लालबाबु बानिया/मध्यान्ह
पर्सा : पर्साको धोबिनी र सखुवाप्रसौनी गाउँपालिकाका छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।
उक्त आगलागीबाट ४५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । धोबिनी गाउँपालिकाको वडा नं.५ जगरनाथपुर नवकाटोलामा सोमबार दिउँसो आगलागी हुँदा चार वटा घर जलेर नष्ट भएको छ । विद्युत सर्ट हुँदा रहमत देवान, सम्साद देवान, अमजत देवान, रजाक देवानको फुसको घर पूर्णरुपले जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लंगडीका सहायक हवलदार राम कुमार साहले जानकारी दिए ।
आगलागीमा घरभित्र रहेको फर्निचर, धान, चामल, गहुँ, दाल, भाँडाकुडा लत्ता कपडा, गरगहना लगायततका सामग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा अनुमानित २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र पोखरिया नगरपालिकाबाट आएको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
त्यसैगरी सखुवाप्रसौनी गाउँपालिका वडा नं.२ जमुनिया गाउँमा सोमबार राति आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट ९ खसी बाख्रा समेत मरेका छन् ।
आगलागीमा रफ मियाँ धुनिया, मनिफ मियाँको घरमा रहेको मोटरसाइकल, दुईवटा साइकल, फर्निचर, खाद्यान्न, लत्ता कपडा समेत जलेर नष्ट भएको छ । आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रनी रामराजा केशरीले जानकारी दिए ।
अग्नी पीडितहरुलाई नेपाल रेडक्रस सोसाइटीका मधेश प्रदेश कमिटीका उपकोषाध्यक्ष सलाउदिन अहमदले चार घरपरिवारलाई राहत वितरण गरेका छन् । साथै अग्नी पीडितहरुलाई धोबिनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहान, उपाध्यक्ष प्रतिनिधि श्याम किशोर पटेल, वडा अध्यक्ष मनाउर मियाँ र राजकिशोर पटेल लगायतको टोलीले खाद्यान, लत्ता कपडा, भाँडाकुँडा, वितरण गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies