छबि सापकोटा/मध्यान्ह
काठमाडौं : आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको अन्तिम चरणमा छ । आगामी बजेट आत्म विश्वास र आशा जगाउने बजेटको अपेक्षा सरोकारवाला निकायले गरेका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि–बजेट राउण्ड टेबल’ कार्यक्रममा अर्थमन्त्री पुनले बजेट निर्माण आगामी बजेट वित्तीय नीति र मौद्रिक नीति गरेर मनोबल उठाउने बजेटमै आफ्नो ध्यान रहेको बताए । ‘गत वर्षभन्दा परिस्थिति सुधारोन्मुख रहेको छ, निजी क्षेत्रको आत्मविश्वास उठाउने गरी बजेट केन्द्रित हुनेछ’, उनले भने ‘मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्छ, लगानी सम्मेलनमा सरकारले ८ वटा कानुन संसोधनले समेत लगानीमैत्री बतावरण बनाउने सरकार लागेको स्पष्ट हुन्छ ।’
आगामी बजेटले समेत औद्योगिक वातावरण बनाउने भूमिका खेल्ने उनले बताए । अर्थसचिव मधुकुमार मरासिनीले विगतदेखि नेपाल उस्तै समस्यामा रुमलिएको परिस्थितिले केही न केही उपचार गर्नेपर्ने आवश्यकता रहेको भन्दै अर्थ मन्त्रालय गम्भीर रहेको बताए । समस्याको पहिचान र त्यसको निदानमा आफ्नो ध्यान केन्द्रित रहेको भन्दै उनले शुरुमा समस्या थाहा पाउने र त्यसपछि ठोस उपचार खोजिने बताए । स्थानीय तहहरु शासन गर्ने अड्डा नभएर उत्पादनका क्षेत्र भएको भन्दै ती तहलाई जिम्मेवार बनाउन सके अर्थतन्त्रको आधारभूत तहबाटै समस्या समाधान हुन थाल्ने उनको भनाइ छ ।
रोजगारी दिने उद्योगलाई विशेष सुविधा दिनुपर्छ ः निजी क्षेत्र
नेपालमा रोजगारी सृजना गर्ने उद्योगहरुको अवस्था नाजुक हुँदै गएको भन्दै निजी क्षेत्रका उद्योगी व्यवसाय आगामी बजेटले सम्बोधन गर्न माग गरेका छन् । सुस्ताएको अर्थतन्त्रलाई माथि उकास्नुपर्ने र गुमेको आत्मविश्वास फिर्ता ल्याउनुपर्ने आवश्यकता रहेको निजी क्षेत्रको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ बजेटले निजी क्षेत्रका अपेक्षा पुरा गर्ने आश गरिएको बताए । अहिले बजारमा माग र आपूर्ति कम हुँदा हरेक क्षेत्र सुस्ताएको भन्दै उनले कम्तिमा एक सयजनालाई रोजगारी दिने उद्योगलाई विशेष सुविधा ल्याउनु पर्ने बताए । यस्तै आफ्नो काम देखाउन सरकारी एजेन्सीले निजी क्षेत्रलाई दुःख दिइरहेको उनको गुनासो छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रलाई सुधार गर्ने हो भने गुणस्तहीन आयातलाई रोक्नु पर्ने बताए । उनले अहिले नेपालमा उत्पादन भएको ११ सय ५० वस्तुले गुणस्तर चिन्ह लिएका तर, पाँच हजार भन्दा बढी सामग्री विना गुणस्तर मापदण्ड आयात भइरहेको बताए । आन्तरिक उत्पादन गर्ने उद्योगहरु धरासाही बनेकोले बजेटमा आन्तरिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।
त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आर्थिक शिथिलता अन्त्य गर्ने खालको बजेट आवश्यक रहेको बताए । निजी क्षेत्रको मनोबल माथी नउठेसम्म सरकार समेत सफल हुन नसक्ने भन्दै विगतमा लिइएका गलत नीति सच्याउनु पर्ने धारणा उनको छ ।
कार्यक्रममा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरुमा खराब कर्जा बढेको र नाफा घट्दै गर्दा बैकिङ क्षेत्र समेत संकटकै बाटोमा जान लागेको बताए । बैंकमा लगानीयोग्य रकम थुप्रिने तर, अर्थतन्त्र चलायमान नहुने अवस्थाले लगानीकर्तामा आत्मबल बढ्दा समस्या भएको बताए । बैंक तथा वित्तीय संस्था परिसंघ(सीबीफिन)का अध्यक्ष उपेन्द्र पौडेलले अहिलेका विद्यार्थीले मुलुकभित्र सम्भावना नदेखिरहेको अवस्थामा सरकारले उनीहरुलाई लक्षित गरी बजेट बनाउनु पर्ने सुझाव दिए । युवाले भविष्य नदेखेसम्म बैंकले समेत लगानी सुरक्षित भएको महसुस नगर्ने उनको भनाइ छ ।
नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करणकुमार चौधरीले अहिले विद्युतीय सवारी र अन्य सवारी साधनमा दोहोरो बुझाइ रहेको भन्दै समग्रमा अटोमोबाइल क्षेत्र नै समस्यामा रहेको बताए । उनले अटोमोकानिकका जनशक्ति पलायनको ठूलो समस्या रहेको भन्दै जनशक्ति रोक्ने खालको नीति आवश्यक रहेको बताएका छन् ।
अर्थविद् प्राडा अच्युत वाग्लेले राजनीतिक क्रान्ति गरेर आएका अर्थमन्त्रीले राज्य संयन्त्रमा रहेका समस्या हटाउन ठूलो सुधारको हिस्मत गर्नुपर्ने बताए । अहिलेको अर्थतन्त्र सुधारका लागि बोल्ड निर्णय र हिम्मत देखाएर बजेट ल्याउन प्राडा वाग्लेले सुझाव दिएका छन् । त्यस्तै, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभाग प्रमुख रेशम थापाले निजी क्षेत्रले सरकारको धेरै मुख ताक्ने प्रवृत्तिले समेत वातावरण बिग्रिरहेको भन्दै दुबै पक्षले आफ्नो योगदान बिर्सन नहुने बताए । ठूलो बजेट भन्दा कार्यान्वयन गर्ने बजेट ल्याउनु पर्नेमा उनको जोड छ । अर्थविद् विश्वास गौचनले पनि संरचनात्मक सुधार नगरेसम्म हरेक वर्ष आउने बजेटले आमुल परिवर्तन ल्याउन नसक्ने बताए । आगामी आव १६औं आवधिक योजनाको पहिलो बजेट रहेको भन्दै उनले दीर्घकालिन योजना र बजेटका बीचमा तालमेल मिलाउन सुझाव दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies