राजेश जीसी/मध्यान्ह
प्यूठान : प्यूठानमा आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । प्यूठानका विभिन्न वनमा आगो लगाएको आरोपमा उननीहरुलाई पक्राउ गरिएको हो । डिभिजन वन कार्यालय प्यूठानका अनुसार आगलागीमा संलग्न ३ जनालाई पक्राउ गरी जिल्ला अदालत प्यूठानमा मुद्दा दर्ता गरिएको छ भने एक जनालाई अनुसन्धानका लागि हिरासतमा पठाइएको छ ।
वन कार्यालय प्यूठानका सहायक वन अधिकृत हरी पौडेलका अनुसार सरुमारानी-४ बाट एक जना, प्यूठान नगरपालिका-४ बाट एक जना र ऐरावती-५ बाट एक जनालाई पक्राउ गरी मुद्धा दर्ता गरीएको छ । यस्तै प्यूठान नगरपालिका-१० बाट एक जनालाई पक्राउ गरी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
कार्यालयका अनुसार पछिल्ला केही दिनमै जिल्लाभर १० हजार हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । वन कार्यालयका अनुसार ७९ सामुदायिक वनमा आगलागी भएको हो । एउटा सामुदायिक वनले आगलागीमा संलग्न रहेको भन्दै एक जना स्थानीयलाई ६५ हजार जरिवानासमेत तिराएको छ । वन कार्यालयले आगलागीको सुराकी दिने व्यक्तिको नाम गोप्य राखी उचित पुरस्कारको समेत व्यवस्था गरेको जनाएको छ ।
आगलागी हुन नदिनको लागि कार्यालयले विभिन्न स्थानमा सुराकी परिचालन, प्रचार प्रसार, पालिकास्तरमा आगलागीसम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै आएको अधिकृत पौडेलले बताए । चैतयता वैशाख १६ गतेसम्म जिल्लाभरमा जम्मा ९५ वटा आगलागीका घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । आगलागीबाट ९५ घर तथा ५० गोठ जलेका छन् । यसबाट ७९ पाशुचौपायाको जलेर मृत्यु भएको छ भने १ सय ११ घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी ईश्वर थापाले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies