काठमाडौं : चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको छ महिनाको (साउनदेखि पुस मसान्तसम्म) तथ्याङ्क अनुसार ५ प्रतिशत आयातमा कमी आउँदा ६ प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।
विभागको तथ्याङ्कअनुसार चालू आवको छ महिनाको तथ्याङ्क अनुसार रु छ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा ४ दशमलव ८१ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा रु छ खर्ब ९४ अर्ब ६९ करोड बराबरको विदेशी वस्तुको आयात भएको थियो ।
यसैगरी, ६ महिनाको अवधिमा रु साठी अर्ब ७९ करोड ९९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा ६ दशमलव १४ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । गत आवमा सोही अवधिमा रु ५७ अर्ब २७ करोड ७९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्याङ्क अनुसार यो वर्ष व्यापार घाटामा ५.८० प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत रहेको छ ।
हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.८७ प्रतिशतले घटेको छ । विभागको तथ्याङ्क अनुसार ६ महिनामा रु सात खर्ब २२ अर्ब ४४ करोड बराबरको वैदेशिक व्यापारबाट नेपालले रु छ अर्ब ४६ करोड घाटा व्यहोरेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा ५ दशमलव ८० प्रतिशतले गिरावट हो ।
चालू आवको ६ महिनाको तुलनामा पुस महिनामा मात्र रु एक खर्ब ३६ अर्ब बराबरको वस्तु आयात भएको छ । हालसम्म विभागले रु एक खर्ब ८७ अर्ब राजश्व सङ्कलन गरिसकेको छ । यो वर्ष विभागले रु चार खर्ब ४० अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा रु ८५ अर्ब ८० करोड, भदौमा रु ९३ अर्ब ४ करोड र असोज महिनामा रु एक खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तुका आयात भएको थियो ।
यसैगरी, कात्तिक महिनामा रु एक खर्ब १० अर्ब २२ करोड, मङ्सिर महिनामा रु एक खर्ब २३ अर्ब एक करोड र पुस महिनामा सबैभन्दा धेरै रु एक खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तु आयात भएको छ । छ महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । छ महिनामा रु ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको छ ।
काठमाडौं : सुनको भाउ आज पनि बृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेर ९३ हजार एक सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
त्यस्तै तेजावी सुन पनि छ सय रुपैयाँले नै बढेर ९२ हजार ६ सय मा कारोवार भएको छ । आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँमा कारोवार भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगो भएको महासंघको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंश २० डलरले बढेर १८ सय ७२ डलरमा बिक्री भएको छ ।
काठमाडौं : आजदेखि २० दिनका लागि तातोपानी नाका बन्द भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न चिनिया पक्षले नाका बन्द गरेको हो । बाढीले क्षति गरेको पुल चीनले मर्मत गर्न लागेको हो ।
पहिलेकै बाढीले क्षति पुर्याएको पुलको एक भागमा यसवर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको हो ।
पुल मर्मतका लागि नाका बन्द हुने भएपछि बाटोमा रहेका सामानहरु नेपाल भित्र्याइसकेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
काठमाडौं : बजाज अटो लिमिटेड बजार पुँजीकरण रु. १.६ लाख करोड नाघ्ने विश्वव्यापी रुपमा पहिलो दुइ–पाङ्ग्रे कम्पनी बनेको छ । बजाज अटो लिमिटेडको शेयर मूल्य आज एनएसईमा प्रति शेयर रु. ५५ हजार ६६ रुपैयाँ पुगेर बजार पुँजीकरण रु.१ लाख ६१ हजार ७३ करोडमा समेटिएको थियो । बजाज अटोले संचालनको ७५औं वर्षमा यो ऐतिहासिक माइलस्टोन स्थापनाका गरेको छ ।
विश्लेषकहरूका अनुसार यो भन्दा अगाडि विश्वमा कुनै पनि अन्तर्राष्ट्रिय दुइ–पाङ्ग्रे सवारी कम्पनीले रु १.६ लाख करोडभन्दा बढीको बजार पुँजीकरण हासिल गर्न सकेको छैनन् । यसप्रकार, बजाज अटो दुई–पाङ्ग्रे सवारी श्रेणीमा सबैभन्दा मूल्यवान कम्पनी मात्र होइन, रु. १.६ लाख करोडभन्दा बढीको बजार पुँजीकरण पु¥याउने विश्वमै पहिलो दुई–पाङ्ग्रे कम्पनी पनि हो ।
बजाज अटोको यात्रा भारतमा ७५ बर्ष पहिले शुरू भएको थियो र आज यसका पल्सार, बक्सर, प्लेटिना र आरई जस्ता ब्राण्डहरू विश्वका ७० भन्दा बढी देशहरूमा लोकप्रिय छन् जसले यसलाई वास्तवमै ‘विश्वकौ लोकप्रिय भारतीय’ ब्राण्ड बनाएको छ । यस वर्ष थाइल्यान्डमा प्रवेश गरिसकेको र अर्को वर्ष ब्राजिलमा सम्भावित प्रवेशसँगै यो विश्व बजारमा लगातार विस्तार भइरहेको छ ।
बजाज अटोको अष्ट्रियाको केटीएम एजीसँग एक अत्यधिक सफल साझेदारी छ जहाँ यस साझेदारीले केटीएमलाई प्रीमियम स्पोर्ट मोटरसाइकलको सबैभन्दा ठूलो निर्माता बन्न मद्दत गरेको छ । आइकोनिक केटीएम र हुस्कर्वना दायराका धेरै मोडलहरू बजाज र केटीएमले संयुक्त रूपमा डिजाइन गरेका छन् र अमेरिका र जापान जस्ता विकसित देशहरू लगायत विश्व बजारमा निर्यातका लागि भारतमा निर्मित छन् ।
बजाज अटोले पनि ट्राइम्फ युकेसँग विश्व बजारका सेवा प्रदान गर्न भारतमा उस्तै प्रकारका ट्राइम्फ मोटरसाइकलको नयाँ श्रृंखला बनाउनका रणनीतिक साझेदारी गरेको छ ।
यस उपलब्धीका बारेमा बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले भने, ‘मोटरसाइकल वर्गमा कम्पनीको विशेष ध्यान र विभेदको रणनीतिप्रति अटल प्रतिबद्धता र टीपीएमको अभ्यासले विश्वव्यापी महत्वाकांक्षासँग मिलेर आज बजाजलाई विश्वभर सर्वाधिक मूल्यवान दुई पाङ्ग्रे सवारी कम्पनी बनाएको छ । यसले हामीलाई अझ बढि सेवा प्रदान गर्न र विश्वभरि ग्राहकहरुलाई खुशी पार्न प्रोरित गरेको छ ।’
बजाज अटो बजाज समूहको फ्ल्यागसीप कम्पनी हो । बजाज समूह भारतमा शीर्ष १० व्यापार घरानाहरु मध्ये एक हो । सन् १९२६ मा भारतमा स्वतन्त्रताको लागि आन्दोलनको चरम सीमामा स्थापित यो समूहको उत्कृष्ट इतिहास छ ।
बजाज अटो मोटरसाइकलको लागि विश्वको तेस्रो ठूलो निर्माता र तीन पाङ्ग्रे सवारीको सबैभन्दा ठूलो निर्माता हो । बजाज अटो भारतको नम्बर १ मोटरसाइकल र तीन पाङ्गे निर्यातकर्ता हो, भारतबाट निर्यात तीन मध्ये दुई बाइक र तीन पाङ्गे बजाजले बनाएको पाइएको छ ।
काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिकोत्सव सम्पन्न भएको छ । संस्थाको बुुधबार केन्द्रीय कार्यालय गैंडाकोट नवलपुरमा सरसफाई कार्यक्रम गरी सम्पन्न गरी बार्षिक उत्सव सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले सरसफाइ कार्यक्रममा आवद्ध कर्मचारी, स्थानीय समाजसेवीलाई धन्यावाद ज्ञापन गर्दै २९ जिल्लामा ५९ वटा शाखा कार्यालयमार्फत ४६ हजार भन्दा बढी सदस्यलाई सेवा पुर्याएको तीन अर्ब चार करोड कर्जा लगानीमा रहिरहेको र सदस्यहरूले संस्थामा ७८ करोड निक्षेप जम्मा गरेको जानकारी दिए ।
संस्थाले नवीनतम प्रविधि प्रयोग गर्दै गुणस्तरीय सेवाहरु दिइरहेको, निक्षेप र कर्जा सेवाग्राहकको आवश्यकताअनुसार स्वीकार गरी उपलब्ध गराएको, समय सापेक्ष उद्यमी बन्न तालीम उपलब्ध गराई रहेको, रेमिटयान्स सेवा, मिसकल बैंकिङ्ग सुबिधा, ग्राहक संरक्षण कोष मार्फत दैवीप्रकोपमा परेका सदस्यहरुलाई राहत, सुत्केरी सुबिधा प्रदान गरिरहेको जानकारी दिएका छन् ।
काठमाडौं : अर्थमन्त्री विष्णु प्रसाद पौडेलले देशको आर्थिक क्षेत्रका सूचकहरु सकारात्मक रहेको बताएका छन् । बुधबार कृषि विकास बैंक लिमिटेडको वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशको आर्थिक क्षेत्रको सूचकहरु सकारात्मक रहेको बताएका हुन् ।
कोभिड-१९ को कारणले राजस्व परिचालनका केही सन्दर्भमा प्रतिकुलता रहेपनि अन्य क्षेत्रमा आर्थिक सूचकहरु सकारात्मक रहेको उनको भनाइ छ । मन्त्री पौडेलले कोभिड १९ को बावजुद पनि देशको अर्थतन्त्रलाई गतिशिल, चलायमान र उत्पादनशील बनाउन प्रयत्नरत रहेको बताए । उनले छिटोभन्दा छिटो कोभिडविरुद्दको भ्याक्सिन आयात गरेर आम नागरिकलाई निशुल्क उपलब्ध गराउने जानकारी पनि दिए ।
फरक प्रसंगमा मन्त्री पौडेलले मध्यावधि निर्वाचन गर्ने विषय संविधान कार्यान्वयनकै खुड्किलो भएकोले मुलुकलाई गतिशिल ढंगले अघि बढाउन मद्दत गर्ने बताए । मुलुकलाई संविधानले परिलक्षित गरेको दिशामा लैजानको निम्ति निर्वाचन अपरिहार्य रहेको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल सरकारले डिजिटल फ्रेमवर्क लागु गरेको र वित्तिय क्षेत्रलाई यसले विशेष रुपले समेट्ने भएकाले बढीभन्दा बढी विद्युतिय कारोबारको दिशामा राष्ट्र बैंक अघि बढेको बताए ।
कृषिमा आधुनिकिकरण गर्ने धेरै सम्भावना मुलुकमा भएकाले कृषि विकास बैंकले अन्य क्षेत्रमा भन्दा विशेषगरी कृषि क्षेत्रमै लगानी गर्नुपर्ने उनले सुझावसमेत दिए ।
कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैंकले आगामी दिनमा उच्चमुल्य प्राप्त हुने फलफुलमा कर्जा बिस्तार गर्ने जानकारी दिए । यसैगरी गाई भैंसी फार्ममा पनि लगानी बिस्तार गर्ने योजना रहेको उनको भनाई छ । बैंकले उत्पादन र उत्पादकत्व बढाउनेतर्फ काम गर्ने उनले बताए । कृषि विकास बैंक लिमिटेडले बुधबार ५४ औँ वार्षिकोत्सव मनाएको हो ।
बिकाश काफ्ले/मध्यान्ह
पाल्पा : जिल्लास्थित माथागढी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो कार्यलाई थप प्रभाकारी बनाउन माथागढी गाउँपालिका १ चिदीपानीमा शाखा कार्यालय खोलेको छ।२०७३ सालमा स्थापना भएको सहकारी पाल्पा माथागढी १ दोहोरा माडि फाँटमा प्रधान कार्यालय रहेको छ ।
एक कार्यक्रमबीच बुधबार प्रमुख अतिथि माथागढी गाउँपालीका १ नम्बर वाडका अध्यक्ष शिव प्रसाद शर्माले सात्दोबाटमा शाखा कार्यालयको उद्घाटन गरे ।
उक्त बहुउद्देश्यीय सहकारीका माध्यमबाट बचत संकलन र ऋण लगानी गर्दै परम्परागत खेती प्रणालीलाई अन्त्य गरेर बैज्ञानिक र आधुनिक खेती प्रणालीको बिकास हुने शर्माले बताए ।
उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दाका तर्फबाट चेत बहादुर केसी, सम्पूर्ण बिद्यालयको तर्फबाट सौभाग्य मा बिका प्रधानाध्यापक कृष्णप्रसाद खनाल, वाड सदस्यहरूको प्रतिनिधित्व गर्दै हिरा बहादुर रेग्मी, माथागढी गाउँपालिकाका कार्यपालिका सदस्य बिद्या थापालगायतले सहकारीले गरेको प्रगतिको चर्चा गर्दै कोरोना भाइरल कोभिड १९का कारण भएको लकडाउनमा सहकारी स्थानीयका कृषि उपज बिक्री हुन नपाइरहेको र बजार कोटाबाट बाहिर निस्कन नपाइरहेको अबस्थामा पुलको काम गरेको, निम्न आय भएकाको सारथी बन्दै अहिलेको अवस्थामा सहकारीको महत्त्ववारे प्रकाश पारेका थिए ।
उपाध्यक्ष टोपला पाण्डेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको संचालन सदस्य नवराज पन्थीले गरेका थिए । कार्यक्रमों सहकारीका अध्यक्ष राजकुमार पन्थीले गाउँ गाउँमा आएका लघुबित्त बैंकभन्दा सहकारी स्थानीयहरुका लागि फाइदाजनक रहेको भन्दै सहकारीमा भएको फाइदा सदस्यहरूकै हुने र बैंकमा भएको फाइदा संचालनहरूको हुने भएकोले सहकारी संस्थाबाट सक्दो फाइदा लिन आग्रह गरे ।
सहबान अन्सारी/मध्यान्ह
नवलपरासी : नवलपरासीमा उखु किसानहरुको बॉकी भुक्तानीको लागि सम्बद्ध सरोकारवालाहरुसँग जोडदार माग गरिएको छ । जिल्लामा प्रमुख नगदे बालीको रुपमा रहेको उखु बालीलाई प्रवर्द्वन गरि राज्यलाई चिनीमा आत्म निर्भर बनाउने उद्देश्य हुदाहुदै नेपालको चिनी उत्पादनमा उल्लेखनीय योगदान पुर्याउने उखु किसानहरुको पीडा सहन नसक्ने अवस्था रहेको छ ।
वर्ष भरी लगानी गरेर उत्पादन गरेको उखुको रकम भुक्तानीको लागी ३ बर्षसम्म पर्खिदापनि सन्बन्धित सरोकारवालाहरुको ध्यान नजानु आफैमा दु:खद पक्ष रहेको उखु उत्पादक कृषक समिति नवलपरासीले विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्तिमा पछिल्लो समयमा बाकी भुक्तानीका लागी पीडित किसानहरुले बाध्य भई संघीय राजधानी केन्द्रित अन्दोलनका कार्यक्रमहरु गर्दै गर्दा नेपाल सरकारले २०७६ माघ ७ गते भित्र सम्पुर्ण बाँकी भुक्तानी गराउने लिखित प्रतिबद्धता जाहेर गर्दा पनि बॉकी भुक्तानी नभएको हुँदा पुन: राजधानीको माईतीघर मण्डलामा उखु किसानहरुलाई न्यायिक संघर्ष गर्न नेपाल सरकारले बाध्य पारेको र त्यसै क्रममा सर्लाहीका उँखु किसान स्व. नारायण सयाभगतजीले सहादत प्राप्त गरेको उल्लेख गर्दै सरकारले २०७७ माघ ५ गते ( २१) दिन भित्र सम्पुर्ण भुक्तानी गराई सक्ने लिखित प्रतिबद्धता पुन: गरेपनि आजसम्म ईन्दिरा सुगर एण्ड एग्रो ईन्ड्रटिजले किसानको खातामा कुनै रकम भुक्तानी नगरेको र लुम्बिनी चिनी उधोगले बॉकी रकम मध्ये २ करोड रुपैया किसानहरुको खातामा पठाएपनि नेपाल सरकारले निर्धारित दर रेट अनुसार भुक्तानी नगरेको जनाइएको छ ।
निर्धारित दर रेटमा भुक्तानी प्रक्रिया अगाडि बढाई पीडित किसानहरुको भुक्तानी सुनिश्चित गर्न सरोकारवालाहरुसंग जोडदार माग गरिएको उत्पादक समितिका अध्यक्ष उमेश चन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै समयमा भुक्तानी नभए बाध्य भई संघर्षका कार्यक्रमहरु संचालन गर्नुपर्ने र सोबाट उत्पन्नहुने परिस्थितिको सम्पुर्ण जिम्मेवार नेपाल सरकार र सम्बन्धित मिल संचालकले नै लिनु पर्ने यादवले बताए ।
काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका प्रतिनिधिसहित अर्थ मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रम ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताए ।
बजेट, मौद्रिक नीतिलगायतमा उल्लेखित कार्यक्रमको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या समाधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिई अघि बढ्न र कठिनाइ परे सहजीकरण र सहयोग गर्न सरकार तयार रहेको बताए । कोभिड–१९ को खोप आइसकेपछि स्थिति सहज हुने विश्वास व्यक्त गर्दै अर्थमन्त्री पौडेलले पर्यटन व्यवसायको क्षेत्रमा विद्युत् डिमाण्ड शुल्क छुटका लागि भएको मागका सम्बन्धमा थप छलफल गर्ने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखापरेका समस्या समाधानका लागि मन्त्रालयले सम्बन्धित क्षेत्रसँग छलफल गरेको जानकारी दिँदै कोभिड–१९ ले गर्दा सरकारलाई परेको अप्ठेरालाई पनि निजी क्षेत्रले बुझिदिन आग्रह गरे । अर्थसचिव शिशिरकुमार ढुङ्गानाले नीतिमा समस्या नभएको स्पष्ट पार्दै कार्यान्वनयका लागि थप पहल गर्ने बताए ।
पर्यटन तथा होटल व्यवसायीले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधिमा शोधभर्ना रकमको अवधि बढीमा दुई वर्षको हुने उल्लेख भएकामा तीन वर्ष गर्न, चुक्ता गर्ने अवधि अधिकतम चार वर्ष उल्लेख भएकामा पाँच वर्षको व्यवस्था गर्न, विद्युत् डिमाण्ड शुल्क छुटको व्यवस्था गरिदिन, व्यवसायमा विद्यमान कुनै ऋणका लागि व्यवस्था भइसकेको धितोको आधारमा नै शतप्रतिशतसम्म हुने गरी ऋण प्रवाहको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
यस्तै पुनर्कर्जामा प्रतिग्राहक कर्जा सीमा रु २० करोड रहेकामा सो रकमभन्दा माथिको आवश्यकता देखिएमा सीमालाई बाध्यकारी नबनाउने व्यवस्था मिलाउनेलगायतका माग गरेका थिए । उनीहरुले पुनर्कर्जा र व्यावसायिक निरन्तरता कर्जा प्रवाहमा समस्या रहेको बताएका थिए । बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल, होटल एशोसिएशन अफ नेपाल, रेष्टुराँ एशोसिएशनलगायतका प्रतिनिधिको सहभागिता थियो ।
काठमाडौं : नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा आज परीक्षण उडान गरेको छ । नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित एयरलाइन्सले आज पहिलोपटक माथिल्लो उचाइ गन्तव्यमा उडान गरेको हो ।
परीक्षण उडान एच९ ९६ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः१५ बजे (स्थानीय समय) मा प्रस्थान गरी ल्हासाको गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०ः४६ बजे (स्थानीय समय) मा अवतरण भएको हिमालय एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।
ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो । यहाँ विश्वभरबाट वर्षेनी उल्लेख्य सङ्ख्यामा पर्यटक घुम्न जान्छन् । आजको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडानहरू शुरु गर्ने कम्पनीको व्यावसायिक योजनाअनुरूप नै भएको जनाइएको छ ।
एयरलाइन्सका सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दिले वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन् र चालक दलले ल्हासास्थित गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा वैधता उडानका लागि तीन फरक फरक एप्रोचेज अपनाउने छन् ।
परीक्षण उडानका लागि एअरलाइन्सले सन् २०२० को मार्च महिनामै विशेषतः माथिल्लो उचाइका लागि उडान भर्न एच९ एजेकेज्ढ ब्व्प् नाममा दर्ता भएको नवीनतम् न्यारोबडी जहाज ए३१९–११५ प्रयोगमा ल्याएको छ । एक सय २० इकोनोमी र ०८ बिजिनेस क्लास सिटको व्यवस्था भएको एयरक्राफ्टलाई माथिल्लो उचाइको उडान भर्नका लागि परिमार्जित गरिएको छ । यो जहाजले अधिकतम १४ हजार ५०० फिटसम्मको एअरोड्रम उचाइ भएको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।
एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले भने, “हिमालय टोली गत वर्षदेखि नै ल्हासा जस्तोे माथिल्लो उचाइको गन्तव्यको उडानका लागि सावधानीपूर्वक कार्यरत थियो । आजको सफल परीक्षण उडानले सुरक्षा, टिम भावना र विजयी भावनाको हाम्रो प्रमुख मार्ग निर्देशक सिद्धान्तहरुको प्रतिबद्धतालाई प्रबल बनाएको छ ।”
सो अवसरमा एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले ल्हासा गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो र एक मात्र विदेशी एयरलाइन्स हुन पाउनु हिमालयका लागि वास्तवमै गर्वको विषय भएको बताए । उनले यस उडानले माथिल्लो उचाइका हवाई उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्दिष्ट गरेको मापदण्ड र आवश्यकताहरूको पालना सुनिश्चित गर्नाका साथै सीमापार सम्बन्ध सुदृढ पार्न पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies