बाँकेः बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु. २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको उनले बताए ।
उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौं आउँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
काठमाडौंः ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आइतबार एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।
‘सरकारी वकिलको बहस आजै सकियो भने आजै थुनछेक आदेश आउँछ, नभए भोलि पुग्ला’, दाहालले भने । यसअघि शुक्रबार नै प्रहरी हिरासतमा रहेका १८ मध्ये १७ प्रतिवादीका तर्फबाट वकिलले बहस सकेका थिए ।
बाँकी तत्कालीन समरजङ्ग कम्पनीका कार्यालय प्रमुख लोकहरि घिमिरेका तर्फबाट बहस बाँकी थियो । आज घिमिरेका तर्फबाट वकिलले बहस गरेपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि थुनछेक आदेश आउनेछ । कसलाई थुनामा राख्ने, कसलाई धरौटीमा छाड्ने र कसलाई साधारण तारिखमा पठाउने भन्ने अदालतको निर्णय नै थुनछेक आदेश हो ।
काठमडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस चलिरहेको छ । सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा तीन सय १० जनाविरुद्ध अभियोजन दर्ता गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० दिन लगाएर सङ्गठित अपराध कसुरमा घटनाको अनुसन्धान गरे पनि सरकारी वकिलले सङ्गठित अपराध कसुर आकर्षित नहुने भन्दै कीर्तेमा मुद्दा दर्ता गरेको हो ।
विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो । उक्त प्रहरणमा पूर्वमन्त्री, पूर्वसचिव बहालवाला सचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायत विरुद्ध मुद्दा दर्ता भएको छ । आरोपीमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री तथा पूर्वसचिवसमेत छन् ।
खाँदबारीः सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेको छ ।
प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवानद्वय सुमन गुरुड र पवनकुमार महतो, कारागार सुरक्षा गार्डद्वय दमनसिंह राई र नुसन राईविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता सन्तोषप्रसाद भण्डारीले जानकारी दिए ।
यसैगरी सरकारी वकिल कार्यालयले कैदीहरु राम कार्की, अनिस शर्मा कट्टेल, सचिन राई, सुमन सारुमगर, टीकाराज चौहान, नवीनकुमार राई, इन्द्रध्वज घिमिरे र मीनबहादुर तामाडविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।
कारागारको झ्याल काटेर भाग्न खोजेपछि गत साउन २४ गते दुईजना कैदीको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट सङ्खुवासभाको मादीका विनोद तोलाङ्गी र नुवाकोटको ककनीका आकाश बलामीको मृत्यु भएको थियो ।
काठमाडौंः चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका–१ बस्ने ३० वर्षीय अन्सारूल अंसारी रहेका छन् ।
प्रहरीले उनको साथबाट १ सय ४२ एम्पुल, बुप्रेनुर्फिन १ सय ४७ एम्पुल, डाइजेपाम १ सय ३७ एम्पुल र नाईट्राभेट १ हजार ५ सय ट्याब्लेट बरामद गरेको छ ।
शुक्रबार बिहान लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०३–००१ ख २५०२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रकम रु. १० लाख ९५ हजार पाँच सय ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–७ घर भई हाल काठमाडौैं गोठाटार बस्ने २२ वर्षीय सुशन घिमिरे रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका घिमिरेले अनलाइन पेजमार्फत विभिन्न डिजाइनका गरगहना तथा अन्य सामान बिक्री गर्ने गरेकामा सामाजिक सञ्जाल इन्स्ट्राग्राममा झुट्टा रिसिप्ट पठाई पीडितलाई झुक्यानमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ ।
पक्राउ परेका घिमिरेलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।
काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा जिल्लाका शिवकुमार सर्राफ रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिए । उनका अनुसार सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत रहेका सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति पक्राउ गरेको हो ।
राजस्व अनुसन्धान विभागको टोलीले गएको गत साउन ३ गते उक्त सुन बरामद गरेको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको प्रहरीले जनाएको छ ।
रूपन्देहीः रूपन्देहीमा १० वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिलोत्तमा नगरपालिका–२ सिमानगर बस्ने ५४ वर्षीय गणेश न्यौपानेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
न्यौपानेले ती बालिकालाई गत आइतबार बुटवल उपमहानगरपालिका–४ तिनाउखोलाको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा नगर प्रहरी कार्यालय योगीकुटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ओखलढुङ्गाः ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो ।
दुवै जनाबीच बुधबार बिहान सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कँदै गरेका अधिकारीलाई कटुवालले धकेल्दा लडेर उनी घाइते भएका थिए । गम्भीर घाइते अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा अस्पताल पुर्याउना साथ उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । प्रहरीले कटुवाललाई बुधबार साँझ पक्राउ गरेर घटनाबारे अनुसन्धान थालेको छ ।
बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा स्वास्थ्य क्लिनिक सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले अनुगमन गर्दा स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन गरेको पाइएको हो । अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँस्थित कविर मेडिकल हल, दोगडाकेदार–७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार–३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
पञ्ज्युनयाँस्थित कविर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ । उनले भने, ‘स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेको पाइयो, त्यसैले सञ्चालक कार्कीलाई नियन्त्रणमा लिएका छौँ । यो विषयमा थप अनुसन्धान भइरहेको छ ।’
स्वास्थ्य क्लिनिक सञ्चालकले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिले मेडिकल सञ्चालन गरेको तथा सम्बन्धित निकायमा दर्ता प्रक्रियासमेत पूरा नगरेको पाइएकाले क्लिनिक सिल गरिएका प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । क्लिनिक अवैधरुपमा सञ्चालन गरिएका जनगुनासो आएपछि अनुगमन थालिएको उनको भनाइ छ । रासस
काठमाडौंः वीर अस्पतालको छैटौं तलाबाट हाम फाल्दा एक पुरुषको ज्यान गएको छ । अस्पतालको सर्जिकल भवनबाट सोमबार बिहान साढे दुई बजे पुरुषले हाम फालेको अस्पतालका सूचना अधिकारी सागर मिश्रका जानकारी दिए ।
अन्दाजी ४० वर्षका उनले बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेकाे मिश्रले बताए । प्रवेशपश्चात माथि तलामा गएर उनले हाम फालेका हुन् । मिश्रले भने, ‘अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । ‘उनी बाहिरका मान्छे हुन् । यो मेरो मान्छे हो भनेर कोही भन्न आएको पनि छैन, लाश बेवारिसे अवस्थामा छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies