सुर्य प्रकाश बुढा मगर/मध्यान्ह
रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमले विपन्न, गरिब परिवार बढी लाभान्वित भएको परिवर्तन गाउँपालिकाअन्तर्गत रहेको रोजगार सेवा केन्द्र शाखाले जानकारी दिएको छ । गाउँपालिकामा शुरुवाती चरणमाभन्दा पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रममा वडा कार्यालयबाट फारम भर्ने र सूचीकृत हुनेको संख्या पनि बढेको बताइएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट विपन्न परिवार र गरिब परिवार बढी लाभान्वित भएको र सबै विपन्न र गरिब परिवारले रोजगार पाएको परिवर्तन गाउँपालिका-५ का खलवीर वलीले बताए । घरमा कमाउने कोही नभएको, एकल महिला, अशक्त र वृद्ध वृद्धा मात्र भएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले केही राहत मिलेको परिवर्तन गाउँपालिका-२ का बीरभान खत्रीले बताए । साथै घर खर्च चलाउन र बालबालिकाको पढाइ खर्च चलाउनसमेत केही हदसम्म सहज भएको परिवर्तन गाउँपालिका-३ का आकाश बुढा मगरले बताए ।
आयोजना संख्या
परिवर्तन गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा ६ वटा योजना रहेको थियो । २०७७/०७८ मा ३२ योजना रहेको थियो । २०७८/०७९ मा ५१ योजना रहेको थियो । २०७९/०८० मा ५१ योजना रहेको थियो । २०८०/०८१ मा ३५ योजना रहेको थियो । सबैभन्दा बढी योजना आर्थिक २०७७/०७८ र २०७८/०७९ मा ५१/५१ योजना रहेको देखिन्छ ।
सूचीकृत बेरोजगार संख्या
परिवर्तन गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा ४ सय ६४ जना बेरोजगार रहेका थिए । २०७७/०७८ मा १ हजार २ सय ५८ जना, २०७८/०७९ मा १ हजार ७ सय ६३ जना, २०७९/०८० मा १ हजार ९ सय ३७ जना बेरोजगार रहेका थिए । २०८०/०८१ मा भने १ हजार ७ सय २४ जना बेरोजगार रहेका छन् ।
काममा संलग्नता संख्या
आर्थिक वर्ष २०७६/०७७ मा ३ सय २ जना काममा संलग्न रहेका थिए । २०७७/०७८ मा २ सय ९८ जना, २०७८/०७९ मा ३ सय ६२ जना, २०७९/०८० मा १ सय ६९ जना बेरोजगार रहेका थिए । २०८०/०८१ मा भने ९७ जना बेरोजगार रहेको तथ्यांक रहेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा परिवर्तन गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा ११ लाख १९ हजार ३ सय ५० रुपैयाँ बजेट खर्च गरेको थियो । २०७७/०७८ मा १ करोड ५१ लाख ३८ हजार ५ सय ३६ रुपैयाँ, २०७८/०७९ मा २ करोड ६ लाख ९२ हजार ३ सय ७४ रुपैयाँ र २०७९/०८० मा ९५ लाख १९ हजार ३ सय ४६ रुपैयाँ खर्त भएको थियो । २०८०/०८१ मा ५२ लाख ५२ हजार र परिवर्तन गाउँपालिकाको १० लाख रुपैयाँ गरी ६२ लाख ५२ हजार रुपैयाँ रहेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको व्यवस्था
रोजगारीको हकसम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियमा ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आर्थिक वर्ष २०८१/०८२ मा परिवर्तन गाउँपालिका अन्तर्गत रहेको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने न्यूनतम रोजगारीमा संलग्न भइ सार्वजनिक विकास निर्माणका काममा योगदान गर्ने इच्छुक १८ वर्ष पूरा भइ ५९ वर्ष ननाघेका नेपाली नागरिकले आफूले बसोबास गरेको वडा कार्यालयमा सूचीकृतका लागि निवेदन दिन सक्ने व्यवस्था छ । जसअन्तर्गत न्यूनतम १ सय दिनको रोजगारीको व्यवस्था रहेको छ । प्रत्येक दिनको ५ सय १८ रुपैयाँ बराबरको ज्यालाको व्यवस्था रहेको छ भने १ सय दिनको ज्याला करिब ५७ हजार रुपैयाँ हुनेछ । २०८१/०८२ मा पनि परिवर्तन गाउँपालिकामा करिब २ हजार २ सय सूचीकृत बेरोजगारी संख्या आएको परिवर्तन गाउँपालिका रोजगार सेवा केन्द्र शाखाले जानकारी दिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनाहरुको अनुगमन गर्न जाँदा कार्यक्रम र काम राम्रो भएको प्रतिक्रिया आउने गरेको परिवर्तन गाउँपालिका रोजगार सेवा केन्द्र शाखाका प्राविधिक कविन्द्र सुनारले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमले सार्वजनिक काम तथा विकास निर्माणका कामहरु राम्रो गरेको पाइएको उनले बताए ।
रोजगार कार्यक्रमले केही विपन्न तथा गरिब परिवारलाई राहत मिलेको समेत उनले बताए । केहीले आफूलाई कार्यक्रमले गर्दा घर खर्च तथा छोराछोरीलाई अध्ययन गराउन सहयोग पुगेको बताउने गरेको उनले जानकारी दिए । परिवर्तन गाउँपालिकाको सबै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएको आफूले महसुस गरेको परिवर्तन गाउँपालिका रोजगार सेवा केन्द्र शाखाका संयोजक अनिता भुसालले बताए ।
साथै योजना सम्पन्न गर्दा आवश्यक पर्ने सामग्री खरिद गाउँपालिकालेनै गर्ने भएकोले सामान खरिदका लागि परिवर्तन गाउँपालिकाले बजेटको व्यवस्थापन गर्नुपर्ने उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies