ओबराज शाही/मध्यान्ह
हुम्ला : ताक्लाकोट काम गर्न गएका हुम्लीले काम नपाउँदा घर फर्किन थालेका छन् । जिल्लासँग जोडिएको हिल्सा नाका खुले लगत्तै ठूलो संख्यामा हुम्लीबासी तालक्लाकोटको पुराङ काउन्ट्री कामको खोजीमा जाने गर्दछन् । तर यस पटक काम नपाउँदा खाली हात फर्किनु परेको सिमकोट ७ का राम राज शाहीले बताए ।
स्थानीय शाही आफ्नो देशमा बेरोजगार युवा, युवतीलाई कुनै रोजगारको सिर्जना नहुँदा बाध्य भएर विदेशीभूमि गएपनि काम नपाउँदा खाली हात घर फर्किनु परेको दुःख सुनाए ।
वैशाख ३ गते चीनको पुराङ गएका बुद्धिराम शाहीले भने,‘ताक्लाकोटमा हुम्लीबासीले काम नपाउँदा बिजोक अवस्थामा पुगेका छन् । दिनभर कामको खोजीमा भौतारिनुपर्छ । काम पाइँदैन, काम भएपनि भाषा नबुझ्ने हुँदा काम खोज्न गाह्रो हुन्छ ।’
हिल्सा नाका गत वर्षको वैशाख महिना खुलेको भएपनि यो वर्ष गत वर्षभन्दा तेब्बर हुम्लीबासी कामको खोजीमा ताक्लाकोट गएका छन् । वर्षको ६ महिना बर्खामा मात्र हुम्लीहरु कामको खोजीमा जाने गर्दै आएका छन् ।
हिउँदको ६ महिना बोटो बन्द हुन्छ । जेठ माहिनादेखि ताक्लाकोट बेरोजगार युवायुवती कामको खोजीमा जिल्लाका सात वटै स्थानीय तहबाट पाँच सय हाराहारी गएका छन् ।
हुम्लाबाट गएका अधिकांश युवायुवती काम नपाएर भौतारी रहेको खर्पुनाथ गाउँपालिका वडा नं. १ का धान्ने छल्याले बताए ।
उनले भने, ‘काम पाइँदैन् घरबाट खर्चको लागि ल्याएको पैसा खान बस्न पुग्दैन । खानाको नेपाली ६ सय ५० रुपैयाँ एक छाकको तिर्नुपर्छ ।’ बास बस्नको लागि कामदारलाई कोठा नदिने हँुदा ओडारमा बस्दै आएको कामदारहरुको भनाइ छ ।
गत वर्ष एक दिन काम गरेको ४ हजार नेपाली रुपैयाँ पाइन्थ्यो तर अहिले २ हजारमा पनि काम नपाइने सिमकोट ७ का रामलाल शाहीले बताए ।
गत वर्ष हुम्लीको चाप कम थियो काम पाइन्थ्यो । यो वर्षमा हिल्सा नाका खुलेको दुई महिनामै कामभन्दा ठूलो संख्यामा कामदार भएकाले काम नपाइएको उनले बताए ।
नेपालले हरेक जिल्लामा बेरोजगार भएका युवायुवतीलाई रोजगारको दायरामा नल्याउँदासम्म हरेक नेपालीले विदेशमा दुःख पाइने र विदेश जानै पर्ने बाध्यता रहेको देखिन्छ । ताक्लाकोट रोजगारको खोजी र व्यापार व्यवसाय गर्न जाने दैनिक पास बनाउने र नविकरण गर्नेको संख्या जिल्ला प्रशासनमा बढ्दै गएको कार्यालय स्रोतले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies