छबि सापकोटा/मध्यान्ह
काठमाडौं : आइतबारबाट शुरु भएको तेस्रो लगानी सम्मेलनमा सरकार र राजनीतिक दलका शिर्ष नेताहरुले नेपालमा लगानीको वातावरण तयार गर्नको लागि ऐक्यबद्धता व्यक्त गरेका छन । नेपालमा वैदेशिक लगानी भित्र्याएर मुलुकको समृद्धिको आधार तय गर्न सरकारको नेतृत्व र राजनीतिक व्यक्तिहरुले साझा राजनीतिक प्रतिबद्धता व्यक्त गरेका छन ।
लगानी सम्मेलनलाई सम्बोधन गर्दै सरकार र विभिन्न विषयमा राजनीतिक उतारचढाव हुने गरेपनि आर्थिक समृद्धि र विकासका लागि लगानीकर्तालाई प्रोत्साहन र सुरक्षा दिन सरकार र विपक्षी दल एक भएको सन्देश लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनमा लगानीकर्ताको उत्साहजनक सहभागिताले नयाँ विश्वासको वातावरण बनेको बताए । ‘हामीले जति वातावरण बनाउन सक्यौँ, त्यति लगानी आउने हुन्छ, आजदेखि नयाँ विश्वासको वातावरण बनेको छ’, प्रधानमन्त्री दाहालले भने । उनले नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको र यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवर्द्धन गर्ने समेत बताए । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताए ।
‘लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको छ’, देउवाले भने, ‘नेपाल अझै पनि कम विकसित मुलुकमा पर्छ । अर्थमन्त्री वर्षमान पुनले नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्न कानुनी सुधारका क्षेत्रमा हालै गरिएका प्रयासबारे अवगत गराउँदै लगानीका लागि तयार भएका परियोजनासहित विभिन्न क्षेत्रका आयोजनाको विस्तृत प्रदर्शनी गर्नु सम्मेलनको उद्देश्य रहेको बताए ।
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालका राजनीतिक दलहरु गठबन्धनका हिसाबले फेरबदल हुदाँ समस्या देखिएको भएपनि लगानीसम्बन्धी कानून र नीतिहरु हेरफेर एक भएको सन्देश सम्मेलनले दिएको छ । डा खतिवडाले भने, ‘गत लगानी सम्मेलनका निष्कर्षहरुलाई कोभिड १९ को महामारी र सरकार परिवर्तनका कारण प्रभावकारीरुपमा अगाडि बढाउन सकेका थिएनौँ, अहिले यति ठूलो सहभागितामा तेस्रो लगानी सम्मेलन भएको छ, पक्कै केही न केही परिणाम आउँछ भन्ने आशा लागेको छ ।’
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण बन्दै गएको बताए । सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर सँगसँगै काम गर्न सकेन हामीले छोटो समयमै समृद्धि हासिल गर्न सक्छौ अग्रवालले नेपालमा लगानीका लागि पर्याप्त सम्भावना रहेकाले विदेशी लगानीकर्तालाई अवसरको बारेमा जानकारी दिदै पर्छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई आग्रह गरे ।
ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानीको सम्भावना रहेको र नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने भनाइ राखेका थिए । अध्यक्ष ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र चीन र भारतकाबीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने उल्लेख गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले पनि सम्मेलनमा आफ्नो धारणा राख्दै लगानी सम्मेलनमा विभिन्न देशका लगानीकर्ताको उपस्थितिले नेपालको आर्थिक रुपान्तरणका लागि लगानीको वातावरण बन्दै गएको बताए ।
निजी क्षेत्रबीच दुई वटा सम्झौता
तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आइतबार दुई वटा सम्झौता भएका छन् ।
सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र नेशनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले हस्ताक्षर गरे । त्यसैगरी डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका दुई व्यावसायिक समूहबीच सम्झौता भएको छ । डाटा सेन्टर स्थापनाका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो । बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies