वैशाख २६ देखि काठमाडौंको भृकुटिमण्डपमा १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुँदैछ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उदेश्यसहित शुरु हुन लागेको महोत्सवलाई ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने सन्देश दिन खोजिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा सञ्चालन हुने सो महोत्सवबाट लघु, घरेलु तथा साना उद्योगलाई के फाइदा हुन्छ ? प्रस्तुत छ, सोही महोत्सवको सन्दर्भमा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी ।
महोत्सवलाई यस पटक किन अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला भन्नु भएको छ ? यो मेलामा नयाँ के छ ?
हामीले बिगत लामो सयमदेखि साना तथा घरेलु उद्योगबाट उत्पादिन वस्तु बिक्री तथा प्रदर्शनी गर्दै आएका छौं । यस पटकको महोत्सवमा पनि यस्तै उत्पादनहरु हुनेछन् । अहिले देशभरका पालिकाहरुले आफ्नो एक उत्पादनलाई महोत्सवमा ल्याउनका लागि सहयोग समेत गर्ने भनेका छन । जसले गर्दा विगतको भन्दा यसपटक उद्योगी तथा व्यवसायीको सहभागिता धेरै नै हुने छ । महोत्सवमा नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी र बीटुजी जस्ता अन्तरक्रिया, छलफल तथा कार्यक्रम समेत गर्ने तयारी छ । यस पटक नेपाल सरकार, स्थानीय तहको सहयोगमा स्थानीय तहका उत्पादन भएको बस्तुलाई अन्तर्राष्ट्रिय बजारको पहुँच पुर्याउनका लागि समेत प्रयास गरेका छौं । महोत्सवमा भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक र टर्कीको सहभागिता रहने छ । साथै, राजधानीमा प्रदर्शनी गर्दा अन्तर्राष्ट्रिय बजारमा वस्तु निर्यात गर्नेका उद्यमीका लागि यो मेला उपयुक्त गन्तव्य हुनसक्ने हामीले मानेका छौं ।
पछिल्लो समयमा साना तथा घरेलु उद्योगहरु आर्थिक मन्दीले समस्यामा छन् । मेलाले उद्यामीलाई सहयोग पुग्ला त ?
हामी लामो समयदेखि आर्थिक मन्दीको पीडामा छौं । सधै निराश भएर बस्ने हो भने उद्यम गर्न सकिँदैन । अर्थतन्त्र विस्तारै चलायमान हुँदैछ । बजारमा विस्तारै चहलपहल बढ्दै छ । तर आर्थिक मन्दीको प्रभाव अझै नहटेको कारण बैंकहरुमा पैसा थुप्रिएर बसेको छ । बैंकहरुले साना तथा घरेलु उद्योगलाई सहज रुपमा ऋण र ब्याजको प्रवाह मिलाउन नसक्दा समेत नेपालको परम्परागत उद्योगहरु माथि उठ्न सकेका छैनन् । साना उद्यमीलाई सहयोग गर्ने कोही पनि छैन । साना उद्योगीहरुले आफनो उत्पादन क्षमता बढाउन सकेका छैनन् । उत्पादन गरेको वस्तुको पनि बिक्री कम भैरहेको छ । गाउँमा उत्पादन गरेको वस्तु बिक्री कम छ । समस्या पनि धेरै छन् । यस पटक हामीले गाउँका उत्पादनलाई सहरसम्म पुर्याउने, सहरबाट विदेशसम्म पुर्याउने सम्पर्कको रुपमा यस महोत्वसलाई लिएका छौं, जसले गर्दा अवश्यपनि उद्यमीहरुलाई लाभ हुन्छ ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको आकषर्ण कस्तो छ ?
अन्तर्राष्ट्रिय बजारमा हाम्रो उत्पादन जहाँ पुगेको छ त्यहाँ राम्रो माग समेत छ । कतिपय मागलाई हामीले पुर्याउन समेत सकेका छैनौं । अहिले उद्योगको उत्पादन ३० प्रतिशत समेत हुन सकिरहेको अवस्था छैन । सत प्रतिशत उद्योगको क्षमता हुँदाहुँदै पनि आर्थिक कारणले उद्योगी व्यवसायीले काम गर्न सकेका छैनौं । उत्पादन वृद्धि गर्ने वातावरण बन्न सकेको छैन । लगानी सम्मेलन जुन उद्देश्यको साथ आयोजना गरिएको थियो त्यसको फल प्राप्त गर्न सकिएन जस्तो लाग्छ । अहिले अध्यादेशमार्फत् ८ वटा कानून परिर्वतन गरेका छौं तर, लगानी सम्मेलनबाट विदेशीको मन जित्न सकेनौं ।
साना तथा घरेलु उद्योगमा वैदेशिक ठूला लगानी आउँदा समस्या हुन्छ भन्ने चिन्ता हुँदाहुँदै पनि लगानी गर्ने वातावरणमै हामीले जोड दिएका थियौं । विदेशी र स्वदेशी लगानीकर्ताबीच एक अर्कासँग समन्वय गरेर अगाडि बढ्नका लागि सरकारले समेत भूमिका निर्वाह गर्न आवश्यक छ । मेला महोत्सवले वस्तुलाई बजारमा ल्याउने र आर्थिक चलायमान हुने अपेक्षा गर्न सकिन्छ । बजारको चक्रलाई व्यवस्थित गर्नका लागि यस्ता मेला महोत्सवले सहयोग पुर्याउँछ । अन्तर्राष्ट्रिय बजारमा नेपाली घरेलु उत्पादन फरक प्रकारका देखिन्छन् । विदेशी उपभोक्ताहरुमा नेपाली उत्पादन प्रतिको आकर्षणपनि राम्रो देखिएको छ । नेपाली उत्पादनलाई थप ब्राण्डिङ गर्ने हो भने अन्तर्राष्ट्रिय बजारमा हाम्रो वस्तुलाई सहजै बिक्री वितरण गर्न गाह्रो छैन ।
अन्त्यमा, मेला महोत्सव सधैँ प्रदर्शनीमार्गमा नै हुने गरेको छ । यस स्थानमा महोत्सव गर्नका लागि कत्तिको सहज छ ?
सहज छैन । कुनै पनि मेला महोत्सवको लागि स्थानको अभाव त छँदैछ, मेला गर्नका लागि निकै समय प्रतिक्षा गर्नुपर्ने अवस्था पनि छ । यहाँ अहिले हरेक दिन केही न केहीको मेला, महोत्सव, एक्स्पो चलिरहेको हुन्छ । एक दिन समय थप गर्न समेत मुस्किल छ । हामीले पनि यस पटक आमाको मुख हेर्ने दिन औँसीको दिन मेला शुरु गर्नुपरेको छ । यो मात्रै नभएर महोत्सव गर्नका लागि समय पाउन निकै समय लाग्यो । भृकुटिमण्डप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीको लागि एक मात्र निर्विकल्प स्थान बनेको छ । हामीले माघदेखि प्रयास गर्दा बैशाखको अन्त्यमा बल्ल स्थान प्राप्त गर्न सकेका हौं । स्थान एउटा छ तर, मेला गर्ने ५० भन्दा बढी संस्था छन । त्यसैले गर्दा प्रदर्शनीको लागि अर्काे विकल्प आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies