इसत्याक अहमद/मध्यान्ह
काठमाडौं : साउदी दूतावासको आयोजनामा आयोजित कुरान पाठ प्रतियोगितामा उत्कृष्ट १७ जनालाई पुरस्कृत गरिएको छ । गत रमजान महिनामा काठमाडौंस्थित होटल मेरियटमा भएको कुरान पाठ प्रतियोगितामा उत्कृष्ट बालबालिकालाई सोल्टी होटलमा आयोजित एक कार्यक्रमकाबीच पुरस्कृत गरिएको हो ।
मुस्लिम आयोगका अध्यक्ष शमीम मियाँ अन्सारीले साउदी अरबको नेपालस्थित दूतावासले कुरान वाचन प्रतियोगिताको आयोजना गराइ दुई देशको धार्मिक कुटनीतिको सुत्रपात गरी द्वैत सम्बन्धलाई अझ उचाइमा पुर्याएको बताए । उनले यो कार्यक्रम आगामी वर्षहरूमा अझ व्यवस्थित र मर्यादित ढंगले आयोजना गराउन मुस्लिम आयोग गम्भीर रहेको बताए ।
पुरस्कार वितरण गर्दै नेपालका लागि साउदी अरबका राजदूत साद अबू हमीदले अल्लाहको वाणी कुरान पाठ गर्ने सबै प्रतिस्पर्धीहरूलाई बधाइ दिँदै यस शुरुवातले निरन्तरता पाउने बताए । उनले साउदी अरब र नेपालबीचको प्रगाढ दौत्य सम्बन्धलाई अझ मजबुत बनाउँदै लैजाने र सहयोगका दायराहरू बढाउँदै लैजाने बताए ।
कुरान पाठ प्रतियोगितामा पहिलो समूहमा प्रथम हुने अब्दुल अजिजले २ हजार ६ सय ६६ अमेरिकी डलर, दोस्रो हुने रहम तुल्लाहले १ हजार ३ सय ३३ डलर, तेस्रो हुने फजल रहमाने ८ सय डलर नगद पुरस्कार प्राप्त गरे । दोस्रो समूहमा प्रथम हुने मोहम्मद आमिर मियाँले १ हजार ६ सय डलर, दोस्रो हुने अजमल खानले ८ सय डलर, तेस्रो हुने मोहम्मद अन्जारुल हकले ७ सय डलर नगद पुरस्कार प्राप्त गरे । तेस्रो समूहमा प्रथम हुने मोहम्मद जमिलले ६ सय ५० डलर, दोस्रो हुने मोहम्मद ईसाले ५ सय डलर, तेस्रो हुने आदिल इमामले ४ सय डलर नगद पुरस्कार ग्रहण गरे । त्यस्तै चौथो समूहमा प्रथम हुने हजिफा मुसलमानले ५ सय डलर, दोस्रो हुने मोहम्मद आसिफ खानले ४ सय डलर र तेस्रो हुने नसिम मियाँले ३ सय ५० डलर नगद पुरस्कार पाए ।
कुरआन पाठ प्रतियोगितामा छात्रातर्फ प्रथम हुने आलिया खातुनले १ हजार २ सय डलर, दोस्रो हुने अदिबा कमालले १ हजार डलर, तेस्रो हुने साहिस्ता खातुनले ८ सय डलर र सान्त्वना स्वरुप बसिरा खातुन र आसिया खातुनले क्रमशः ५ सय र ३ सय डलर नगद पुरस्कार पाए ।
पुरस्कार पाउनेहरू विभिन्न जिल्लाका विभिन्न मद्रसाहरूमा अध्ययनरत् छात्रछात्राहरू हुन् । यी हिफ्ज विधाका विद्यार्थीहरू हुन् । संसारभर नै मद्रसाहरूले बालबालिकालाई पूरा कुरान कण्ठस्त पार्ने संकाय सञ्चालन गर्दछन् । नेपालमा पनि धेरैजसो मद्रसाहरूमा हिफ्जको पठनपाठन हुने गरेको छ ।
पुरस्कार वितरण समारोहमा राष्ट्रियसभाका सदस्य मौलाना खालिद सिद्दिकी, पूर्वमन्त्री तथा संविधान सभा सदस्य जाकिर हुसैन, संविधान सभा सदस्य कौसर शाह, मोख्तार आलम, पूर्व सांसद रुही नाजको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा यूएइ र कतारका राजदूतहरूको पनि उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies