्यसमा नेपाल पनि एक प्राथमिकतामा रहेको मित्र राष्ट्रका रुपमा राखेको देखिएको छ । कतारका अमिरको यो भ्रमणले यस विषयलाई पुष्टि गर्ने प्रयत्न पनि गर्दछ । किनभने यसअघि नेपालमा तत्कालीन राष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारीबाट कतारको भ्रमण भइसकेको भए पनि उताबाट भने यसप्रकारको उच्चस्तरको भ्रमण हुन सकेको थिएन ।
कतारले आफ्नो वैदेशिक सम्बन्ध तथा कूटनीतिमा पछिल्लो समयमा प्रभावकारी बनाएको छ । कतारको अर्थतन्त्रको आधार ग्याँस र तेल हो । तर पछिल्ला केही बर्षहरुमा उसले निर्यातमुखी आयोजनाहरु पनि अघि ल्याइसकेको छ । भूगोलमा सानो भए पनि कतारले आफूलाई एक विकसित राष्ट्रका रूपमा विकास गर्दै लगेको छ ।
हामीले देख्यौँ कतारले सन् २०१७ पछि नाकाबन्दीको समस्या झेल्नुपरेको थियो । नाकाबन्दीका कारण उसले गरेको सङ्घर्षबाट आन्तरिक रुपमा अर्थतन्त्रको विकास र आफ्ना आयातमुखी उत्पादनलाई विस्थापित गरेर निर्यात गर्नसक्ने अवस्थामा उद्यमशिलताको विकास गरेको छ ।
कृषिजन्य उपजहरु, डेरी तथा अन्य उत्पादनहरु अहिले कतारले ठूलै मात्रामा निर्यात गर्न सक्ने राष्ट्रका रुपमा आफूलाई उभ्याइसकेको छ । यस्तो लाग्छ उसले आफूमाथि भएको व्यवहारको आक्रोशलाई शक्ति अर्थात् सिर्जनामा बदल्ने काम गरेको भनेर पनि धेरैले व्याख्या गरेका छन् । कतारले यसलाई आफ्नो आर्थिक कूटनीतिका रुपमा पनि व्याख्या गर्न रुचाएको छ भन्न सकिन्छ ।
कतारले सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्यो । सुरुमा सुन्दा यो सम्भव नभएको टिप्पणी पनि कतिपय देशले गरेका थिए । यसका लागि आवश्यक पूर्वाधारको काम पनि गर्नु थियो, कतारले आँट्यो । फुटबल प्रतियोगीताको आयोजना सम्भव भयो । यतिनै बेला लगभग सबै छिमेकी देशहरुबाट कतारले नाकाबन्दीको सामना पनि गर्नुपरेको थियो । खासमा उसका छिमेकीहरु नै यस प्रतियोगिता आयोजनाको विरुद्धमा थिए ।
तर कतारको कूटनीतिक प्रयास सफल भयो । सफलताकापूर्वक विश्वकप पनि सम्पन्न भयो । विश्वकप जस्तो खेलको आयोजना गरेर कतारले आफ्नो कूटनीतिक कौशलता राम्रोसँग प्रदर्शन गर्न सकेको पछि सबैले महसुस पनि गरे । कतारले आफूलाई ‘स्पोट्स डिप्लोमेसी’को प्रदर्शन गर्न पनि सफल भएको छ । यसबाट कतारले आफूले अब खेल पर्यटक आकर्षित गर्न सक्ने क्षमता पनि देखाएको छ ।
प्राकृतिक ग्यासको निर्यात गर्ने कतारले नाकाबन्दी भन्दा अघिसम्म डेरीजन्य र कृषिजन्य उत्पादनहरु आयात गर्ने गरेको थियो । तर एकाध बर्षमा कतारले यस्तो प्रगति गर्यो कि अहिले यी उत्पादनहरु कतारले निर्यात गर्न सकेको छ । कतारको एक महत्वपूर्ण कूटनीतिक सफलता हो भन्न सकिन्छ । यस समय अब आफँैले गर्नुपर्छ भन्ने सोचका साथ कतारले स्वदेशी उत्पादनमा पनि निकै जोड दियो ।
कतार अहिले आर्थिक कुटनीतिको विकासमा लागि परेको छ । उसले पछिल्लो समयमा यही कुटनीतिको आवश्यक सहयोग र परामर्शमा यूरोप र अमेरिकामा समेत लगानी बढाउन थालेको छ । अहिले विश्व नै आर्थिक कुटनीतितर्फ लागेको छ । यतिमात्र होइन कि कतिपय देशले त आफ्ना कुटनीतिक पहलहरुलाई आर्थिक कुटनीतिको सहारामा आफ्नो वैदेशिक सम्बन्ध एवं आर्थिक विकासका प्रयासहरुलाई अघि बढाएका छन् ।
कतारले कतार इन्भेस्टमेन्ट अथोरिटीले यूरोप र अमेरिकामा हुने लगानीलाई प्राथमिकतामा राखेको छ । यसै कम्पनीमार्फत् पछिल्ला बर्षमा अमेरिकामा यस्तो लगानी बढ्दै गएको देखिएको छ । एक समाचारका अनुसार लण्डनको हिथ्रो विमानस्थलमा समेत कतारको सेयर रहेको छ । आर्थिक कूटनीति क्षेत्रका विश्लेषकहरुले यसलाई पनि कतारको एक सफल आर्थिक कुटनीतिका रुपमा लिन सकिने बताउँछन् ।
हालै कतारमा अल्पविकसित मुलुकहरूको अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो । त्यस सम्मेलनमा अल्पविकसित देशहरुको अवस्था र ती देशलाई विकसित देशहरुले गर्नुपर्ने सहायता र संयुक्त राष्ट्रसङ्घीय दायित्वजस्ता विषयमा निकै प्रभावकारी एजेण्डाहरु पनि प्रस्तुत गरेको थियो । यतिखेर नेपाल अल्पविकसित मुलुकहरूको सङ्गठनको अध्यक्षका रुपमा रहेको छ । यस नाताले पनि नेपालले अल्पविकसित मुलुकको उत्पादनशील क्षमता अभिवृद्धि गर्न कतारसँग कुराकानी गर्नुपर्छ ।
हामीले आजका हिसाबमा कुरा गर्दा कतार नेपालीहरुको प्रमुख श्रम गन्तव्य राष्ट्र हो । एक अनौपचारिक अध्ययनअनुसार कतारबाट नेपालमा वार्षिक करिब १ खर्ब रेमिट्यान्स भित्रिन्छ । हाल कतारमा ३ लाख ५० हजार भन्दा बढी नेपाली रोजगारीमा छन् । यो वास्तविकतालाई मध्यनजर गरेर अमिरको यस आसन्न भ्रमणमा द्विपक्षीय हितका लागि आपसी विश्वासमा काम हुन सकोस् भन्ने हाम्रो अपेक्षा छ ।
(पाठक राससका प्रधानसम्पादक हुन्)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies