काठमाडौं : आइतबारदेखि शुरु भएको ‘नेपाल इन्भेष्टमेन्ट समीट २०२४’ सम्पन्न भएको छ । छ सय भन्दा धेरै विदेशी र एक हजार भन्दा धेरै लगानीकर्ताहरुको उपस्थितिमा दुई दिनसम्म विभिन्न १० वटा प्यानलमा छलफल र केही आयोजनामा द्विपक्षीय समझदारी सहित समीट सम्पन्न भएका हो ।
संख्यात्मक रुपमा सन् २०१७ र सन् २०१९ मा सम्पन्न भएका समीटको तुलनामा धेरै देशका प्रतिनिधिहरु सहभागी भएपनि लगानी सम्झौताको हिसाबले न्यून हुन पुगेको छ । सन् २०१७ को समीटमा मा २१ देशका २५७ विदेशी र पाँच सय जना स्वदेशी लगानीकर्ताको सहभागिता रहेको थियो । सो समीटमा लगानीकर्ताहरुले १३ खर्ब ७४ अर्ब बराबरको लगानी प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै, सन् २०१९ को समीटमा ४० देशका सात सय ३५ जना विदेशी र छ सय जना स्वदेशी लगानीकर्ताहरु सहभागी भएका थिए । सो सम्मेलनमा लगानीकर्ताहरुले १५ खर्ब बढी लगानी प्रतिबद्धता जनाएका थिए भने १६ वटा विभिन्न आयोजना तथा कार्यक्रममा समझदारी भएको थियो ।
अहिले सम्पन्न भएको समीटमा संख्यात्मक हिसाबले धेरै देशका प्रतिनिधिहरु सहभागी भएपनि निजी क्षेत्रका जम्मा आठ वटा विभिन्न आयोजना तथा कार्यक्रममा मात्रै समझदारी भएको छ । सरकारले समीटमा प्रस्तुत गरेको एक सय २२ वटा आयोजनामा भने समीट अवधिसम्म कुनै समझदारी हुन सकेन ।
यी आठ विषयमा भए समझदारी
तेस्रो लगानी सम्मेलनको दोस्रो (अन्तिम) दिन साँझसम्म निजी क्षेत्रले विदेशी साझेदारहरुसँग आठ वटा समझदारी गरेका छन् । सम्मेलनको पहिलो दिन दुईवटा र दोस्रो दिन ६ गरी ८ वटा समझदारी गरिएका हुन् ।
सम्मेलनको पहिलो दिन बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डाटा सेन्टर स्थापना गर्न समझदारी भएको थियो । सो समझदारीमा बीएलसी ग्रपकी निर्देशक मेगा चौधरी र योटा डाटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरे । डाटा सेन्टरको लागत करिब तीन अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
आइतबार नै नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच लगानी प्रवद्र्धन गर्ने विषयमा समझदारी भएको थियो । सो समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाली उद्योग वाणिज्य महासंघका अध्यक्ष टन सी डाटो सोटियानले हस्ताक्षर गरेका छन् ।
कपिलवस्तुको गोरुसिंगेमा २२ बिगाहा जग्गामा दुई अर्ब रुपैयाँ लागतमा रिसोर्ट निर्माण गर्ने विषयमा साखः एन्ड कम्पनी र हङकङको अनफरमन ग्रुपबीच समझदारी भएको छ । समझदारीमा साखः कम्पनीका अध्यक्ष किरण साख र अनफरमन ग्रुपकी अध्यक्ष ली पिङले हस्ताक्षर गरे ।
मुगुको छायानाथ नगरपालिकास्थित मुर्माटपमा एक अर्ब १० करोड रुपैयाँ लगानी गरी ८० रोपनी क्षेत्रफलमा लक्जरी रिसोर्ट निर्माण गर्ने विषयमा सोमबार सम्झौता भएको छ । अष्ट्रेलियाको एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल तथा सञ्जीव शर्मा र रारा होल्डिङ्स प्रालिको तर्फबाट अभिषेकविक्रम शाहले सो विषयमा हस्ताक्षर गरेका हुन् ।
नेपालमा नै विद्युतीय गाडी उत्पादन गर्नेगरी चीनको सिमेन गोल्ड ड्रागन अटोबडीले कोशी एनके मोटर्ससँग समझदारी गरेको छ । सिमेन गोल्ड ड्रागनले ३ अर्ब रुपैयाँ बराबर लगानी गरी वार्षिक पाँच हजार गाडी उत्पादन गर्ने लक्ष्यसाथ समझदारी भएको हो ।
सोमबार नै नेक्सन म्यानेजमेन्ट सोलुसन प्रालि र एमएबीसी इन्भेस्टमेन्ट ग्रुप प्रालि कोरियाको बीचमा समझदारी भयो । नेपालमा लगानी भित्र्याउन भन्दै भएको सो समझदारीमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट शिवराज दवाडी र एमएबीसी इन्भेष्टमेन्टका तर्फबाट कम्पनीका अध्यक्ष जियोन योंग ली ले हस्ताक्षर गरेका छन् ।
नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) प्रवद्र्धन गर्ने विषयमा वल्र्ड एशोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एशोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिनर्स (नाप)का बीच पनि सहकार्यसम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा नापका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्याय र वापका तर्फबाट अध्यक्ष जियाद अलेक्ज्यान्डर हायकले हस्ताक्षर गरेका हुन् ।
त्यस्तै सोमबार समीटकै क्रममा व्यापार सहजीकरण र पर्यटन क्षेत्रमा लगानी गर्ने सम्बन्धमा नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधिमण्डलबीच समझदारी भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies