सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : स्वर्गीय रामा यादवको जीवनीमा आधारित वृत्तचित्रको विमोचन गरिएको छ । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले शुक्रबार एक कार्यक्रमकाबीच स्वर्गीय रामा यादवको जीवनीमा आधारित उक्त वृत्त चित्रको विमोचन गरेका हुन् ।
जयरामा मिडिया प्रा.लि.गौरले आयोजना गरेको स्व. श्रीमती रामा यादवको तेस्रो पुण्यतिथिको सम्झनामा वृत्तचित्र विमोचन गरिएको स्वर्गीय यादवका श्रीमान जय प्रकाश यादवले बताए ।
स्वर्गीय रामा यादवको वृत्तचित्र विमोचन कार्यक्रममा बोल्दै गौर नगरपालिकाका नगरप्रमुख साहले समाज परिवर्तनका लागि रामा यादवले गरेको कार्य सदैव सम्झनामा रहने बताए । समाजमा रहेका कुसंस्कार,विकृति, विसंगति, अन्यायलाई हटाएर सुशासन, न्याय र समानता ल्याउने उद्देश्यले स्वर्गीय यादवले गरेको योगदान स्मरणीय रहने उल्लेख गर्दै यादवले देखेका सपना पूरा गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने आग्रह गरे ।
टेलिभिजनले गौरलाई चिनाउने कार्य गरेकोले टेलिभिजनको संरक्षणका लागि आगामी वर्षको बजेटमा आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धता समेत जनाए ।
२०७७ सालमा सञ्चालनमा आएको रेड टेलिभिजनका सञ्चालिका रामा यादवको २०७८ सालको कोरोना भाइरसको दोस्रो लहरमा वैशाख २८ गते कोरोना संक्रमणबाट ३० वर्षमै अल्पआयुमा निधन भएको थियो ।
यादवको निधन भएपछि उनको श्रीमान जय प्रकाश यादवले आफ्नो पत्नीको नाममा श्रीमती रामा यादव स्मृति प्रतिष्ठान स्थापना गरी स्वास्थ्य क्षेत्रमा कलम चलाउने देशभरिकै महिला पत्रकारलाई रामा यादव स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै आएका छन् ।
२६ हजार १ रुपैयाँ राशि भएको सो पुरस्कार स्वास्थ्य क्षेत्रमा सुधारको लागि लेख्ने महिला पत्रकारलाई प्रदान गरिने अध्यक्ष यादवले बताए । स्वास्थ्य उपचारको अभावमा कसैको जीवन अन्त्य नहोस, स्तरीय स्वास्थ्य सेवा उपलब्ध होस् भन्ने विषयमा कलम चलाउने महिला पत्रकारलाई प्राथमिकता दिएको बताउँदै यस वर्षको रामा यादव स्मृति पत्रकारिता पुरस्कार साउन १९ गतेका दिन प्रदान गरिने उनले बताए ।
स्वर्गीय यादवको वृत्तचित्रमा उनको बाल्यकालदेखि संघर्ष गरेर टेलिभिजन समेत स्थापनादेखि उनको अन्त्येष्ठि सम्मको विषयबस्तु बारेमा प्रकाश पारिएको थियो । स्वर्गीय यादवले रौतहट जिल्लामै पहिलो टेलिभिजनको रुपमा रेड टेलिभिजन स्थापना गरेर सञ्चालनमा ल्याकी थिइन् ।
विमोचन कार्यक्रममा टेलिभिजन स्थापित रहेको गौर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव शंकर यादवले स्वर्गीय यादवले गरेको कार्य प्रशसनीय रहेको र उक्त कार्यले देशविदेशमा वडालाई चिनाएकाले टेलिभिजन विकासका आफ्नो तर्फबाट ५१ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने घोषणा गरे ।
जयराम मिडिया प्रा.लि.का अध्यक्ष जय प्रकाश यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ पत्रकार प्रभात कुमार झा तथा विभिन्न सञ्चारकर्मीले स्वर्गीय यादवको योगदानको चर्चा गर्दै समवेदना प्रकट गरेका थिए । सो कार्यक्रममा रौतहटका सञ्चारकर्मी एवम् अन्य भद्रभलामीहरुको सहभागीता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies