सुनिल कार्की/मध्यान्ह
पाल्पा : नेपाली कांग्रेस पाल्पाले जनसरोकारका विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । पार्टीले दैवी विपत्ती, जंगलमा डढेलो, मानव बस्तीमा आगलागी, वातावरणीय प्रदुषण तथा विभिन्न संघसंस्थाबाट सर्वसाधारण नागरिकहरुले खेप्नु परेका समस्याहरुको समाधान गर्न प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेको ध्यानाकर्षण गराएको हो ।
विगत केही दिनदेखि पाल्पाका विभिन्न स्थानमा आगलागी, वनजंगलमा डढेलो, वातावरण प्रदुषण बढ्दै गएको र यातायातको भाडादरमा अपारदर्शिता, पशुचौंपायाको अवैध निकासी भएका विषयमा सोमबार जिल्ला सभापति हिमालदत्त श्रेष्ठको नेतृत्वमा गएको कांग्रेस नेताहरुको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर प्रजिअ काफ्लेको ध्यानाकर्षण गराएको हो ।
कांग्रेसले लामो खडेरी र प्रचण्ड गर्मीका कारण आगलागीका घटना बढ्दै जाँदा जनजीवन अस्तव्यस्त हुनुको साथै ठूलो भौतिक क्षति व्यहोर्नु परेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उसले जंगल र मानववस्तीमा सल्केको आगो नियन्त्रणबाहिर जाने अवस्थामा रहेकाले बेलैमा प्रभावकारी कदम नचालिए थप जनधनको क्षति हुनुको साथै पर्यावरणीय सन्तुलनमा समेत व्यापक असर पार्ने भएकाले त्यसतर्फ स्थानीय, प्रदेश, संघीय सरकार र राजनीतिक दलहरुसँग समन्वय गरी प्रकोप न्यूनीकरण र राहतका लागि यथाशीघ्र कदम चाल्न प्रजिअलाई आग्रह गरेको छ ।
कांग्रेसले देशभर सहकारी काण्डका घटनाहरु बाहिर आइरहेकाले पाल्पामा पनि त्यस्तो अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले आवश्यक समन्वय र अनुगमन गर्न माग गरेको छ । कांग्रेस जिल्ला सभापति श्रेष्ठद्वारा जारी ध्यानाकर्षण पत्रमा पाल्पा जिल्लामा सञ्चालित सहकारीको अवस्था के छ ?, बचत र ऋण परिचालन सहकारीको मापदण्डअनुसार भएको छ कि छैन ?, यस विषयमा कानूनको अधिनमा रही आवश्यक समन्वय र अनुगमनका निम्ति जोडदार माग गर्नुका साथै आमजनताले आफ्नो पसिना खर्च गरेर जम्मा गरेको बचत कुनै पनि अवस्थामा डुब्नु हुँदैन भन्ने मान्यतामा नेपाली कांग्रेस आडिग रहेको उल्लेख गरिएको छ ।
नागरिकको जीउधनको सुरक्षा राज्यको पहिलो प्राथमिकता रहेको र हुनुपर्ने कांग्रेस सभापति श्रेष्ठले बताए । उनले जनताका हरेक समस्यामा कांग्रेस पाल्पा सबैसँग हातेमालो गरेर हिँड्न तयार रहेको उल्लेख गरे । सभापति श्रेष्ठले भने, ‘लामो खडेरीका कारण कृषि उत्पादनमा पर्ने असर र यसले आमकृषकलाई पार्ने क्षति न्यूनीकरणका निम्ति आवश्यक समन्वयका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं ।’ विगत केही दिनदेखि कालीगण्डकी करिडोर भएर अवैध रुपमा पशुचौपाया निकासी भइरहेको भन्ने व्यापक जनगुनासो आइरहेको र सोही विषयलाई लिएर रामपुरमा झडपसमेत भएको विषयप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ । सो विषयमा सत्यतथ्य जनसमक्ष ल्याउन र आगामी दिनहरुमा त्यस्ता गतिविधि हुन नदिने व्यवस्था गर्न पनि कांग्रेस पाल्पाले जोडदार माग गरेको छ । उसले स्वास्थ्य बीमा सबै नेपालीको स्वास्थ्य उपचारसँग सम्बन्धित विषय भएकाले सबैसँग मिलेर स्वास्थ्य बीमा कार्यक्रम सहज र विरामीमैत्री बनाउन सम्बन्धित निकायसँग कांग्रेसले पहल गरेको पनि बताइएको छ । तर सेवा प्रदायक स्वास्थ संस्थाहरुबाट सहज सेवा प्राप्त भएन भन्ने जनगुनासो आएकाले यसप्रति पनि कांग्रेसको ध्यानाकर्षण भएको छ ।
उसले यस विषयमा सिफारिश प्रक्रिया झन्झटिलो भएकाले उक्त प्रक्रिया सरल र सहज बनाउन सम्बन्धित निकायमा तत्काल पहल गरिदिन समेत प्रजिअ काफ्लेसँग जोडदार माग गरेको छ ।
कांग्रेसले जिल्ला भित्रका विभिन्न ठाउँमा निर्माण र मर्मत सम्भारको काम भइरहेका ठाउँहरुमा खाल्डाखुल्डी धुलो आदिका कारणले यात्रु वर्गलाई असुविधा भइरहेकाले त्यसतर्फ पनि ध्यान दिन भनेको छ ।
उसले पाल्पामा सञ्चालित खानी, उद्योगहरु मापदण्डअनुसार नचलेको, नजिकमा मानववस्तीमा वातावरणीय असर पुगिरहको भन्ने जनगुनासोप्रति पनि आफ्नो ध्यान आकर्षण भएको जनाएको छ । तत्काल यसको व्यवस्थापनका लागि पनि कांग्रेसले माग गरेको छ । जिल्लामा रहेका सार्वजनिक जग्गा र यहाँ रहेका ऐतिहासिक, सांस्कृतिक पुरातात्विक, धार्मिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धनमा समेत ध्यान दिनुुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
प्रजिअ काफ्लेले ध्यानाकर्षण पत्र बुझ्दै कांग्रेसले ध्यानाकर्षण गराएका जनसरोकारका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले कांग्रेसले उठाएका केही विषयहरु सम्बोधन भइसकेको र केही सम्बोधनकै क्रममा रहेको उल्लेख गरे । प्रजिअ काफ्ले जनताका समस्याहरु समाधानमा स्थानीय, प्रदेश, संघीय सरकार राजनीतिक दलहरुसँग समन्वय भइरहेको बताए । कार्यक्रममा कांग्रेस जिल्ला सचिव सुनिता अधिकारीले ध्यानाकर्षण पत्र वाचन गरेर सुनाएकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies