काठमाडौंः अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रकम रु. १० लाख ९५ हजार पाँच सय ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–७ घर भई हाल काठमाडौैं गोठाटार बस्ने २२ वर्षीय सुशन घिमिरे रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका घिमिरेले अनलाइन पेजमार्फत विभिन्न डिजाइनका गरगहना तथा अन्य सामान बिक्री गर्ने गरेकामा सामाजिक सञ्जाल इन्स्ट्राग्राममा झुट्टा रिसिप्ट पठाई पीडितलाई झुक्यानमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ ।
पक्राउ परेका घिमिरेलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।
काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा जिल्लाका शिवकुमार सर्राफ रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिए । उनका अनुसार सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत रहेका सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति पक्राउ गरेको हो ।
राजस्व अनुसन्धान विभागको टोलीले गएको गत साउन ३ गते उक्त सुन बरामद गरेको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको प्रहरीले जनाएको छ ।
रूपन्देहीः रूपन्देहीमा १० वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिलोत्तमा नगरपालिका–२ सिमानगर बस्ने ५४ वर्षीय गणेश न्यौपानेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
न्यौपानेले ती बालिकालाई गत आइतबार बुटवल उपमहानगरपालिका–४ तिनाउखोलाको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा नगर प्रहरी कार्यालय योगीकुटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ओखलढुङ्गाः ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो ।
दुवै जनाबीच बुधबार बिहान सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कँदै गरेका अधिकारीलाई कटुवालले धकेल्दा लडेर उनी घाइते भएका थिए । गम्भीर घाइते अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा अस्पताल पुर्याउना साथ उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । प्रहरीले कटुवाललाई बुधबार साँझ पक्राउ गरेर घटनाबारे अनुसन्धान थालेको छ ।
बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा स्वास्थ्य क्लिनिक सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले अनुगमन गर्दा स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन गरेको पाइएको हो । अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँस्थित कविर मेडिकल हल, दोगडाकेदार–७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार–३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
पञ्ज्युनयाँस्थित कविर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ । उनले भने, ‘स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेको पाइयो, त्यसैले सञ्चालक कार्कीलाई नियन्त्रणमा लिएका छौँ । यो विषयमा थप अनुसन्धान भइरहेको छ ।’
स्वास्थ्य क्लिनिक सञ्चालकले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिले मेडिकल सञ्चालन गरेको तथा सम्बन्धित निकायमा दर्ता प्रक्रियासमेत पूरा नगरेको पाइएकाले क्लिनिक सिल गरिएका प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । क्लिनिक अवैधरुपमा सञ्चालन गरिएका जनगुनासो आएपछि अनुगमन थालिएको उनको भनाइ छ । रासस
काठमाडौंः वीर अस्पतालको छैटौं तलाबाट हाम फाल्दा एक पुरुषको ज्यान गएको छ । अस्पतालको सर्जिकल भवनबाट सोमबार बिहान साढे दुई बजे पुरुषले हाम फालेको अस्पतालका सूचना अधिकारी सागर मिश्रका जानकारी दिए ।
अन्दाजी ४० वर्षका उनले बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेकाे मिश्रले बताए । प्रवेशपश्चात माथि तलामा गएर उनले हाम फालेका हुन् । मिश्रले भने, ‘अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । ‘उनी बाहिरका मान्छे हुन् । यो मेरो मान्छे हो भनेर कोही भन्न आएको पनि छैन, लाश बेवारिसे अवस्थामा छ ।’
काठमाडौंः ज्यान मार्ने उद्योग कसूरका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुरज खड्का रहेका छन् । उनी २०७८ चैत ९ गते दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरेकाले काठमाडौंस्थित शंखमुलबाट पक्राउ परेका थिए ।
सोही उद्योग कसूरमा संलग्न रही फरार रहेका मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चाबहिलबाट पक्राउ गरेको हो । उनलाई ज्यान मार्ने उद्योग कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ ।
म्याग्दीः अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार बेनी नगरपालिका–९ गलेश्वरस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ केजी ७ सय ग्रामसहित तीन जना पक्राउ परेका हुन् ।
प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले पर्वत जलजला गाउँपालिका–३ वारीबेनी बस्ने २० वर्षीय सुमित परियारसहित ३ जनालाई शनिबार साँझ उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ललितपुरः १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ का ३६ वर्षीय सुजन नगरकोटी रहेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नगरकोटीले ती किशोरीलाई बिहीबार दिउँसो सोही नगरपालिका–२ त्रिवेणीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले संरक्षित वन्यजन्तु गैँडाको आखेटोपहार (खाग)सहित चार जनालाई पक्राउ गरेको छ ।
वन्यजन्तुको अङ्ग अवैधरुपमा ओसारपसार तथा खरिदबिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागि ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिकाका प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका बस्ने वर्ष ५० का पूर्णसिंह तामाङ, काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१३ का ३१ वर्षीय श्रीकृष्ण नगरकोटी र नुवाकोट दुप्तेश्वर गाउँपालिकाका ३५ वर्षीय कर्ना तामाङ रहेको ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
केही अघि पक्राउ गरी आज विवरण सार्वजनिक गरेको ब्यूरोले उनीहरु चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा बुझाइएको जानकारी दिएको छ । उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies