तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार : गन्तव्यको लागि यात्रा, यात्राका लागि दुरी र दुरीका लागि पाइला सार्नै पर्दछ । पाइला नसारी आफ्नो गन्तव्यमा पुग्न सकिँदैन । तपाईंको पाइला सही मार्गमा छ भने आफ्नो लक्ष्यलाई चुम्न सकिन्छ भन्ने प्रमाणित गरेकी छिन् कतारमा रहेकी चितवनकी शान्ता (सदीक्षा) थपलियाले । चुनौतीहरूबाट अविचलित रहेकी सदीक्षाले आफ्नो सपनाको पहिलो खुड्किलो कतारमा पूरा गरेकी छिन् । एसएलसीपछि पत्रकारिता पढ्ने उनको चाहना आर्थिक अवस्थाका कारण पूरा हुन सकेन । घरको आर्थिक अवस्था कमजोर मात्र होइन उनी जन्मिएको ९ महिनामा बुबाले अर्की आमा ल्याएर अलग्गै सौतेनी आमासँग बस्न थालेपछि उनका दुःख त्यही बेलादेखि दुई गुणा बढेका थिए ।
‘कहीँ कतै आफ्नोबाट साथ मात्र होइन भगवानबाट वरदान पनि दुःखकै पाएको रहेछु’ सदीक्षा भन्छिन् । चितवन जिल्ला राप्ति नगरपालिका वडा २ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयबाट एसएलसी पास गरेकी उनी २०१७ मा श्रमिक भिसामा कतार आएकी थिइन् । केही वर्ष कतार बसेर उनले कतारको बसाइँलाई सन् २०२१ मा बिट मारेर नेपाल फर्कीइन् । नेपालमा केही समय बिताएपछि सन् २०२२ को अन्त्यमा फेरि कतार फर्किइन् ।
उनले पत्रकारिता पढ्न नपाए पनि पछिल्लो पटक आउँदा उनको जागिर अस्पताल क्लिनरका रूपमा शुरु भयो । उनको सपनाको ढोका त्यही जागिरले खोलेको भन्दा अत्युक्ति हुँदैन ।
करिब ३ महिना क्लिनरका रूपमा काम गरेपछि अस्पतालले नै नर्स असिस्टेन्टको जागिर गर्ने मौका दियो । शैक्षिक योग्यता र अनुभवले उनले उक्त काम गर्न मिल्दैनथ्यो, तर अस्पताल प्रशासनले उनलाई काम गर्ने वातावरण तयार पारेपछि उनले अब मैले नर्सको लागि पढ्नुपर्छ भन्ने बुझिन् । र पढ्न शुरु गरिन् । डबल ड्युटी गर्नुपर्ने बाध्यता एकातिर छ भने पढ्दै प्राक्टिकल गर्दै अगाडि बढ्न त्यति सहज भने होइन । उनले कतारमा पढ्नका तथा सिक्नका लागि कुनै अवरोध भिषाले नगर्ने उनको बुझाइ छ ।
कोर्स त ६ महिनाको मात्र हो, तर उनले कोर्सलाई २ वर्षको समय दिइन् । सबै कुरामा आफू विश्वस्त भएपछि मात्र उनले परीक्षा दिइन् । जागिर र पढाइका बीचमा उनले ८५ प्रतिशत जिपिए अंक ल्याउँदै पास मात्र गरिन । असिस्टेन्ट नर्स (पिसिएल नर्सिङ) का रूपमा मे ३ तारिकका दिनमा दीक्षित भइन् । अन्य थुप्रै देशका दिदीबहिनी दीक्षित हुँदै गर्दा नेपाली भने उनी एक्ली थिइन् । उनले आफ्नो खुसी आमा बहिनी र नजिकका आफन्तसँग साटिन भने सामाजिक सञ्जालमा समेत खुसी साटेकी छिन् ।
हाल उनी दोहा इन्टरनेसनल स्कुलमा असिस्टेन्ट नर्स र असिस्टेन्ट टिचरका रूपमा कार्यरत छिन् । अभावका बीच एसएलसीसम्म पढाउनु नै आफ्नो लागि प्रेरणाको श्रोत आमा रहेको उनले बताइन् । कतारमा उनले आफ्नो कम्पनीको प्रतिनिधि मोहमद र संगीता मानन्धरलाई धन्यवादको पात्र रहेको बताइन् । मध्यान्हकर्मीसँगको कुराकानीमा उनले नर्सिङमै भविष्य खोज्ने बताइन् ।
करिब पाँच लाख रुपैयाँ खर्च गरेर उनले आफ्नो सपनाको पहिलो खुड्किलो मात्र चढिनन्, विगतमा पासपोर्ट बनाउन ऋण नदिनेलाई सफलताले गतिलो झापड हानेकी छिन् ।
गाईको भकारो छेउमा छानामुनि हुर्किएकी सदीक्षाले आफ्नी आमा र बहिनीलाई पक्की घर बनाएर राखेकी छिन् भने बहिनीलाई १२ सम्म अध्ययन गराइसकेकी छिन् । हालसम्म अविवाहित रहेकी सदीक्षाले तत्काल विवाह गर्ने योजना भने नभएको बताइन् । श्रमिक बनेर कतार आएकी सदीक्षा नर्स बन्दा औधी खुसी छिन् । भन्छिन् ‘मैले दुःख, अभाव, अपहेलना र तिरस्कार सबै भोगेकी छु ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies