मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : बर्षे अधिवेशनको पहिलो दिन नै संघइि संसदमा दलीय टकरावले प्रवेश पाएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गर्यो । अवरोधका कारण दुवै सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन । प्रमुख प्रतिपक्षी कांग्रेसले सत्तासँग जोडेर संसद अवरोधको शृङखलालाई निरन्तरता दिएको छ ।
यसअघि संसदको अघिल्लो अधिवेशनमै कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रोष्ट्रममा जानबाट रोक्दै आएको थियो । २ चैत २०८० मा राजनीतिक दल सम्बन्धी ऐन पेश गर्न सभामुखले समय दिँदा कांग्रेसले वेल घेराउ गर्दै नाराबाजी नै गरेको थियो । त्यसपछि पनि पटक–पटक लामिछानेले संसदमा बोल्न खोजेका थिए ।
प्रतिनिधि सभाको अघिल्लो अधिवेशन गत वैशाख २ गते अन्त्य भएको थियो । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । यस सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ ।
कांग्रेसका कारण संसदमा बोल्न नपाएको भनेर स्वमय लामिछाने र रास्वपाका नेताहरुले सार्वजनिक रुपमा कांग्रेसमाथि प्रश्न गर्दै आएका छन् । यसअघि लामिछानेले सभामुख देवराज घिमिरेलाई ‘संसदमा बोल्न पाउँ’ भनेर पत्र नै दिएका थिए ।
तर, शुक्रबार पनि लामिछानेले बोल्न पाएनन् । बरु संसदमा कांग्रेस र सभामुखबीच सवालजवाफको जस्तो वातावरण बनेको छ । यसले सभामुख र दलहरुको बीचको सम्बन्धको दुरीलाई थप बढाएको छ ।
सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरुले उठेर विरोध गरे ।
त्यसपछि सभामुख घिमिरेले कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य गगन थापालाई बोल्न समय दिए । सभामुखले थापालाइ ३ मिनेट समय दिए ।
प्राप्त समयप्रति असन्तुष्टि जनाउँदै कांग्रेस सांसदहरुले ‘जम्मा तीन मिनेट’ भनेपछि सभामुख रु्रष्ट भए ।
‘कति समय दिनुपर्छ, के गरी सदन चलाउनुपर्छ भन्ने कुरा यताबाट टुंगो हुने कि त्यहाँ माननीय सदस्यले भनेपछि टुंगो हुने हो ?’ सभामुख घिमिरेले कांग्रेस सांसदहरुलाई प्रश्न गरे । कांग्रेस सांसदहरुले कार्य व्यवस्था परामर्श समितिमा छलफल भएर विषय टुंगो लाग्ने जवाफ दिए ।
सभामुख घिमिरेले फेरि प्रश्न गरे, ‘यो संसदलाई चलाउने विधि माननीयले माग के के गर्नुहुन्छ, कति माग्नुहुन्छ त्यहाँबाट तय हुने हो कि यहाँबाट तय हुने हो ?’
कांग्रेस सांसदहरुसँग सामान्य सवालजवाफपछि गगन थापा बोले । गगन थापा बोले लगत्तै कांग्रेस सांसदहरुले प्रतिनिधि सभामा नाराबाजी सुरु गरे । कांग्रेस सांसदहरुले ‘सहकारी पीडितलाई न्याय दे, संसदीय छानबिन समिति गठन गर, सहकारी ठगलाई कारबाही गर’ लगायतका नारा लगाए ।
कांग्रेसको अवरोधपछि स्थगित बैठक फेरि बस्यो तर, कार्यसूचीमा अगाडि बढ्न सकेन । संसदको दृश्यले संसदको बर्षे अधिवेशन प्रभावित हुने प्रष्ट संकेत गरेको छ ।
संघीय संसदको बर्षे अधिवेशन आजबाट सुरु भएको छ । पहिलो बैठक नै कार्यसूचीमा प्रवेश गर्न सकेन अवरोधपछि स्थगित संसदको अर्को बैठक आगामी जेठ १ गतेका लागि बोलाइएको छ । उक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रमा प्रस्तुत गर्ने कार्यक्रम छ । उक्त बैठकमा कांग्रेसले खेल्ने भूमिकाले आगामी संसद कस्तो हुन्छ भन्ने थप प्रष्ट पार्नेछ । प्रतिपक्षको भूमिका र रणनीति बुझेको सत्तापक्ष पनि सम्झौता गर्न तयार छैन । परिणाममा संसदको बर्षे अधिवेशन प्रभावित हुने प्रष्ट संकेत देखा परेको हो । वैकल्पिक सरकारको गृहकार्यमा रहेको कांग्रेस उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई लिएर प्रश्न गरिरहेको छ । केही गरी आजित भएर लामिछानेले राजीनामा दिए सरकार अल्पमतमा पर्ने कांग्रेसको बुझाई छ । तर, सत्तारुढ दलहरु कांग्रेससँग मिल्न सक्ने दल नै फुटाएर भएपनि सत्ता जोगाउने पर्यासमा देखिन्छन् । यसरी दलहरुको सत्ता राजनीतिको मारमा संसद परेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies