दिलमाया शाही/मध्यान्ह
जुम्ला : पछिल्लो समय लोप हुँदै गएको मार्सीधान संरक्षणका लागि जुम्लाको पातारासी गाउँपालिकाले धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको छ । विश्वको सबैभन्दा उच्च स्थानमा मार्सीधान फल्ने उपमा पाएको छुमचौर ज्युलोमा कृषि विकास कार्यालय जुम्लाले धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको हो । उक्त क्षेत्र समुद्री सतहदेखि झण्डै २ हजार ८ सय ५० मिटर उचाइमा छ ।
महोत्सवका माध्यमबाट कालीमार्सी धानको महत्व उजागार गर्न र किसानलाई मार्सी फलाउन उत्प्रेरणा दिनका लागि महोत्सव आयोजना गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालक देवकोटाले बताए । उनले भने, 'बजारमा मार्सी चामलको महत्व बढेको छ । तर मार्सीधान उत्पादन गर्ने किसानको जोश जागर निकै कम छ । किसानलाई उर्जा दिन र बजारमा आएको माग पूरा गर्नका लागि किसानलाई जागरुक बनाउन धान दिवस तथा रोपाइँ महोत्सव गरिएको हो ।' सोहीअनुसार पातारासी गाउँपालिकाका स्थानीय किसानले संयुक्तरुपमा धान रोपेर महोत्सव मनाएका छन् ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले हरेक ठाउँको आफ्नो रीतिरिवाज र परम्परा हुने बताउँदै जुम्लामा भाषा, साहित्य र सभ्यतासँगै अर्गानिक रैथाने बाली उत्पादनका हिसाबले पनि सक्षम जिल्ला भएकाले यसलाई प्रथामिकतामा राख्न आवश्यक रहेको बताए ।
पातारासी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गोविन्द बहादुर रावतले मार्सीधान उत्पादन वृद्धि गर्न, खेती विस्तार गर्नका लागि वडामा प्रत्येक वर्ष एक पटक रोपाइँ महोत्सव हुँदै आएको जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies