मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद हुने भएको छ ।
सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा विशेष अदालतले न्यौपानेलाई तीन वर्ष कैद र २५ करोड ६९ लाख ७५ हजार जरिवाना सुनाएको छ । विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुवँर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार यस्तो फैसला गरेको हो ।
सम्पत्ति शुद्धीकरण विभागले न्यौपानेलाई १२ करोड ८४ लाख ८७ हजार बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अभियोग लगाएको थियो । उनीविरूद्ध अदालतमा ठगी मुद्दा समेत दायर भएकोले ठगी गरी कमाएको सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाइएको थियो ।
अदालतले विभागको माग बमोजिम बिगोको दोब्बर जरिवाना हुने फैसला गरेको हो । सामाजिक संस्थाको हैसियतमा खुलेको कलेजलाई ठगेर सम्पत्ति जोडेको भन्दै विभागले न्यौपानेसहित ६ जना पूर्वसञ्चालकविरूद्ध मुद्दा दायर गरेको थियो । तर, अन्य ६ जनाले भने सफाइ पाएका छन् ।
संगठित रूपमा कलेजको रकम हिनामिना गरी सिद्धार्थ बैंकमा छुट्टै खाता खोलेर अन्य बैंकबाट कलेजको रकम सारी खाता र खर्चको अभिलेख नराखी झन्डै ८ करोड रकम हिनामिना गरेको उजुरीका आधारमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेको थियो । प्राप्त उजुरीमाथि दुई वर्षसम्म अनुसन्धान गरेर विभागले मुद्दा दायर गरेको थियो ।
मुद्दामा विभागले पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई १२ करोड ४४ लाख १२ हजार ७५५, पूर्वसञ्चालक समितिका सदस्यहरू रामरत्न उपाध्यायलाई १ करोड २५ लाख ३८ हजार ६२, उपेन्द्र गौतमलाई २ करोड २९ लाख ६७ हजार २११ गैरकानुनी रुपमा कमाएको अभियोग लगाएको थियो ।
यस्तै, लबराज भट्टराईलाई २ करोड ७९ लाख ५५ हजार ६ सय, हरिप्रसाद पाण्डेलाई २ करोड ४३ लाख ४९ हजार २०७, सूर्यबहादुर केसीलाई २ करोड ३४ लाख २१ हजार ५ सय र दीपकप्रसाद भट्टराईलाई ३६ लाख ५९ हजार रुपैयाँको सम्पत्ति शुद्धीकरण गरिएको अभियोग लगाएको थियो ।
न्यौपानेलाई दोषी ठहर गर्दै अदालतले बाँकीलाई सफाइ दिएको छ ।
विभागले २०७८ माघ २७ गते दायर गरेको मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको इजलासले गत चैत २५ गते न्यौपानेलाई दोषी ठहर गरेको हो । तर, सजाय तोकिएको थिएन । त्यसपछि आइतबारका लागि पेसी तोकिएको थियो ।
आइतबार विशेष अदालतका अध्यक्ष न्यायाधीश कुवँर र सदस्य न्यायाधीश थापाको इजलासले तीन वर्ष कैद र २५ करोड ६९ लाख ७५ हजार जरिवाना फैसला सुनाएको हो । इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेको स्वास्थ्य, आर्थिक अवस्था, पारिवारिक अवस्था र कसुर हेरेर सजाय तोकिएको अदालतले फैसलामा लेखेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies