गोलबजारः वन कार्यालय सिरहाको टोलीले गोलबजार नगरपालिका–१० स्थित सामुदायिक वन अतिक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । टोलीले स्थानीय कुमार तामाङ, उनकी श्रीमती मालती लामा र कासिन्द्र सदालाई बिहीबार नियन्त्रणमा लिएको हो ।
सामुदायिक वनको जग्गा खनजोत गरिरहेको अवस्थामा ट्याक्टरसहित तीनै जनालाई सब डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । गोलबजार–१० धोबियाधारस्थित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी खनजोत गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको सहायक वन अधिकृत सत्यनारायण यादवले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई वन ऐनअन्तर्गत सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्राले जानकारी दिए । सो वन क्षेत्रमा गत आर्थिक वर्षमा डिभिजन वन कार्यालयले करिब ३० हेक्टर जग्गामा तारबारसहित वृक्षरोपण गरेको थियो ।
काठमाडौंः जनमत पार्टीको अनुशासन समितिले पार्टीको नीति, निर्देशन तथा विधानविपरीत काम गरेको भन्दै सो पार्टीका पाँच नेतालाई कारबाही गरेको छ ।
कारबाहीमा पर्नेमा पूर्वसांसद बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, रुपन्देहीका शङ्कर खड्का, भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवानदास यादव रहेका सो पार्टीका केन्द्रीय प्रवक्ता शरद सिंहले जानकारी दिए ।
उनका अनुसार कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको छ भने मण्डल, भगवानदास यादव र खड्कालाई जनमत पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्वन गरिएको छ । यसैगरी भोपेन्द्र यादवलाई पार्टीको सचिवालयबाट तीन महिनाका लागि निलम्वन गरिएको जनाइएको छ ।
सो पार्टीले विज्ञप्ति प्रकाशन गरी कुशवाहाले पार्टी अनुशानविपरीत काम गर्दै आएको तथा पार्टी नेतृत्वविरुद्ध लागेको, भोपेन्द्र यादवले केन्द्रीय नीतिको उलङ्घन गरी गुटबन्दी गरेको जनाएको छ ।
यस्तै मण्डलले मन्दिरको व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको, खड्काले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको तथा भगवानदास यादवले पार्टीका बैठक र काम कारबाहीका क्रममा होहल्ला गर्दै अनुशासनहिन काम गरेको सो विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौंः जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले आर्थिक वर्ष २०७९/८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवाना फैसला सुनाएपछि फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले विभिन्न मितिमा अदालतले कैद र जरिवानाको फैसला सुनाएकामा फरार रहेकाहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए । अदालतले पक्राउ परेका उनीहरुबाट रु. १२ करोड ८७ लाख ९३ हजार जरिवाना असुल गरेको छ । यस्तै विभिन्न समयमा अदालतबाट कैद र जरिवाना ठहर भएका २३ हजार पाँच सय ९० व्यक्ति अझै फरार रहेको उनले बताए ।
आव २०७९/८० मा १८ हजार एक सय १२ मोबाइल हराएको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको छ । हराएका मोबाइलमध्ये एक हजार छ सय ५० थान फेला परेको प्रवक्ता रिजालले बताए । काठमाडौं प्रहरीमा आव २०७९/८० मा विभिन्न शीर्षकमा दुई हजार एक सय ६३ उजुरी दर्ता भएका छन् । दर्ता भएका निवेदनमध्ये सवारी साधनसम्बन्धी एक सय १६, रकम ठगीका नौ सय ९७, वैदेशिक रोजगारी ठगीका पाँच सय ४०, जग्गासम्बन्धी विवादका ४० र झैझगडा कुटपिटका ६३ उजुरी छन् ।
यसैगरी, घरेलु हिंसाका १५, सहकारीसम्बन्धी ठगीका ५०, अनलाइन ठगीका ४०, चेकसम्बन्धी ठगीका दुई सय ७६, सरसामान चोरीका २१ र मोटरसाइकल चोरीका तीन उजुरी परेका छन् । परेकामध्ये छ सय २१ उजुरी फर्छ्याैट भएको र बाँकी पक्रियामा काठमाडौं प्रहरीले जनाएको छ ।
काठमाडौंः काठमाडौं जिल्लामा एक वर्षमा बैङ्किङ कसुरमा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं सोमबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७९/८० को एक वर्षमा काठमाडौंभित्र बैङ्किङ कसुरसम्बन्धी सात हजार एक सय एक मुद्दा दर्ता भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा बैङ्किङ कसुरको मुद्दा दोब्बरले बढेको जानकारी दिए । ‘आव २०७८/७९ मा तीन हजार सात सय १५ मुद्दा दर्ता भएको थियो । आव २०७९/८० मा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन्, अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दर्ता भएका मुद्दाको सङ्ख्या झन्डै दोब्बर हो’, उनले भने ।
यस्तै, आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा चोरीको घटनामा समेत वृद्धि भएको छ । आव २०७८/७९ मा चार सय ६० चोरीका घटना दर्ता भएका थिए भने आव २०७९/८० मा छ सय ४७ चोरीका घटना दर्ता भएको परिसरले जनाएको छ ।
यसैगरी, आव २०७९/८० मा लागुऔषधमा तीन सय ६८ मुद्दा दर्ता भएका छन् । सोही आवमा काठमाडौँभित्र तीन सय ४१ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । ज्यानसम्बन्धी कसुर आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा घटेको छ ।
आव २०७८/७९ मा ३७ जनाको हत्या भएको थियो भने आव २०७९/८० मा २७ जनाको हत्या भएको परिसरका प्रमुख कार्कीले बताए । काठमाडौंमा अपराध अनुसन्धानमा महत्त्वपूर्ण साधन मानिने सिसिटिभी बिग्रिएका कारणले सोचेजस्तो काम हुन नसकेको उनको भनाइ छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं मातहतमा एक हजार ७७ सिसिटिभी जडान भएको भए पनि हाल जम्मा पाँच सय ३२ सिसिटिभीमात्र चालु अवस्थामा रहेका छन् । सिसिटिभी जडानका लागि हालैमात्र काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले प्रहरीसँग सम्झौता गरेर काम अगाडि बढाइसकेको छ ।
झापाः झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । प्रहरीले किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारी बस्ने १४/१४ वर्षका २ जना किशोरलाई सोमबार पक्राउ गरेको छ ।
सोही ठाउँस्थित चिया बगानमा बोलाई ती किशोरीलाई आइतबार राति दुवै जनाले पालै पालो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः सशस्त्र प्रहरी बल नेपालले गएको एक वर्षमा एक अर्ब २६ करोड ४४ लाख २४ हजारको चोरी पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ कोभन्दा आव २०७९/८० मा करिब २७ प्रतिशत बढीको भन्सार छलीका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उक्त अवधिभर सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटले साउनमा नौ करोड ७९ लाख, भदौमा रु. ११ करोड २५ लाख, असोजमा आठ करोड ७४ लाख ९४ हजार, कार्तिकमा छ करोेड ९१ लाख ५८ हजार बराबरको मालसामान बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार मङ्सिरमा आठ करोड ४८ लाख, ५१ हजार, पुसमा रु. १७ करोड ५८ लाख ५० हजार, माघमा आठ करोड १९ लाख ९६ हजार, फागुनमा आठ करोड ७९ लाख ६० हजारको मालसामान बरामद भएको छ ।
त्यस्तै, चैतमा रु. ११ करोड १८ लाख ३० हजार, वैशाखमा रु. १३ करोड ८१ लाख ८९, जेठमा रु. ११ करोड ४३ लाख ६४ हजार र असारमा रु. १० करोड २३ लाख १२ हजार बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको प्रवक्ता खड्काले बताए । आर्थिक वर्ष २०७९/८० मा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयले उल्लेखित मूल्य बराबरको अवैध चोरी, निकासी बरामद, वन पैदावार, सुनचाँदी र अवैध रुपैयाँ बरामद गरी भन्सार दाखिला गरेको उनको भनाइ थियो ।
सो अवधिमा नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले रु. २८ करोड ७३ लाख ४५ हजार, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले रु. ६५ करोड, ७० लाख २६ हजार, नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरले एक करोड ९० लाख ९९ हजार र नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले दुई लाख ८१ हजार बराबरको मालसामान भन्सारमा दाखिला गरेको हो ।
त्यस्तै नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले रु. २२ करोड १६ लाख १५ हजार, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सात करोड ८३ लाख ४५ हजार रुपैयाँ भन्सार दाखिला गरेकोसमेत वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए ।
कन्चनपुरः जिल्ला प्रहरी कार्यालय कन्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिइ ।
‘वर्षौंदेखि अनधिकृतरुपमा सञ्चालनमा रहेका मेडिकल पसल बन्द गराउने अभियान थालेका छौँ’, उनले भने, ‘यस क्षेत्रमा बिना इजाजत जोखिमपूर्ण औषधिको बिक्री वितरण तथा उपचार भइरहेको पाइएको छ ।’
औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अवैधानिक रुपमा मेडिकल पसल सञ्चालन गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको प्रहरी उपरीक्षक थापाले बताए । जिल्ला प्रहरी कार्यालय कन्चनपुरको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा अवैध मेडिकल सञ्चालन गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुर दर्ता भएको छ ।
प्रहरीले शुक्रबार भीमदत्त नगरपालिका क्षेत्रका छ मेडिकल पसलमा खनतलासी गरेको थियो । ती मेडिकल पसलका चार सञ्चालकलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक थापाको भनाइ छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–७ की विमला उपाध्याय, भीमदत्त –१६ मझगाउँका राजेन्द्रबहादुर चन्द, भीमदत्त–१० सुकासालका सुरेश पाण्डेय र सोही ठाउँका मोहनबहादुर रोकाया छन् ।
दुई जना मेडिकल सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ । भीमदत्त –१६ वसन्तपुरका वीरेन्द्रराज पन्त र भीमदत्त–१३ साझा चौराहका रामबहादुर विष्ट फरार रहेका छन् । पन्तको मेडिकल पसलबाट ९४ प्रकारका औषधि र विष्टको मेडिकल पसलबाट एक सय २५ प्रकारका औषधि बरामद गरिएको थियो ।
यसअघि प्रहरीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका क्षेत्रबाट ११ मेडिकल सञ्चालकलाई समातेको थियो । उनीहरुलाई औषधि सम्बन्धी कसुरमा जिल्ला अदालत कन्चनपुरबाट धरौटीमा रिहा भएको प्रहरी उपरीक्षक थापाले बताए ।
प्रहरीको खानतलासका क्रममा विना इजाजतका औषधि बिक्री वितरण गर्दै आएको, नाम बिनाको मेडिकल सञ्चालन गरेको, पसलमा कुनै बोर्ड नरहेको, इजाजत पत्र नराखेको र बिना सिफारिस बिक्री वितरण गर्न नपाइने जोखिमपूर्ण औषधि बिक्रीका लागि तयारी अवस्थामा राखेको पाइएको छ ।
मुुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ अनुसार कानुनबमोजिम औषधि बिक्री वितरण गर्न पाउने व्यक्तिले उपचार गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिस बिना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागुऔषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न पाइँदैन ।
काठमाडौंः लिता निवासको जग्गा हिनामिना भएको घटनामा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आरोपीलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरेकोमा अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
उक्त घटनामा प्रहरीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसरकारी कर्मचारीसहित १७ जनालाई पक्राउ गरेको छ । उनीहरु विरुद्ध मुलुकी ऐन, २०२० को किर्तेसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
वि.सं. २०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारस्थित ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो । यसअघि सिआइबीले अनुसन्धान सकेर तीन सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन फिर्ता गरेको थियो ।
त्यसपछि अहिले पुनः सिआइबीले अनुसन्धान थालेको हो । आरोपीमध्ये १७ जनाले थुनाबाहिर राखेर अनुसन्धान गर्नुपर्ने गरी सर्वोच्चबाट अन्तरिम आदेश ल्याएपछि सिआइबीले त्यसको खारेजीको मागसहित भ्याकेट निवेदन दिएको छ । केही आरोपीहरुले भने बन्दीप्रत्यक्षीकरणको रिट दिएका छन् ।
काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेको सुन तथा डाईमन्डसहित एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा नेपाली मूलकी अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्वकर्मा रहेकी छिन् ।
प्रहरीले उनको साथबाट शनिबार ७ सय ७० ग्राम सुन र डाईमन्ड सि+ ५४ ग्राम ७५ मिलिग्राम बरामद गरेको हो । मलेसियन एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा झोलाभित्र अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा उक्त सुन तथा डाईमन्ड फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
धादिङः धादिङको गजुरी गाउँपालिका–८ चालिसेबाट अवैध लागूऔषध १० केजी गाँजा बरमद गरिएको छ । गाँजासहित सोही गाउँपालिका–२ बस्ने २९ वर्षीय रविन दोङ तामाङ पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित शुक्रबार बिहान पक्राउ गरेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies