लक्ष्मण यादव/मध्यान्ह
सर्लाही - हुलाकी राजमार्ग सडक खण्ड अन्तर्गत बरहथवा बजारमा लस्करै गाडी देखिन्छन् । यही ठाउँबाट बाहिर जाने यात्रु गाडी चढ्ने तथा बरहथवा भित्रिने यात्रु उर्लिने गर्छन् । यहाँबाट दर्जनौँ गाडीहरू जिल्ला बाहिर बाहिरिने तथा भित्रिने गर्छन् । तर, यो ठाउँ बस पार्क भने होइन । तर, सडकमा जथाभावी सवारी पाकिङ गर्दा सडक अस्तव्यस्त हुने गरेको छ ।
जिल्लाको प्रमुख व्यापारीक केन्द्रको रुपमा समेत रहेको बरहथवा बजारमा बसपार्क नभएको पनि होइन । संघीय सरकारको लगानीमा नगरपालिकाको वडा नम्बर ७ मा ६ वर्ष पहिले निर्माण भएको बसपार्क छ । बरहथवाका निवर्तमान मेयर देवानन्द महतोको पालामा निर्माण भएको बसपार्कलाई गत महिना बरहथवाकी तत्कालीन मेयर कल्पना कुमारी कटुवालले उद्घाटन गरेपनि बसपार्क विभिन्न कारणले पुर्णरुपमा प्रयोगमा भने आएको छैन । जहाँबाट सवारी साधन छुट्नु पर्ने हो त्यहाँबाट नछुटेपछि यात्रुहरूले समेत गाडी कुर्नको लागि सडकमै बस्नुपर्ने बाध्यता रहेको छ ।
जिल्लाको बलरा, रामनगर र बरहथवाबाट दैनिक रूपमा आवतजावत गर्ने सवारीसाधनहरू बरहथवा बजारको मुख्य सडकमा रोकिने गरेका छन् । सवारीसाधन मुख्य सडकमै पार्किङ गरिदा दुर्घटनाको जोखिम बढेको र बसपार्क निर्माण गर्दा लागेको सरकारी लगानीको दुरुपयोग भएको स्थानीय बताउँछन् । बरहथवा नगरपालिकाका उप(मेयर रामबाबु साहले बसपार्कलाई सञ्चालनमा ल्याउन खोजेपनि सफल हुन नसकेको दाबी गरे । यातायात व्यवसायीको मनोमानी र ट्राफिक प्रहरीको गैर जिम्मेवारी पनले उक्त समस्या देखिएको उनले बताए । बसपार्क सबैको पायक पर्ने स्थानमा नभएको र पहिले निर्माण गर्ने व्यक्तिहरूले उचित स्थानमा नबनाएका कारण सञ्चालनमा ल्याउन समस्या भइरहेको यातायात व्यवसायीहरूको भनाई छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख मदन थापाले नगरपालिकाले पार्किङ बोर्डको व्यवस्था गरी निश्चित पार्किङ क्षेत्र तोक्नु पर्ने र नगर प्रहरीको समेत सवारीसाधनलाई उचित स्थानमा पार्किङ गर्न लगाउने दायित्व रहेको बताए । उनले सवारी साधनको व्यवस्थापनका लागि नगर प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायत स्थानीयको पनि प्रभावकारी समन्वय हुनुपर्ने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies