काठमाडौं - सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ आज ब्रेक थ्रु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ ब्रेक थ्रु गर्न लागिएको हो । मंगलबार साँझै सिन्धुली पुगेका प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले आयोजना अवलोकन गरी बाँकी काम छिटो सम्पन्न गर्न निर्देशन पनि दिएका छन् ।
आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न सुरु गरिएको थियो । उक्त सुरुङ सुनकोशी गाउँपालिका ७ को सुनकोशी र तामाकोशी दोभानबाट करिब ९ सय मिटर तल पर्ने कानढुंग्री भन्ने स्थानसम्म छेडिने छ । सुरुङ खन्ने टनेल बोरिङ मेसिन टिबिएम मेसिन आज सुनकोसी नदी किनारको कानढुंग्रीबाट निस्किने छ । सुरुङको यो ब्रेक थ्रुलाई प्रत्यक्ष हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रीहरु, नेपालका लागि चिनियाँ राजदूत र उच्चपदस्थ कर्मचारी र स्थानीय जनप्रतिनिधिहरु सिन्धुलीमा भेला हुँदैछन् । योजना प्रमुख मित्र बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनाको सुरुङ २२ महिनाभित्र ब्रेक थ्रु गर्ने लक्ष्य राखिएको थियो तर ३ महिना २ दिनअघि नै सुरुङ ब्रेक थ्रु हुन लागेको हो ।
कुल १३.३ किलोमिटर लामो सुरुङ चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले खनेको थियो । सुनकोशीको पानी सुरुङमार्फत मरिण खोलामा खसालेर ३१ मेगावाट बिजुली उत्पादन पनि गरिनेछ । सोही पानीबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका कुल १ लाख २२ हजार हेक्टर जमिनमा बाह्रै महिना सिंचाइ सुविधा पुर्याउने सरकारको लक्ष्य छ । सुरुङमा पानी पठाउन सुनकोशी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाइको बाँध बनाउने काम जारी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies