तेह्रथुमः आफ्नै गोठमा आगजनी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । जिल्लाको छथर गाउँपालिका–६ सुदाप बस्ने २८ वर्षीय भानु बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बस्नेतले आफ्नै गाई गोठमा गएराति आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुर र अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आगलागीबाट गोठमा रहेका ३ वटा गाई र १० वटा खसी बाख्रा जली मरेका छन् भने गोठ नजिकै रहेको घरमा समेत आगो फैलिएर आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ता कपडा जलेर करिब ३० लाख रुपैयाँ बरामद धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
महोत्तरीः महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते रु. १५ लाख लुटेको घटनामा साफी संलग्न थिए । चार/पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए ।
साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो । लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ । चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।
झापाः झापामा लागुऔषध सम्बन्धीका दुई सय ६ मुद्दा दर्ता भएकामध्ये दुई सय पाँचको फर्छ्यौट भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७ भारतीय नागरिकसहित तीन सय ३६ जना लागुऔषध कारोबारी पक्राउ परेका र ती मध्ये १६ देखि ६० वर्षमाथि वर्षसम्मका व्यक्ति छन् ।
उनले १६ वर्षमुनिका एक, १६ देखि २५ पर्ष उमेर समूहका एक सय सत्ताइस, ३६ देखि ४५ वर्षका ३८, छयालिसदेखि ६० वर्षका १२ र ६० वर्षमाथिका एक जनालाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाएको बताए । जिल्लाका काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज, डिगलबैंक, कुमरखोद, कचनकवल लगायतका विभिन्न नाकाबाट दैनिक जसो प्रहरीले लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई नियन्त्रणमा लिइरहेको छ ।
प्रवक्ता रिजालले गत आर्थिक वर्षमा लागुऔषध सेवनकर्तालाई मनोपरामर्श दिई आफन्तलाई जिम्मा लगाइएको सङ्ख्या नौ सय ६२ जना रहेको बताए । उनले एक वर्षको अवधिमा लागुऔषधि मुद्दामा करिब दुई केजी ब्राउन सुगर, २८ केजी गाँजा, एक सय १५ लुपिजेसिक, एक सय ३० एमपुल डाइजापाम, एक सय २५ एम्पुल फेनरागन, नाइट्रोसन चक्कीलगायत बरामद गरेको जानकारी दिए ।
कैलालीः गैर कानूनी रुपमा क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–३ बोराडाडीस्थित अर्जुन क्लिनिकका संचालक ४५ वर्षीय अर्जुन कुँवर र सोही उपमहानगरपालिका–७ देवरियास्थित अभिनव हेल्थ क्लिनिकका संचालक गौरीगंगा नगरपालिका–१० घर भएकी २१ वर्षीया कमला बोहरा रहेका छन् ।
धनगढी क्षेत्रमा ईजाजत बिना मेडिकल, फार्मेसी तथा औषधि पसलहरु संचालन गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय धनगढी कैलालीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा गैर कानूनी रुपमा क्लिनिक संचालन गरी औषधि बिक्री तथा चिकित्सा सेवा प्रदान गरेको खुल्न आएपछि उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।
वाग्मतीः नापतौलयन्त्रको तोकिएको समयमा नवीकरण नगराउने र तौलमा ठगी गर्ने एक हजार चार सय ३६ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई जरिवानासहित कारबाही गरिएको वीरगन्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले जनाएको छ ।
उक्त कारबाहीमा ठूला आद्यौगिक र व्यावसायिक प्रतिष्ठानदेखि साना व्यवसायीसमेत परेका छन् । वारा, पर्सा, रौतहट, मकवानपुर तथा चितवन कार्यक्षेत्र रहेको सो कार्यालयले आव२०७९/८० मा गरेको विशेष अनुगमन तथा नियमित नापतौल जाँचको क्रममा अनियमितता गर्ने ब्यावसायिक संस्था तथा व्यक्तिलाई कारबाही गरेकोे निमित्त कार्यालय प्रमुख सञ्जीवकुमार ठाकुरले जानकारी दिए ।
सो कार्यालयले उक्त अवधिमा एक हजार तीन सय २४ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको नापतौल यन्त्रको जाँच र नवीकरण गरेको थियो । कार्यालयबाट प्राप्त विवरणअनुसार गत आर्थिक वर्षमा पाँच सय ६५ नयाँ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई नापतौल यन्त्रको इजाजतपत्र दिइएको थियो। सो कार्यालयमा तीन हजार तीन सय २५ जना व्यवसायीले नापतौलसम्बन्धी इजाजतपत्र लिएर कार्य गरिरहेको उनले बताए ।
गत आर्थिक वर्षमा नौ सय दुई पम्पको नोजल जाँच, चार सय ३५ भेहिकलको ट्याङ्क जाँच गरिएको, नापतौलसम्बन्धी उपभोक्ता हकहित संरक्षणका लागि एकल अनुगमन ३२ पटक तथा संयुक्त अनुगमन २८ पटक गर्नाका साथै १९ व्यावसायिक प्रतिष्ठान बिरुद्ध अभियोगपत्र दायर गरिएको जनाइएको थियो ।
साथै कार्यालयले सो अवधिमा विभिन्न शीर्षकबाट एक करोड ४० लाख २३ हजार दुई सय ६८ राजस्वसमेत सङ्कलन गरेको पनि बताइएको थियो । कार्यालयले डिजिटल नागरिक वडापत्र तथा डिजिटल गुनासो सुनवाइको व्यवस्था गरेकामा उक्त कार्यको सेवाग्राहीले प्रशंसा थिए ।
कपिलवस्तुः स्रोत नखुलेको लाखौँ रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१ स्थित नयाँ टोल डेरा गरी बस्ने ४७ वर्षीय सुनिल कुमार गुप्ता रहेका छन् ।
प्रहरीले उनको साथबाट २४ लाख १३ हजार २ सय ५५ नेपाली रुपैयाँ र विभिन्न दरको १४ लाख ९४ हजार ९ सय २० भारतीय रुपैयाँ मंगलबार बरामद गरको छ ।
उनले अवैध रुपमा भारतीय रुपैयाँको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई लुकाई छिपाई राखेको उक्त रकमसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बाराः २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको अभियोगमा उनका श्रीमान पक्राउ परेका छन् । प्रहरीले भारतको बिहारका २६ वर्षीय मोहमद अमानुल्लाह बुधबार बिहान पक्राउ गरेको छ ।
सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माईती घरमा बस्दै आएकी यास्मिनलाई अमानुल्लाहले माईती घरमा आएर धारिलो हतियार प्रयोग गरी हत्या गरेको थिए । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै अमानुल्लाहलाई स्थानीयबासीले कुटपिट गर्दा उनी घाइते भएका छन् । उनको प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बागलुङः होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेको स्थानको होटल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
घटना शङ्कास्पद देखिएको भन्दै प्रहरी उपरीक्षको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खार बजार पुगेको प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ । यस्तै मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको शव परीक्षणका लागि बागलुङ ल्याउने तयारी थालिएको छ । शवको गहिरो र विस्तृत अनुसन्धानका लागि धौलागिरि अस्पताल र आवश्यक परेमा पोखरासमेत पठाइने प्रहरीको भनाइ छ ।
आशा होटल एण्ड खाजा घरमा गए राति प्रहरी इञ्चार्ज पौडेल मृत फेला परेका थिए । प्रहरीले घटनाका विषयमा अनुसन्धानपछि मात्रै वास्तविकता बताउने जनाएको छ । प्रहरी उपरीक्षक खड्काले भने, ‘प्रहरी गहिरो अनुसन्धानमा छ, प्रहरी इञ्चार्जको नै यस्तो अवस्था हुनु निकै दुःखद् हो, घटना शङ्कास्पद देखिन्छ, प्रहरी घटनाको विषयलाई छिट्टै बाहिर ल्याउन लागि परेको छ ।’
काठमाडौंः काठमाडौंमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौंमा अपराधको सङ्ख्या बढ्दै गएको हो ।
आव २०७७/७८ मा पाँच हजार ६६२, आव २०७८/७९ मा आठ हजार नौ सय ७७ र आव २०७९/८० मा १३ हजार चार सय ६४ अपराधका मुद्दा दर्ता भएका थिए । प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौंभित्र बैंकिङ कसुर र आर्थिक अपराधका मुद्दा बढेको बताए ।
‘पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिट्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी ठगी गर्ने प्रवृत्ति बढेको छ’, उनले भने । आव २०७९/८० मा दर्ता भएका १३ हजार चार सय ६४ अपराधका मुद्दामध्ये बैंकिङ कसुरका मात्र सात हजार १०१, अभद्र व्यवहारका दुई हजार आठ सय ९४, चोरीसम्बन्धी छ सय ४७, ठगीका चार सय १४, लागुऔषधका तीन सय ६८, आत्माहत्यासम्बन्धी तीन सय ५७ मुद्दा रहेका छन् ।
यस्तै महिला तथा बालबालिकासम्बन्धी कसुरमा तीन सय २६, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी एक सय ८९, कर्तव्य ज्यानसम्बन्धी २७ र अन्य अपराधका एक हजार एक सय ४१ मुद्दा दर्ता भएका थिए । यहाँका प्रहरीले हाल काठमाडौंभित्र ५६ प्रहरी इकाईमार्फत सुरक्षा प्रवाह गर्दै आइरहेको छ ।
काठमाडौंः मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका–२७ घर भई हाल काठमाडौंको गुह्रेश्वरी डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ लालच र भ्रममा पारी अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भनि पीडितहरुलाई अन्यत्र देशमा लगि अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिने जस्ता आपराधिक कार्यमा संलग्न रहेको खुल्न आएपछि तामाङलाई नेपाल प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
तामाङ समेतले हवाई मार्ग हुदै अमेरिका लैजाने प्रलोभन देखाई जनही ११ लाख ३० हजारदेखि ६० लाख रुपैयाँसम्म रकम लिई हालसम्म पीडितहरुबाट जम्मा २ करोड २६ लाख २३ हजार ८ सय ९० रुपैयाँ लिएको, नेपालबाट अमेरिका लैजाने भनि भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाईल्याण्ड, लाओस र जाम्बिया लगायतका देशहरुमा पुर्याई अलपत्र पारी थप रकम माग गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies