सपना बोहरा/मध्यान्ह
दाङ : राप्ती नदीले खेतीयोग्य जमिनलाई बगर बनाएपछि प्रभावित क्षेत्रका किसान खरबुजा खेतीतर्फ लागेका छन् । बगरमा खरबुजा फलाउन थालेपछि किसानले राम्रो आम्दानी गर्दै आएका छन् । वर्षाको समयमा राप्ती नदीले प्रभाव पार्ने त्यस क्षेत्रमा खरबुजा खेतीतर्फ लागेका हुन् ।
वर्षेनी बाढीले सयौं बिगहा जमिन बगर बनाउने गरेको छ । बगर हुनबाट जोगिएको जमिनमा किसानहरुले एक सिजन भएपनि खरबुजा खेती गरेका छन् ।
राप्ती नदीले खेतलाई बगर बनाएको जमिनमा खरबुजा फलाएर राप्ती नदीकै पुलको किनारमा लस्करै बेच्ने गर्छन् । धेरैजसो खरबुजा त दाङकै शहर र जिल्ला बाहिर पनि बेच्ने गरेको किसान बताउँछन् ।
‘खेतलाई राप्ती नदीले बगर बनाइ दियो’ देउखुरीकी फुल माया चौधरीले भनिन्, ‘एक सिजन भएपनि खरबुजा लगाउँछौं ।’
माघ महिनामा खरबुजाको बेर्ना लगाएपनि चैत महिनाबाट खानयोग्य हुन्छ । खरबुजाको पहिलो सिजनमा प्रतिकिलो एक सय रुपैयाँमा समेत बेच्ने गरेको उनले बताइन् । ‘हिजोआज प्रतिकिलो पचास रुपैयाँमा बेच्ने गरेका छौं’ चौधरीले भनिन्, ‘खरबुजा किन्न आउनेको सधैँ भिड लाग्ने गर्छ ।’
राप्ती नदीको पुलमा बिहानैदेखि लक्सरै खरबुजाका व्यापार हुन्छ । बगर भनेर पहिले बाँझो हुन्थ्यो । देउखरीकी माया चौधरीले भनिन्, ‘बगरमा खरबुजा राम्रो फल्दो रहेछ ।’ पछिल्लो पाँच वर्ष यता खरबुजा लगाउँदै आएको उनले बताइन् । करिब १० कट्ठा बगरमा खरबुजा खेती गरेको उनको भनाइ छ । बाह्र किलोसम्म खरबुजा फलाउने गरेको उनले बताइन् ।
अत्यधिक गर्मी सिजन बढेसँगै खरबुजाको माग पनि बढ्दै गएको छ । दाङको देउखुरी क्षेत्रमा उत्पादन भएको खरबुजा अहिले बजारमा छ्यापछ्याप्ती छ । जसबाट उत्पादन र आम्दानी बढेको छ । गर्मी सिजनमा खरबुजा सबैको रोजाइमा परेको छ ।
बगरमा खुरबुजा लगाएपछि राम्रो आम्दानी भएको देउखुरी बनगाँउका महेश चौधरीले बताए । ‘नदीले खेतलाई बगर बनाएको छ, के लगाउन सकिन्छ भन्ने चिन्ता हुन्थ्यो’ उनले भने ‘पाँच वर्ष पहिले खरबुजाको बिउ ल्याएर परीक्षणको रुपमा लगाए, राम्रो उत्पादन भयो । माग पनि बढ्दै गयो ।’
त्यसयता १२ कट्ठामा खरबुजा लगाउँदै आएको उनले बताए । खरबुजा लगाएर बगरको सदुपयोग भएको र राम्रो आम्दानी भएको उनको भनाइ छ ।
लमही नगरपालिकाका बनगाँउ, सेम्रहवा, बलरामपुर गाउँमा खरबुजा खेती गर्ने गरेका छन् । पछिल्लो समय बगरमा खरबुजासँगै बेमौसमी तरकारी खेती पनि गर्न थालेका छन् । राप्ती नदीले कटान गरेको क्षेत्रमा गरिएको तटबन्धले गर्दा पनि किसानहरुलाई सहज भएको छ । बगर हुनबाट जोगिएको जमिनमा यहाँका किसानहरुले बेमौसमी तरकारी खेती गर्न थालेको छन् । बगरमा करेला, लौका, बोडि, भिण्डी लगायतका बेमौसमी तरकारी खेती गरेका छन् । गर्मी मौसम शुरु भइसकेसँगै खरबुजाको माग बढ्दै गएको छ । खरबुजा स्वादिष्ट र पानीले भरपूर भएकाले यसको सेवनले शरीरलाई गर्मीबाट जोगाउँछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies