काठमाडौं : मधेश प्रदेशको मुख्य नगदेबाली उखु खेतीको प्रवर्द्धन, सो प्रति किसानहरुको आकर्षण वृद्धि तथा कृषि क्षेत्रको वृहत्तर विकासका लागि दी नेपाल डिस्टिलरिज प्रालिले नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलसँगको सहकार्यमा विशेष पहल शुरु गरेको छ ।
कम्पनीको आर्थिक व्यवस्थापन तथा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलको प्राविधिक सहयोगमा केही समयअघि धनुषामा उखु खेती प्रवर्द्धनका लागि सीमान्तकृत समुदायका कृषकहरुको सीप, क्षमता तथा आय अभिवृद्धिसम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम आयोजना भयो । धनुषाको नक्टाझिजस्थित कृषि विकास निर्देशनालय र कृषि व्यवसाय प्रवर्द्धनको सहयोग तथा तालिम केन्द्रमा सिरहा, सप्तरी, महोत्तरी र धनुषा जिल्लाका अगुवा किसानहरुलाई उखु खेती प्रवर्द्धनका लागि सीपमूलक तथा आय अभिवृद्धि अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा आयोजक द नेपाल डिस्टिलरिजका प्रमुख प्रशासकीय अधिकृत जनकराज रेग्मीले उखुबाट चिनी उत्पादन मात्र नभई यसका बहुआयामिक गुणबारे किसानहरुलाई एकै ठाउँमा राखेर बुझाइएको र खेतीको विस्तार, प्रवर्द्धन एवम् संरक्षण गर्न आफूहरुले सो कार्यक्रम गरेको बताए । त्यस्तै, मधेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले उखु किसानले वर्षौदेखि समयमा भुक्तानी नपाउने, मल नपाउने, बीउ नपाउनेलगायत भोगिरहेका समस्याको सम्बोधन गर्ने तथा उखु खेतीको विकास गर्न मधेशका आठवटै जिल्लालाई समेट्ने गरी प्रदेश उखु विकास बोर्ड गठनका लागि गृहकार्य भइरहेको जानकारी दिए ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले उखु किसानहरुको समग्र माग र आवश्यकतालाई सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मधेश प्रदेशका हरेक नगरपालिकामा कृषि ज्ञान केन्द्र स्थापना गरी कृषि क्षेत्रको विकास गरिने बताए । कार्यक्रममा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलका प्रबन्ध निर्देशक डा. विमलकुमार निर्मलले मधेश प्रदेशको उखु खेतीको अवस्था, समस्या र सम्भावना बारे प्रस्तुतीकरण दिएका थिए । उनले नेपालमा उखु उत्पादनमा उच्च प्रतिफलको सम्भावना रहेको तथा गुँड, खुदो, चिनी आदिमात्र नभई उखु पेलेर बाँकी रहेको भागबाट स्पिरिट लगायतका पेय पद्धार्थ बनाउन सकिने प्रष्ट्याए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies