काठमाडौं : कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको जारी नेपाल भ्रमणले उक्त मुलुकमा रोजगारीमा जाने नेपाली कामदारलाई अल्पकालीन तथा दीर्घकालीन लाभ पुग्ने अपेक्षा बढेको छ । कतारी राष्ट्र प्रमुखबाट भएको नेपाल भ्रमण मुलतः दौत्य सम्बन्धलाई थप प्रगाढ र फराकिलो बनाउने दिशामा केन्द्रित हुने भएपनि कतारमा कार्यरत नेपाली कामदारको सुरक्षा र सुविधाका विषयमा दुवै मुलुकको ध्यानाकर्षण भएको कतारको रोजगारीमा चासो राख्ने सरोकारवालाहरूले बताएका छन् ।
नेपाली कामदारको अधिकार सुरक्षा र क्षेत्र विस्तारका लागि नेपाल र कतारका बीचमा भएको सन् २००५ को श्रम सम्झौतामा नयाँ प्रावधान समावेश गरी नवीकरण गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको दृष्टिकोण रहेको थियो । श्रममन्त्री डोलप्रसाद अर्यालले श्रम सम्झौता नवीकरणको विषयमा जोडदिएको भएपनि परराष्ट्र मन्त्रालयले राष्ट्र प्रमुखको भ्रमण मुलतः दौत्य सम्बन्धमा केन्द्रित हुने बताएपछि तत्कालका लागि दुवै मुलुकबाट हुनुपर्ने गृहकार्य पूरा नभएको भन्दै श्रम सम्झौताको विषय प्राथमिकताको सूचीमा रहेन । तर कतारी अमिरको भ्रमणको मुख्य आधार उक्त मुलुकमा काम गर्ने नेपाली कामदार पनि रहेकाले उनीहरू लाभान्वित हुने धेरैको अपेक्षा छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले दुवै मुलुकबीच लामो समयदेखि रहेको श्रम सम्बन्धलाई थप बलियो बनाउन उच्च कूटनीतिक भ्रमणको समयमा नेपालले श्रमिकको हितका विषय उठाउन सक्नुपर्ने बताए । नेपाली कामदारहरूको सुरक्षा अभिवृद्धि गर्ने विषय सधैंभरि व्यवसायीको प्राथमिकतामा रहेको भन्दै अध्यक्ष भण्डारीले कामदारहरूलाई कतारको श्रम कानूनभित्र समेटिएको भएपनि नेपालले अघि बढाएको सामाजिक सुरक्षाको दायरामा ल्याउने विषयमा काम हुनुपर्नेमा जोड दिए । उनले रोजगारीका लागि गएका नेपाली कामदारलाई अनिवार्यरूपमा समाजिक सुरक्षाको दायरामा ल्याउने विषयमा काम भए त्यो सबैभन्दा ठूलो उपलब्धि मानिने बताए ।
त्यस्तै अध्यक्ष भण्डारीले नेपाली कामदारको सीप विकासका लागि सातवटै प्रदेशमा सीप तालिम बिकासका लागि आधुनिक ट्रेनिङ सेन्टरको स्थापना र आकर्षक तलव सहितको कामदारको डिमाण्डमा नेपाली कामदारहरूलाई प्राथमिकतामा राख्ने बिषय पनि आफुहरूको माग र सरोकारको पक्ष रहेको उल्लेख गरे ।
कतारमा कामदार पठाउँदै आएका नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष एवम् नौकरी नेपाली रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि.का अध्यक्ष नरेन्द्र प्रसाद ढकालले कतारमा नेपाली कामदार इमान्दार, परिश्रमी र लगनशील कामदारको रूपमा चिनिएकाले नेपालीहरूलाई परम्परागत निर्माण, सुरक्षा तथा सेवा क्षेत्रमा मात्रै नभएर चिकित्सक तथा नर्स जस्ता प्राविधिक क्षेत्रमा पनि अवसर दिइनुपर्नेमा नेपालले जोड दिनुपर्ने बताए । यस विषयमा नेपाली अधिकारीहरूले कतारका अमिर तथा भ्रमणदलमा सहभागी अधिकारीहरुको ध्यानाकर्षण गराउन सक्नुपर्ने उल्लेख गर्दै व्यवसायी ढकालले कतारी लगानीकर्तालाई ल्याउन सके उनीहरूले नेपालमै आकर्षक तलबको रोजगारी दिने भएकाले लगानीका माध्यमबाट रोजगारी सिर्जनाको पाटोलाई नेपालले ध्यान दिनसक्नुपर्ने उल्लेख गरे ।
संघको कतार संयोजक तोरण केसीले कतारमा रोजगारीमा जाने कामदारमा स्वास्थ्य समस्या, कोमामा रहेका बिरामीको उपचार, अंगभंग र मृत्युको बीमालगायतका गुनासाहरू रहेकाले ती समस्या छिटो समाधानका लागि उपायहरू खोजी हुनुपर्नेमा जोड दिए ।
हालसम्म १८ लाख बढी नेपाली वैदेशिक रोजगारमा गएको कतारमा हाल पनि पौने ४ लाख नेपाली कार्यरत रहेका छन् । उनीहरूका सम्बन्धमा कतार सरकारले लिने नीति र निर्णयले व्यक्तिगतरूपमा कामदार र समग्रमा रेमिट्यान्स निर्भरता नेपाली अर्थतन्त्रमा त्यसको प्रत्यक्ष असर रहने गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies