अप्रत्यासित मत पाएर राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई धक्का लाग्नेगरी उपचुनावको प्रारम्भिक नतिजा आइरहेको छ । बझाङ (क) को प्रदेशसभा उपचुनावमा भाग नलिए पनि इलाम–२ को प्रतिनिधिसभा सदस्यको उपचुनावलाई रास्वपाले प्रतिष्ठाकै विषय बनाएको थियो । तर आइतबार मध्यरातसम्मको मत परिणाम हेर्दा रास्वपाले अपेक्षित मत पाउन सकेन । शहरी क्षेत्र गणना हुन बाँकी रहेकाले रास्वपाका नेताहरुले अझै संभावना रहेको बताइरहेका छन् । तर शहरी क्षेत्रमा रास्वपाले मत पाउने बलियो आधार छैन । त्यसैले रास्वपाले अपेक्षित नपाउने संभावना बढी छ । यो उपचुनावमा रास्वपाका उम्मेद्वार मिलन लिम्बु पराजित भए त्यसको राष्ट्रिय सन्देश रास्वपाका निम्ति सुखद् हुनेछैन । किनकि सभापति लामिछानेको आकर्षणलाई देखाएर यो पार्टी विस्तार हुन खोजिरहेको छ ।
जबकी उपप्रधान एवं गृहमन्त्री रहेका सभापति लामिछाने लगातार विवादमा पर्दै आएका छन् । लामिछानेले पदबाट राजीनामा गर्नुपर्ने माग राखेर नेपाली कांग्रेसले संसद् अवरोध गरिरहेको छ । सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा लामिछानेमाथि छानबीनको माग कांग्रेसले गरिरहेको छ । लामिछाने विवादित हुने गरेको यो पहिलो घटना होइन । उनी लगातार विवादमा पर्ने गरेका छन् । यसअघि नागरिकता परित्याग र राहदानी दुरुपयोगको मुद्दा लामिछानेले खेपिरहेका थिए । त्यसअघि टेलिभिजन प्रस्तोता हुँदा आफ्नै सहकर्मीको आत्महत्या दुरुत्साहनको मुद्दा लामिछानेले खेप्नु परेको थियो । तर राजनीतिमा होमिए लगत्तै अप्रत्यासित मत पाएकाले आफूमाथि लागेको आरोपबाट उनी पञ्छिदै आएका छन् ।
उल्टै हङ पार्लियमेन्टको लाभ उठाएर दोहो¥याएरै गृह मन्त्रालयको नेतृत्व गर्न सफल छन् । आफूमाथि लाग्ने हरेक आरोपलाई जनमत देखाएर लामिछाने पञ्छने गरेका छन् । तर जनमतले पनि उनलाई साथ दिदै आएको थियो । गत वर्ष वैशाखमा सम्पन्न उपचुनावमा चितवनबाट लामिछाने दोहोरिएर जित्दा तनहुँबाट स्वर्णीम वाग्ले विजयी भएका थिए । तर पार्टीको सम्पूर्ण शक्ति खर्च गर्दा पनि इलामको प्रारम्भिक नतिजाले रास्वपालाई उत्साहित बनाउन सकेको छैन । यसले जनताबाट अपार साथ रहेको लामिछानेको तर्कलाई खण्डित बनाउने संभावना छ । त्यसैपनि लामिछानेले आफूमाथि लागेको आरोपमा कानुनी विधिबाट सच्चिनु आवश्यक थियो । अब पनि लामिछानेले संविधानको पालना गरेरै राजनीतिमा रहन आवश्यक छ । यति ठूलो संख्याका सहकारी पीडितले न्यायिक आन्दोलन चलाइरहेका बेला कांग्रेसले समेत उठाएको एजेण्डामा लामिछानेले आवश्यक निर्णय लिन आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies