काठमाडौंः इन्टरपोलबाट ‘रेड नोटिस जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइएको छ । म्याग्दी साविक अर्मन गाविस–२ ठेगाना भएका २७ वर्षीय प्रकाश बिकलाई मलेशियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको हो ।
उनले पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो, फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने तथा पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि निजको नाममा फेक एकाउन्ट बनाउने गरेका थिए ।
साथै ती सामग्री पोर्न साइटमा समेत अपलोड गरी चरित्र हत्या गरेको सम्बन्धि साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएका बिकलाई नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल मलेशियासँगको समन्वयमा नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
बिक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको साइबर ब्यूरो भोटाहिटीबाट अनुरोध प्राप्त भएबमोजिम उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २०७८ माघ २४ गते ईन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो ।
बिकलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर व्यूरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।
वीरगन्जः गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष २०७९/८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
कार्यालयले कम नापतौलमा सामान बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने तथा इजाजत नलिई कारोबार गर्ने रौतहटका १३, चितवनका पाँच र पर्साका एक व्यापारीमाथि सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका सूचना अधिकारी सञ्जीवकुमार ठाकुरले जानकारी दिए ।
उनले इजाजत नलिई नापतौल गर्ने यन्त्रको प्रयोग गर्ने रौतहटको पशुपति फेन्सी, माँ लक्ष्मी सुनचाँदी ज्वेलर्स, न्यू प्रिया ज्वेलर्स, रामबलराम ट्रेडर्स, रिसब ट्रेडर्स, बैजु किराना एन्ड जेनरल सटार्स, सरोज बिज भण्डार, कृष्णा राइस मिल, बाबा विश्वकर्मा राइस मिल, पप्पु हार्डवेयर एन्ड मेसिनरी, लक्ष्मी हार्डवेयर, रोशन हार्डवेयर स्टोर्स र जय बजरङ्गवली ट्रेडर्सविरुद्ध अदालतमा मुद्दा दायर गरिएको बताए ।
चितवनको खजुरीको नेपाल प्रालि, खुन्हा एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालि, प्यासिफिक एक्जिम नेपाल प्रालि, याक ब्रिबिङ्ग कम्पनी प्रालि र याक डिब्टिलरी प्रालिमाथि पनि जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको सूचना अधिकारी ठाकुरको भनाइ छ । यस्तै पर्साको जय वनहरबाबा कृषि सहकारी संस्थाविरुद्ध पनि मुद्दा दर्ता गरिएको जनाएको छ ।
अनुगमनका क्रममा जाँच गर्दा इजाजत नलिई कारोबार गर्ने गरेको तथा कम तौलमा सामान बिक्री गर्ने गरेको पाइएपछि ती १९ व्यापारीविरुद्ध एक वर्षसम्म कैद तथा रु. १० हजारसम्म जरिवानाको मागदाबीसहित अदालतमा मुद्दा दायर गरिएको उनको कथन छ ।
यस्तै गतआव मा एक हजार चार सय ३६ व्यापारीमाथि कारबाही गरी जरिवाना तिराएको सो कार्यालयले जनाएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सो आवमा एक हजार तीन सय २४ व्यापारीले नियमित जाँच/नवीकरण र एक हजार एक सय ६१ व्यापारीले जरिवाना तिरी नवीकरण तथा पाँच सय ६५ व्यापारीलाई अनुमति/इजाजतपत्र दिइएको छ ।
ती सबै शीर्षकबाट गत आव मा एक करोड ४० लाख २३ हजार दुई सय ६९ राजस्व सङ्कलन भएको सूचना अधिकारी ठाकुरले जानकारी दिए । सो कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने मधेस प्रदेशको रौतहट, बारा, पर्सा र बागमती प्रदेशको मकवानपुर र चितवन जिल्लामा व्यापारीले गैरकानुनीरुपमा प्रयोग गर्ने ढक, तराजुलाई निरुत्साहित गर्न डोर (अनुगमन) गर्दै आएको छ । कुनै पनि नापतौल गर्ने यन्त्र प्रयोग गर्नुपूर्व खरिद गरेको ३५ दिनभित्र नजिकको गुणस्तर नापतौल कार्यालयबाट अनुमति लिइसक्नुपर्ने कानुनी व्यवस्था छ ।
काठमाडौंः काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–३ दुवाकोट बस्ने २५ वर्षीय दिनेश सापकोटा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार बैंकिङ कसुर र ठगीसम्बन्धी कसूर मुद्दामा भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भएका उनलाई दुवाकोटबाट पक्राउ गरिएको हो । पक्राउ परेका सापकोटालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कैलालीः कैलाली लम्कीचुहा नगरपालिका–४ की ३३ वर्षीया मञ्जु रावलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले निजकी सौतासहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिलीप चन्दले रावलको हत्यामा संलग्न भएको आरोपमा सरिता रावल, मृतककी सौता गोमा रावल, सौताका छोरा भरत रावल, छोरी वर्षा रावललाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार गोमा रावललाई दीपायल र बाँकी तीनलाई धनगढीबाट पक्राउ गरिएको हो ।
गत जेठ २५ गतेदेखि बेपत्ता भएको मञ्जु रावललाई मोहन्याल गाउँपालिकाको बाँसबारी सामुदायिक वनको खोल्सामा आइतबार मृत फेला पारिएको थियो । मृतक रावलको हड्डी र कङ्काल भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रीमानको निधनपछि दुई सौताबीच अंशबण्डाका विषयमा विवाद शुरु भएको थियो ।
विवादित जग्गा मृतक मञ्जुका नाममा थियो । मृतकका भाई सुरेन्द्र कार्कीले दिदी मञ्जुलाई बेपत्ता परेको भन्दै गोमा रावल, भरत रावल र अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–६ का सरिता रावल समेतको नाममा किटानी जाहेरी दिएका थिए । साथै मृतकका छोरा विवेक रावलले यही असार १ गते आमा मञ्जुको खोजतलास गरी पाउँ भनी इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए ।
मृतक मञ्जुको श्रीमान् जनक रावलसँग २०७६ असारमा सम्बन्धविच्छेद भएको थियो भने अर्को वर्षको चैतमा जनक रावलको निधन भएको थियो । श्रीमानकाे मृत्युपछि दुवै सौताले वडा कार्यालयमा मृत्यु दर्ता गराएका थिए ।
सम्बन्धविच्छेदपछि मृतक मञ्जुले मृत्यु दर्ता प्रमाण पत्रको श्रीमतीको महलमा झुठा विवरण राखेर आफ्नो नाम राखेपछि निजको सौता गोमाले मञ्जुको नाम हटाई पाउँ भनी निवेदन दिएकी थिइन् । झुठो विवरण पेस गरी मृत्यु दर्ता गरिएको कसुरमा मञ्जुमाथि मुद्दा चलेको थियो ।
झापाः झापामा १७ वर्षीया किशोरी जबरजस्ती करणीमा परेकी छिन् । जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको कनकाई नगरपालिका–९ बस्ने २३ वर्षीय प्रवास राजवंशीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राजवंशीले ती किशोरीलाई गत असार १८ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
सिन्धुली सुनकोशी गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ३३ वर्षीय राजन गिरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
गिरीले १ जनालाई वैदेशिक रोजगारका लागि साइप्रस पठाइ प्रतिष्ठित कम्पनीमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख रुपैयाँ लिई सम्पर्क बिहीन भएर ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएको हो । पत्राचार पछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं लाजिम्पाटबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
रुपन्देहीः प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । रुपन्देहीको सियारी गाउँपालिका–७ अमुवाका ३० वर्षीय लाल बहादुर थारु र ४० वर्षीय जित बहादुर थारुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
अमुवास्थितकै जनता माध्यमिक विद्यालय अमुवा रुपन्देहीको खेल मैदानमा प्रथम अमुवा सांस्कृतिक रमाईलो मेलामा उनीहरु दुवै जना झगडा गरेको गरिरहेका थिए । साेही अवस्थामा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरी टोली माथि नै दुर्व्यवहार गरेकोले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तेह्रथुमः आफ्नै गोठमा आगजनी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । जिल्लाको छथर गाउँपालिका–६ सुदाप बस्ने २८ वर्षीय भानु बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बस्नेतले आफ्नै गाई गोठमा गएराति आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुर र अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आगलागीबाट गोठमा रहेका ३ वटा गाई र १० वटा खसी बाख्रा जली मरेका छन् भने गोठ नजिकै रहेको घरमा समेत आगो फैलिएर आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ता कपडा जलेर करिब ३० लाख रुपैयाँ बरामद धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
महोत्तरीः महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते रु. १५ लाख लुटेको घटनामा साफी संलग्न थिए । चार/पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए ।
साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो । लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ । चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।
झापाः झापामा लागुऔषध सम्बन्धीका दुई सय ६ मुद्दा दर्ता भएकामध्ये दुई सय पाँचको फर्छ्यौट भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७ भारतीय नागरिकसहित तीन सय ३६ जना लागुऔषध कारोबारी पक्राउ परेका र ती मध्ये १६ देखि ६० वर्षमाथि वर्षसम्मका व्यक्ति छन् ।
उनले १६ वर्षमुनिका एक, १६ देखि २५ पर्ष उमेर समूहका एक सय सत्ताइस, ३६ देखि ४५ वर्षका ३८, छयालिसदेखि ६० वर्षका १२ र ६० वर्षमाथिका एक जनालाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाएको बताए । जिल्लाका काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज, डिगलबैंक, कुमरखोद, कचनकवल लगायतका विभिन्न नाकाबाट दैनिक जसो प्रहरीले लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई नियन्त्रणमा लिइरहेको छ ।
प्रवक्ता रिजालले गत आर्थिक वर्षमा लागुऔषध सेवनकर्तालाई मनोपरामर्श दिई आफन्तलाई जिम्मा लगाइएको सङ्ख्या नौ सय ६२ जना रहेको बताए । उनले एक वर्षको अवधिमा लागुऔषधि मुद्दामा करिब दुई केजी ब्राउन सुगर, २८ केजी गाँजा, एक सय १५ लुपिजेसिक, एक सय ३० एमपुल डाइजापाम, एक सय २५ एम्पुल फेनरागन, नाइट्रोसन चक्कीलगायत बरामद गरेको जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies