लेखनाथ सिकारु/मध्यान्ह
काठमाडौं : सरोकारवालाहरुले सहकारी क्षेत्रमा देखिएका समस्याको भागेदार सहकारीको नीति सिद्धान्त कि पात्र दोषी हो पर्गेल्नुपर्ने बताएका छन् ।
बिहीबार राष्ट्रिय सहकारी महासंघ लिमिटेड पुल्चोकमा सहकारी सम्वन्वय सञ्जालको ५२औं बैठकमा सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारी क्षेत्रमा देखिएका समस्याको भागेदार सहकारीको नीति सिद्धान्त कि पात्र दोषी हो पर्गेल्नुपर्ने बताए । घिमिरेले सहकारीमा देखा परेका यावत खाले समस्यालाई उचित ढंगबाट पहिचान गरी समाधान गर्नुपर्ने बताए । उनले फलाम तातेको बेलामा हाने मात्र उचित आकार ग्रहण गर्ने भन्दै सहकारीहरुको अहिलेको अवस्था पनि त्यस्तै भएकाले सहकारीको नीति, सिद्धान्त, मूल्य मान्यतामा समस्या हो कि सञ्चालकका रुपमा रहेका पात्रहरुको समस्या हो पहिचान गर्नुपर्नेमा जोड दिए ।
समाजवाद उन्मुख अर्थतन्त्रको पहिलो खुड्किलो, पुँजीवादको चंगुलबाट भुईंमान्छेहरु जोगाउने सहकारी क्षेत्रमा आएका यावत खाले समस्याले राम्रा काम गरेका सहकारीहरुप्रति पनि हेर्ने दृष्टिकोण बदलिएको भन्दै समस्या समाधानका लागि सहकारी, सरकार र सिंगो सरोकारवालाहरुको सहकार्य र समन्वय जरुरी भएको बताए । उनले विभागले सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि अनुगमन प्रक्रिया शुरु गरेको भन्दै यसमा सबै पक्षको साथ र सहयोगको अपेक्षा रहेको बताए ।
राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा बसेको बैठकमा विभागका रजिष्ट्रार घिमिरेसहित पशु सेवा विभागका रजिष्ट्रार डा. उमेश दाहाल, नेपाल बचत तथा ऋण सहकारीका चन्द्रप्रसाद ढकाल, नेपाल सूचना तथा सञ्चार सहकारी संघ लिमिटेडका मनकुमारी जिसी, नेपाल मौरी पालन केन्द्रीय सहकारी संघका जानुका थापा, नेपाल केन्द्रीय उपभोक्ता संघका चन्द्रबहादुर ठकुरी, नेपाल नगरपालिका संघका कलानिधि देवकोटालगायतका वक्ताहरुले सहकारी क्षेत्रमा समसामयिक मुद्दा, चुनौती र समाधानमा सहकारी र सरकाको साझा अभियान र प्रतिवद्धता जरुरी भएको भन्दै केही कमजोरीका कारण समग्र सहकारी क्षेत्र बद्नाम भएकोप्रति चिन्ता व्यक्त गरेका थिए ।
वक्ताहरुले धारणा राख्ने क्रममा सहकारी ऐन ०७४ कार्यान्वयनमा ढिलाइ भएको, साथै सहकारीलाई सहकारीको सिद्धान्तविपरीत कम्पनी र फेमिली मोडलबाट चलाउन खोज्दा पनि समस्या आएको बताएका थिए । उनीहरुले सहकारीको सिद्धान्तविपरीत अवैध सहकारीले अवैध ठाउँमा लगानी गर्दा पनि समस्या आएको बताए ।
बैठकले केही सहकारी संस्थाले सदस्यहरुको बचत फिर्ता गर्न नसक्दा सहकारी क्षेत्र नै बद्नाम हुने जोखिम बढ्दै गएकाले सम्बन्धित संस्थाको लगानी असुली तथा जायजेथा बेचविखन गरी सदस्यहरुको बचत फिर्ता एवम् ऋणीहरुले भुक्तानी गर्नुपर्ने ऋण रकम असुली कार्यमा सहजीकरण गर्न सम्बध्द सबै पक्षलाई आह्वान गर्ने निर्णय गरेको छ ।
यस्तै सहकारी क्षेत्रप्रति देखिएको गलत प्रचारवाजीलाई निराकरण गर्दै आम समुदायलाई आश्वास्त पार्नका लागि सहकारीले उत्पादन वृद्धि, वित्तीय सेवा प्रवाह, रोजगार सिर्जना तथा सामाजिक सशक्तीकरणमा पुर्याएको योगदानको प्रचारप्रसार गर्दै सहकारीको जनप्रियता वृद्धि गर्न सञ्जालमा आबद्ध निकाय तथा संघ संस्थाहरुले विभिन्न प्रवर्द्धनात्मक कार्य गर्नेसमेत निर्णय गरेको छ । यस्तै आगामी वार्षिक नीति तथा कार्यक्रममा सहकारी क्षेत्रमार्फत उत्पादन वृद्धि, रोजगार सिर्जना तथा गरिबी निवारणका लागि ठोस नीति, योजना र कार्यक्रम समावेश गर्न सहकारी महासंघद्वारा पहलकदमी गर्ने निर्णय गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies