काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य सन्दीप लामिछानेलाई आईपीएलको उनको टिम दिल्ली क्यापिटल्सले रिलिज गरेको छ । सन् २०१८ मा तीन बर्षका लागि अनुबन्ध भएका सन्दीप तेस्रो वर्ष पुरा भएपछि दिल्लीले रिलिज गरेको हो ।
सन्दीपले पहिलो र दोस्रो सिजनमा आईपीएल खेल्न पाएपनि कोरोना महामारीका कारण युएईमा आयोजित यो संस्करणको आईपीएलमा भने उनी बेन्चमै बसेर फर्किएका थिए । दिल्लीले रिलिज गरेसँगै अक्सनमार्फत उनी अर्को टिममा जाने बाटो भने खुलेको छ ।
दिल्लीले सन्दिपसँगै जेसोन रोय र मोहित शर्मालाई पनि रिलिज गरेको छ । । सन् २०१८ मा २० लाख भारतीय रुपैयाँमा अक्सनबाट दिल्लीले सन्दिपलाई अनुबन्ध गरेको थियो । उनले यो प्रतियोगितामा आफ्नो पहिलो सिजनमा पुछारका तीन खेल खेल्न पाएका थिए । जसमा उनले पाँच विकेट लिएका थिए । त्यसपछि २०१९ मा सन्दिपले ६ खेल खेल्दा आठ विकेट हात पारेका थिए । सन्दीपले अन्तिम सिजनमा दिल्लीबाट खेल्न नपाए पनि उनको टिम फाइनलमा पुगेको थियो ।
दिल्लीले सन्दीपलाई रिलिज गरेपछि अब उनी अक्सनमा जाने भएका छन् । जसमा उनीमाथि कुनै टिमले बोली लगाएमा दिल्लीबाट पाउँदै आएको रकम भन्दा बढि पाउने पनि सम्भावना रहेको छ । दिल्लीले यो सिजनमा तिब्र गतिका बलर डानियल साम्सलाई रोयल च्यालेञ्जर्स बैंग्लोरमा विक्रि गर्ने भएको छ । यस्तै विस्फोटक ब्याट्सम्यान मार्कुस स्टोनिसलाई भने टिममा राख्ने भएको छ ।
काठमाडौं : तिलक भण्डारी र नन्दन यादवको धारिलो बलिङमा बागमती प्रदेशले डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।
त्रिवि खेल मैदानमा भएको खेलमा बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर फिल्डिङ रोजेका थिए । जसलाई बलरहरूले सही तुल्याइदिए । नेपाल पुलिसका कुनैपनि खेलाडी क्रिजमा टिक्न सकेनन भने कुनै समय पनि साझेदारी बनेन ।
निरन्तर अन्तरालमा विकेट झर्दा नेपाल पुलिस २९ दशमलव ३ ओभरमा नै सम्पुर्ण विकेट गुमाएर १ सय ११ रनमा समेटियो । दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले २१÷२१ तथा सुनिल धमला र कुशल भुर्तेलले १७/१७ रन बनाए । यी चार बाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।
बलिङमा तिलक भण्डारी अत्यन्त किफायती रहँदै चार विकेट चटकाउन सफल रहे । उनले ७ दशमलव ३ ओभर बलिङ गर्दै एक मेडन सहित मात्र १७ रन खर्चेर चार विकेट लिए । यस्तै नन्दन यादवले पनि चार विकेट लिए ।
जवाफमा १ सय १२ रनको विजय लक्ष्य पछ्यएको वागमती प्रदेशले ३४ दशमलव ४ ओभरमा तीन विकेटको नोक्सानीमा पुरा गर्यो । सुरुवातमा वाग्मतीले संघर्ष गर्यो । सुस्त सुरुवात गरेको वाग्मतीले १२ ओभरमा २९ रन बनाउदा २ विकेट गुमिसकेको थियो ।
ओपनरद्वय आकाश थापा १ रनमा र अदिल खान १२ रनमा आउट भए । लगत्तै पारस खडका ललित राजवंशीको बलमा बोल्ड आउट भए । यसपछि पृथु बाँस्कोटा र ईशान पाण्डेले टिमलाई जिततर्फ डोर्याए ।
यी दुईले चौथो विकेटको लागि अविजित ७९ रनको साझेदारी गरे । ईशानले पृथुलाई साथ दिए । पृथुले रन बटुले । उनले अविजित ४८ रन र ईशानले अविजित १७ रन बनाउदै टिमलाई सात विकेटको सहज जित दिलाए ।
काठमाडौं : प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ सम्पन्न भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार विशेष समारोहबीच प्रतियोगिताको समापन गरे । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, सुटिङ र एग्लेटिक्स विधामा १५ टोलीबीच प्रतिस्पर्धा भएको थियो । सो प्रतियोगितामा आर्चरीलाई पहिलोपटक प्रदर्शनी खेलको रुपमा समावेश गरिएको थियो ।
समापन समारोहमा प्रधानसेनापति थापाले पृतना तथा बाहिनीतर्फको समग्र खेलकूदमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः १६ नम्बर बाहिनी अड्डा, मध्य पृतना र उत्तर पश्चिम पृतनालाई नगद तथा ट्रफी प्रदान गरे । यसैगरी गणतर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः जगदल गण, एक नम्बर जगदल गण र चण्डीदल गणलाई समेत उनले नगद तथा ट्रफी प्रदान गरे ।
सो अवसरमा प्रधानसेनापति थापाले ‘अतिरथि स्व निरशम्सेर जबरा पुरस्कार रन फर फन २०७६’ को म्याराथनको विजेता होमलाल श्रेष्ठलाई तथा ‘महारथि गौरवशम्सेर जबरा अजेयबल ट्रफी’ महिलातर्फ तेक्वान्दो खेलाडी नीता गुरुङ र पुरुषतर्फ ब्याडमिन्टन खेलाडी रत्नजित तामाङलाई प्रदान गरे ।
बलाधिकृत प्रभुराम शर्माले गण फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल गर्न सफल जगदल गणका खेलाडीलाई नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरे। सोही खेलमा द्वितीय भएका नयाँ गोरख गणका खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले तथा तृतीय भएको भैरवप्रसाद गणका खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले पदक तथा प्रमाणपत्र प्रदान गरे ।
यस्तै बास्केटबलतर्फ प्रथम हुने मध्यपूर्वी पृतनाका खेलाडीलाई उपरथि निरञ्जनकुमार श्रेष्ठले, भलिबलमा प्रथम हुने उपत्यका पृतनाका खेलाडीलाई उपरथि गोकुल भण्डारीले, सुटिङमा प्रथम हुने १६ नम्बर बाहिनीका खेलाडीलाई उपरथि अनन्त कार्कीले तथा एथलेटिक्सतर्फ प्रथम हुनेलाई १६ नम्बर बाहिनीका खेलाडीलाई उपरथि सरोजप्रताप राणाले नगद, ट्रफी तथा प्रमाणपत्र यसअघि प्रदान गरे । समापन कार्यक्रममा पूर्वप्रधानसेनापति, अन्य सुरक्षा अङ्गका उच्च अधिकृत, नेपाली सेनाका बहालवाला तथा पूर्व उच्च अधिकृतको उपस्थिति थियो ।
‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नारासहित प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ प्रतियोगिता गत पुस २९ गतेदेखि शुरु भएको हो । प्रतियोगितामा नेपाली सेनाको १५ टोलीको सहभागिता थियो । सेनाले विसं २०६५ देखि प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको हो ।
काठमाडौं : १३ औ दक्षिण एसियाली खेलकुद सागकी ऐतिहासिक चार स्वर्ण विजेता पौडी खेलाडी गौरिका सिंह र दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७६ को उत्कृष्ट महिला र पुरुष खेलाडीको अवार्ड जित्न सफल भएका छन् ।
सागमा किर्तिमानी चार स्वर्ण कै कारण गौरिका अवार्डकी हकदार बनेकी हुन् । १३ औ सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ वर्ष उत्कृष्ट खेलाडी पुरूषको अवार्ड जित्न सफल भए ।
वर्ष युवा खेलाडीको अवार्ड गल्फ खेलाडी सुबाष तामाङले जिते । उत्कृष्ट प्रशिक्षकको अवार्ड तेक्वान्दोका नबिन श्रेष्ठले जितेका छन् । उनको नेतृत्वमा तेक्वान्दो टिमले १३ औ सागमा १२ स्वर्ण, ६ रजत र ११ कास्य जितेको थियो ।
पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी अरूणा शाहीले जितेकी छिन् । सागमा ऐतिहासिक रजत पदक जितेको महिला राष्ट्रिय भलिबल टिमलाई टिम अफ द ईयरबाट सम्मान गरिएको छ । टेबल टेनिसका पुर्व खेलाडीद्वय सिजरिन शाह र गीता क्षेत्रीलाई लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।
त्यस्तै दिगम सिंह चेम्जोङ पारा एथलिट अवार्डबाट सम्मानित भए । अवार्डको उत्कृष्ट पुरूष, महिला र पिपल्स च्वाइस र प्रशिक्षक तर्फको विजेताले पल्सर मोटरसाइकल प्राप्त गरेका छन् भने अन्य विधाका विजेताहरुले ५०–५० हजार प्राप्त गरेका छन् ।
लक्ष्मण बस्नेत/मध्यान्ह
दाङ : दाङको तुलसीपुरमा जारी खुला पुरुष भलिबल प्रतियोगिता २०७७ को उपाधी जिल्ला भलिबल संघ रुकुम पश्चिमले जितेको छ । स्वतन्त्र युवा क्लब तुलसीपुरको आयोजनामा अरनिको मैदानमा संचालित प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरी बल न ५ बाहिनीलाई २५-२३, २५-१८ र २५-१५ को सोझो सेटमा पाखा लगाउदै जिल्ला भलिबल संघ रुकुम पश्चिमले उपाधी जितेको हो ।
उपाधिसँगै उसले नगद ५० हजार,ट्रफि, मेडल तथा प्रमाणपत्र हात पारेको छ । त्यस्तै फाइनलमा पराजित सशस्त्र प्रहरी बल न ५ बाहिनी उपबिजेतामा समित रहदै २५ हजारमा चित्त बुझाउन बाध्य भयो ।
त्यस्तै डि.बि.फेसन गार्मेट तृतिय भयो । उसले नगद १५ हजार जित्यो । स्थानियस्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकासमा टेवा पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो ।
काठमाडौं : एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७६ को विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । १३ औं सागमा चार स्वर्ण जितेकी गौरिका सिंह सहित दोहोरो स्वर्ण विजेता तेक्वान्दोकी आयशा शाक्य, ऐथलेटिक्सकी ऐतिहासिक स्वर्ण विजेता सन्तोषी श्रेष्ठ, साग स्वर्ण विजेता ट्रायथलनकी सोनी गुरूङ र करातेकी अनु अधिकारी वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेका छन् ।
गौरिकाले सनसनीपुर्ण प्रदर्शनकासाथ ऐतिहासिक चार स्वर्णको सफलता प्राप्त गरेकी थिइन् । सागमा पौडीमा व्यक्तिगततर्फ स्वर्ण जित्ने उनी पहिलो खेलाडी हुन् । उनी एउटै सागमा सर्वाधिक चार स्वर्ण जित्ने नेपालकी एक्ली खेलाडी पनि हुन् ।
आयशा शाक्यले भने तेक्वान्दोको पुम्सेतर्फ व्यक्तिगत र टिमतर्फ स्वर्ण जितेकी थिइन् । सन्तोषी, अनु र सोनीले भने सागमा स्वर्ण जितेका थिए । यो विधामा गौरिकाको सम्भावना अत्याधिक रहेको छ ।
वर्ष पुरूष खेलाडीको मनोनयनमा सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ र सुवास तामाङसहित साग स्वर्ण विजेता फुटबलका विकेश कुथु, ऐथलेटिक्सका गोपिचन्द पार्की र तेक्वान्दोका कमल श्रेष्ठ मनोनयनमा परेका छन् । मन्डेले करातेको व्यक्तिगत र टिमतर्फ स्वर्ण जितेका थिए । सुवासले पनि व्यक्तिगत र टिमतर्फ स्वर्ण जितेका थिए ।
यसैगरी बिकेश, गोपी र कमलले पनि सागमा उत्कृष्ट प्रदर्शन सहित स्वर्ण जितेका थिए । यो विधामा मन्डे र सुवासबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
युवा खेलाडीमा गल्फका सुवास तामाङ, भारतोलनकी सन्जु चौधरी, तेक्वान्दोका भुोेन श्रेष्ठ र सिना लिम्बु तथा जुडोकी पुनम श्रेष्ठ मनोनयनमा परेका छन् ।
उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका नविन श्रेष्ठ,करातेका मदन उप्रेती,उसुका अमर कुमार थिङ, पौडीका शंकर कार्की र बक्सिङका प्रकाश थापा मगर मनोनयनमा परेका छन् ।
यसअघि मन्चले पिपल्स च्वाइस अवार्डको मनोनयनको घोषणा गरिसकेको थियो । चार स्वर्ण विजेता गौरिका सिंह, दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ र सुबास तमाङ भने दुई दुई विधामा मनोनयनमा परेका छन् ।
छनोट समितिका संयोजक गोविन्द रेग्मीसहित ११ सदस्यीय समितिले वर्ष २०७६ मा गरेको प्रदर्शनको आधारमा मनोनयन सार्वजनिक गरेको हो । यसैगरी लाइफ टाइम अचिभमेन्ट अवार्ड,पारा एथलिट सम्मान,स्पेसल अवार्ड र एसियन जर्नलिस्टको अवार्ड भने कार्यक्रमको दिन घोषणा गरिनेछ ।
पुस २८ गते हुने अवार्डको उत्कृष्ट पुरूष,महिला र पिपल्स चवाइसको विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेताहरुले ५०/५० हजार प्राप्त गर्नेछन् ।
काठमाडौं : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश एकले उचालेको छ । आईतबार दाङको लमहीमा भएको फाइनल खेलमा साविकको विजेता विभागीय टोली एपीएफलाई छ रनले पराजित गर्दै प्रदेश एकले पहिलोपटक उपाधि जितेको हो ।
उपाधिसँगै प्रदेश एकले नगद पाँच लाख प्राप्त गर्दा उप– विजेता बनेको एपीएफले तीन लाख प्राप्त गरेको छ । फाइनल खेलमा प्रदेश एकले प्रस्तुत गरेको एक सय ६ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको एपीएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा सिमित हुन् पुगेपछि प्रदेश १ लाई उपाधि उचाल्न पर्याप्त बन्यो ।
एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् । भने करुणा भण्डारीले अविजित रहँदै २६ रन बनाइन् । यस्तै ओपनर ब्याटरले १४ रनको योगदान दिँदा अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा जितको नजिक पुगेर एपीएफ निराश हुन् पुग्यो । बलिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री र अलिशा खडियाले दुई दुई विकेट लिए भने संगिता राईले १ विकेट लिइन् ।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । कप्तान रुविना क्षेत्रीले १८ र अप्सरी बेगमले ३४, काजल श्रेष्ठले २९ रनको योगदान दिए ।
बलिङतर्फ एपीएफका लागि कप्तान सिता राना मगरले तीन विकेट हात पारिन् । यस्तै करुणा भण्डारीले १ विकेट लिएकी थिइन् । यो जित प्रदेश एकको लागि विशेष रहयो । अपराजित रहँदै पहिलो पटक उपाधि जित्यो। प्रतिद्वन्द्वी एपिएफलाई हराउनु प्रदेश टिमकोलागि अर्को ठुलो उपलब्धि हो। एपिएफ भने फाइनलमा हारेको यो तेस्रो पटक हो ।
यसअघि २०७२ मा जनकपुरसँग र सातौ राष्ट्रिय खेलकुदको विवादस्पद फाइनलमा पुर्वाञ्चलसँग हारेको थियो । प्लेयर अफ द सिरिजको उपाधि प्रदेश एककी संगिता राइले प्राप्त गरिन् ।
काठमाडौं : दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलको खेल हुँदै छ । बिहीबार समूह चरणका खेल सकिएपछि शुक्रबार एक दिन रेस्ट दिइएको थियो ।
आठ टिम सहभागी यस प्रतियोगितामा विभागीय क्लब एपीएफ, प्रदेश एक, लुम्बिनी र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका छन् । आज हुने पहिलो खेलमा समूह ए को विजेताको हैसियतले एपीएफले समूह बीको उप विजेता सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने छ ।
यसैगरी दिउँसो हुने अर्को खेलमा समूह बीको विजेता प्रदेश एकले समूह ए को उप विजेता लुम्बिनीसँग प्रतिस्पर्धा गर्ने छ । पहिलो खेल विहान साढे ९ तथा दोस्रो खेल दिउँसो सवा एक बजेदेखि शुरुहुने छ ।
आजको विजेता टिमले आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्ने छ ।
उप विजेताले तीन लाखमा चित्त बुझाउँदा सेमिफाइनलमा पराजित हुने दुई टिमले २५–२५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितालाई सगरमाथा सिमेन्ट प्रा.लिले प्रयोजन गरेको छ ।
काठमाडौं : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । दाङको देउखुरीमा हुने प्रतियोगिता उदघाटन खेलमा लुम्बिनी र प्रदेश नम्बर दुई बीच प्रतिस्पर्धा हुँदैछ ।
आजै दिउँसो अर्को खेलमा विभागीय टिम सशस्त्र र कर्णाली प्रदेशविच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर दुई, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर एक रहेका छन् ।
प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । समूह चरणका खेल पुस १६ सम्म चल्ने छन् ।
समूह चरणको खेलपछि दुबै समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल पुस १९ मा हुने छ । मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदपछि महिला क्रिकेट टोलीले पहिलो ठूलो प्रतियोगिता खेल्न लागेका हुन ।
एजेन्सी : बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफाले वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् । अवार्डका लागि मनोनयनमा परेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले उपाधि जितेका हुन् ।
पोल्यान्डका ३२ वर्षीय सुपरस्टार लेवान्डोस्कीले सन् २०१९/२० को सिजनमा ४७ खेलमा ५५ गोल गरेका थिए । बायर्नलाई तीन मुख्य उपाधि दिलाउन उनको निर्णायक योगदान थियो । उनी च्याम्पियन्स लिग र लिग कपका सर्वाधिक गोलकर्ता पनि बनेका थिए ।
फिफाले हरेक वर्ष ९ विधामा अवार्ड प्रदान गर्ने गर्छ । यसवर्ष म्यानचेस्टर सिटीकी डिफेन्डर लुसी ब्रोन्ज महिलातर्फ उत्कृष्ट बनिन् । विजेताको घोषणा राष्ट्रिय टोलीका कप्तान र मुख्य प्रशिक्षक, समर्थकबाट आउने अनलाइन मत र विश्वभरबाट २ सय जना खेलकुद पत्रकारबाट आउने मतका आधारमा गरिन्छ ।
यस्तोमा लेवान्डोस्कीले ५२ अंक पाएका थिए भने रोनाल्डोले ३८ र मेस्सीले ३५ अंक पाएका थिए । लेवान्डोस्कीले यो अवार्ड जितेको पहिलोपल्ट हो ।
महिलातर्फ खेलाडीमा इंग्ल्यान्डकी लुसी ब्रोन्जले द बेस्ट अवार्ड जितिन् । महिलातर्फ प्रशिक्षकमा नेदरल्यान्डकी सारिना विग्मन द बेस्टको उपाधि जित्न सफल रहिन् ।
पुरुषतर्फ प्रशिक्षकको द बेस्ट उपाधि लिभरपुलका योर्गेन क्लोपले जिते । इटालीका माटिया अग्नेसेले फिफा फेयर प्ले अवार्ड जिते । फिफा फ्यान अवार्ड ब्राजिलका फ्रान्सिस्को मारिभाल्डोले जिते । म
हिलातर्फ द बेस्ट गोलरक्षकको उपाधि फ्रान्सकी सारा बौहाद्दीले जितेकी छिन् । पुरुषको द बेस्ट गोलरक्षक जर्मन कप्तान म्यानुएल नोएर चुनिए । फिफाले उत्कृष्ट गोलका लागि प्रदान गर्ने पुस्कास अवार्ड टोटेनहमका सन ह्युङ मिनले जितेका छन् ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies